भुलक्कड बटुवा (कविता)
अहिले घाम
आमाको छातीमा नाचिरहेको छ
उहिले आमा भन्नुहुन्थ्यो
सिस्नोका झ्याङहरूमा
फुल्दछ मान्छेको जीवन
मलाई
आदर्श सिकाउने मेरी आमा
ठिक यतिखेर आश्रममा ख्याङ ख्याङ
खोकिरहेकी छिन् ।
म
कोलम्बसको पैतालामा उभिएर
घटाइरहेछु सगरमाथाको उचाइ
र भाँचिरहेछु आफ्नै हातखुट्टा
किनकि
म आधुनिक दास हुँ !
वर्तमानको लगामले मलाई नै थिचेको छ
म हरेक दिन जीवन बेचेर
निर्लज्ज मृत्युको गीत गाइरहेको हुन्छु
...































