संगालोखबर


विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मोरङको आयोजनामा विराटनगरमा ‘१५ औं प्याब्सन स्पोर्ट्स मिट-२०८२’ सुरु भएको छ ।  विद्यालयस्तरीय खेलकुद महोत्सवको प्याब्सनका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद अधिकारीले आज औपचारिक उद्‌घाटन गरे ।

उद्‌घाटन समारोहलाई सम्बोधन गर्दै अधिकारीले कक्षाकोठाको शिक्षाले मात्र विद्यार्थी पूर्ण नहुने भन्दै उनीहरूको अन्तरनिहित प्रतिभा उजागर गर्न स्पोर्ट्स मिटले ठूलो भूमिका खेल्ने बताए ।

Advertisement

कार्यक्रममा प्याब्सनका केन्द्रीय प्रमुख सल्लाहकार डी.के. ढुगांना, पूर्व केन्द्रीय अध्यक्ष तथा वरिष्ठ सल्लाहकार टीकाराम पुरीलगायतको उपस्थिति थियो ।

प्याब्सन मोरङका अध्यक्ष जगतबहादुर बस्नेतका अनुसार मंसिर २१ गतेसम्म चल्ने प्रतियोगितामा जिल्लाभरका २३५ विद्यालयका तीन हजारभन्दा बढी विद्यार्थी खेलाडीहरूले सहभागिता जनाएका छन् । खेल तालिकाको चापलाई मध्यनजर गर्दै फुटबल र क्रिकेटका प्रतिस्पर्धाहरू भने उद्‌घाटन अगावै सुरु गरिएको थियो ।

प्रतियोगिताअन्तर्गत फुटबल, क्रिकेट, भलिबल, बास्केटबल, टेबलटेनिस र एथलेटिक्स लगायतका विभिन्न विधाहरू समावेश गरिएका छन् । खेलहरू विराटनगरस्थित सहिद रंगशाला, जुटमिल खेल मैदान (रानी) र एभरेस्ट स्कुलको खेल मैदानमा सञ्चालन भइरहेका छन् ।

२०६३ सालदेखि निरन्तर आयोजना हुँदै आएको यो प्रतियोगिताले मोरङको शैक्षिक क्षेत्रमा खेलकुदको महत्व स्थापित गरेको छ । प्रतियोगिता सम्पन्न गर्न करिब २० लाख खर्च लाग्ने अनुमान गरिएको खेल संयोजक विष्णु डंगोलले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!