- संगालोखबर सम्वाददाता

धनकुटा । विश्व नेपाली साहित्य प्रतिष्ठान नेपाल प्रदेश १ को भेला सम्पन्न भएको छ । भर्चुअल माध्यमबाट शुक्रबार राति सम्पन्न भेलाले मोरङको बेलबारीका स्रष्टा निरु गौतमको अध्यक्षतामा ११ सदस्यीय प्रदेश समिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा मोरङकी राधिका गुरागाँई र इलामकी लता पौडेल चयन भएका छन् । भर्चुअल भेलाले धनकुटाका पत्रकार एवं सहित्यकार रमेशचन्द्र अधिकारीलाई महासचिवमा चयन गरेको छ । यस्तै, सचिवमा सुनसरीका सुरेश काफ्ले विदारक र कोषाध्यक्षमा भोजपुरका कविता राई चयन भएकी छन् ।

सदस्यहरुमा पाँचथरकी चन्द्रकला अधिकारी, उदयपुरका माधव पोखरेल, झापाका जय प्रसाद आचार्य र संखुवासभाका तारा बहादुर बुढाथोकी चयन भएका छन् । प्रतिष्ठानले हालसम्म नेपालसहित ९ देशमा संगठन विस्तार गरिएको जनाएको छ ।

विश्वभर रहेका नेपाली स्रष्टालाई जोड्न प्रतिष्ठान: अध्यक्ष अधिकारी

कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष जनार्दन अधिकारी धड्कनले विश्वभरी रहेका नेपाली भाषा साहित्यमा लागेका स्रष्टा एवम् पाठकलाई जोड्न प्रतिष्ठान गठन गरिएको बताए । नेपालबाट सुरु भएको यो अभियानले नेपाली भाषा साहित्यको समग्र विकासमा गैरनाफामूलक संस्थाको रुपमा काम गर्ने अध्यक्ष अधिकारीले बताए ।

प्रतिष्ठानका विदेश विभाग प्रमुख खगेन्द्र बस्यालले साहित्यबाट समाज परिवर्तनको काम हुनसक्ने कुरा आफ्नो विगतका अनुभवलाई जोडेर प्रष्ट पारे । गण्डकी प्रदेश अध्यक्ष लक्ष्मी प्रसाद मिश्रले नवगठित समितिलाई बधाई तथा शुभकामना दिए ।

कार्यक्रममा नवगठित समितिका उपाध्यक्ष द्वय गुरागाँई र पौडेल, महासचिव अधिकारी र सचिव काफ्लेले इमान्दारीपूर्वक जिम्मेवारी पुरा गर्ने प्रतिवद्धता जनाए । स्रष्टाहरुले रचना बाचन गरेर कार्यक्रमलाई रौनकता प्रदान गरेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!