- रबिन कटेल/संगालोखबर

विराटनगर । विराटनगरस्थित बबरसिंह–देवकुमारी थापा सेवा गुठीले शनिवार दुई चर्चित श्रष्टालाई सम्मान गरेको छ । सम्मान समारोह आयोजना गरी भारतको दार्जिलिङकी कवि तथा आख्यानकार विन्दया सुब्बालाई देवकुमारी थापा स्मृति सम्मान र विराटनगरका कवि तथा गीतकार सुमन पोखरेललाई बबरसिंह थापा स्मृति सम्मानबाट नगदसहित सम्मानित गरिएको हो ।

Advertisement

कार्यक्रममा प्रजातन्त्र सेनानी तथा समाजसेवी तोरेन्द्रमान सिंह प्रधान, गुठिका अध्यक्ष कविराज न्यौपाने लगायतले श्रष्टा द्वय सुब्बा र पोखरेललाई दोसल्ला र अविर लगाई सम्मानपत्र पत्र प्रदान गरे । सम्मानसहित सुब्बालाई नगद ५१ हजार र पोखरेललाई २५ हजार प्रदान गरिएको छ ।

दार्जिलिङ घर भएकी सुब्बा विगत ५५ बर्षअघिदेखि साहित्य क्षेत्रमा क्रियाशिल छन् । साहित्यका बिभिन्न विधामा उनका २० वटा कृति प्रकाशित छन् । नेपाल बाहिर रहेर नेपाली भाषा र साहित्यका क्षेत्रमा योगदान गर्दै साहित्यका प्राय सबै विधामा कलम चलाएर विशेषतः आख्यानका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै उनलाई सम्मान गरिएको हो ।

यता कविता, गीत तथा अनुवाद विद्यामा विश्वव्यापी रुपमा योगदान पुर्याएको भन्दै पोखरेललाई सम्मान गरिएको हो । उनी नेपाली साहित्यलाई विश्वव्यापी रुपमा फैलाउँन सफल मानिन्छन् । उनका रचनाहरु विभिन्न मुलुकमा अनुवाद गरेर प्रकाशन गरिएका छन् । कतिपय मुलुकको विश्वविद्यालयमा उनका साहित्यिक रचना पढाईसमेत हुने गरेको छन् । सार्क साहित्य पुरस्कारबाट दुई पटक पुरस्कृत भइसकेका पोखरेल कलात्मक लेखनशैली र सन्तुलित शब्द कुद्न माहिर मानिन्छन् ।

भारतीय सेनाबाट अवकासप्राप्त बबरसिंहको निधनपछि ०६१ सालमा देवकुमारीले श्रीमानको स्मृतिमा बबरसिंह थापा सेवा गुठी स्थापना गरेकी थिइन् । बिभिन्न क्षेत्रमा योगदान पुर्याउँनेहरुलाई सो गुठीबाट सम्मान गरिदै आएको थियो । ०६७ सालमा देवकुमारीको निधनपछि बबरसिंह–देवकुमारी थापा सेवा गुठीमा परिमार्जन गरी फरक–फरक विधामा योगदान पुर्याउँनेहरुलाई देवकुमारी थापा स्मृति सम्मान र बबरसिंह थापा स्मृति सम्मानबाट हरेक बर्ष सम्मानित गरिदै आएको छ । साहित्यसहित बिभिन्न क्षेत्रमा योगदान पुर्याउँने दुई दर्जन भन्दा बढी व्यक्तिलाई सम्मान गरिएको गुठिका अध्यक्ष न्यौपानेले जानकारी दिए ।

यसैबीच, डा.दिपेन तामाङले लेखेको पुस्तक ‘देवकुमारी थापाका कथामा वालजीवन’ पुस्तक पनि कार्यक्रममा बिमोचन गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!