- बिक्रम ढुङ्गेल

कुरा आज भन्दा लगभग चार/पाँच बर्ष अगाडिको हो । रेशम आफ्नो जन्मथलो छोडेर पढाइको शिलशिलामा सदरमुकाम डेरा गरी बस्थे । सामान्य परिवारमा हुर्केका रेशम दुख–सुख गरी पढ्दै थिए, पढाई पनि राम्रै थियो । गाउँमा घर भएका कारण तथा आर्थिक रुपमा पनि कमजोर भएका कारण डेरामा चाहिने दाल चामल घरैबाट लैजान्थे किनकी पढ्न डेरा गरी बसेको मान्छेसँग पर्याप्त रुपमा पैसा पनि त हुँदैन थियो । बेला–बेला घर आउँथे घरमा केही कामहरु पनि सघाउँथे, अनि फेरि सदरमुकामतर्फ फर्किन्थे ।

यसरी नै उनका दिन, महिनाहरु बित्दै गए । यसै क्रममा रेशमको घर छेउमा एक जना नैना नामकी केटी तथा उनको परिवार बसाई सरी आए । जुन बेला रेशम सदरमुकाम नै बस्थे । छुट्टीमा घर आएको बेला नैना तथा उनको परिवारसँग बारम्बार भेट हुन थाल्यो ।

नयाँ छिमेकी भएको कारणले पनि नैना तथा उनको परिवार रेशम तथा उनको परिवारसँ बोलचाल तथा घुलमिल हुन थाले । दिनहरु राम्रैसँग बित्दै थिए । यतिकैमा रेशमको फाइनल परीक्षा पनि नजिकिँदै थियो । उनी परीक्षाको तयारीका लागि फेरि सदरमुकामतर्फ लागे । मेजर नेपाली बिषय लिएर उच्चशिक्षाको परीक्षा दिएका रेशम, परीक्षापछि फेरि गाउँ फर्किए । अबको गाउँको बसाई उनको लामो थियो । रिजल्टको पर्खाइमा उनी लामो समयसम्म घर बस्नुपर्ने थियो ।

नैना पनि रेशम घर आएको थाहा पाएपछि उसको घर आइहाल्थी । नजिकै घर, पानी पँधेरो एउटै, सँगै मेलापात, सँगै गोठालो । यसरी उनीहरुको भेट हिजोभन्दा आज, आजभन्दा भोली झन्–झन् बढ्दै गयो । कस्तो नाता हो सायद दुबैलाई थाहा थिएन । अलि– अलि माया जस्तो, अलि– अलि मित्रता जस्तो । हो यस्तै सम्बन्ध थियो उनीहरुको । एकदिन भेट नहुँदा पनि के नभए जस्तो,,,,के नपुगे जस्तो महसुस दुवैलाई हुन थाल्यो ।
१९/२० बर्षको जवान केटा अनि १५/१६ बर्षकी भर्खर जवानी भरिँदै गएकी केटी एकअर्कोसँग यति घुलमिल हुनु त्यति उचित त थिएन । तर एक अर्काको सामिप्यता झन् बढ्दै गयो । दुबैलाई माया भए जस्तो फिल हुन्थ्यो तर एक अर्कोले कुनै कुरामा भने मुख खोलेका थिएनन् । सायद माया मनमनै थियो की ?
फेरि एकदिन रेशम एक्लैले सोच्न थाले,
‘तर यो कसरी सम्भव हुन सक्छ ?
नैना त तल्लो जातकी केटी हो ।
अनि अनपढ पनि त छे दुनियाँ सारा समाजले के भन्ला ?’ ‘हुन्नु–हुन्न म नैनाको धेरै नजिक हुनुहुन्न तर फेरि नैना किन मेरो नजिक पर्न चाहान्छे ? मलाई किन माया र प्रेमको अनुभुति दिलाउछे ?’ रेशम आफ्नै मनमा एकपछि अर्को प्रश्नहरुको वाण हान्न थाले ।

रेशमको मनभित्र एकातिर नैनाको निश्चल माया थियो भने, अर्को तिर समाजको डर थियो । न त उनी मुख खोलेर नैनालाई माया गर्छु भन्न नै सक्थे । न त नैनादेखि टाढा जान नै सक्थे, अन्योलमा थिए उनी ।

फेरि नैना पनि त रेशमको नजिक पर्दा खुशी हुन्थी,
आखिर के का लागि अनि के कारणले रेशमलाई आफ्नै जस्तो व्यवहार गर्थी त ऊ ?
रेशमसँगै मेलापात जान,
रेशमसँगै घाँस दाउरामा जान,
अनि रेशमसँगै पानी पँधेरा जान भनेपछि हुरुक्कै हुन्थी ऊ, आखिर रेशमबाट के चाहन्थि त ऊ ? अनेकौँ बहानामा रेशमको नजिक पर्नु, टिभी, फ्लिम हेर्ने बहानामा रेशमको घर धाइरहनु, कयौँ दिन त रेशम कै घरमा खाना खान्थी, रेशम कै घरमा बस्थी, अनि के यो रेशमप्रतिको प्रेम थियो या त उस्को बालापन थियो ?

यस्तै कुराहरुले रेशमको मनलाई काबुमा राख्न सकेन । नैनाको आफ्नोपन देखेर खोक्रो आडम्बर र जातीय विभेदको अपहेलना गर्दै रेशमलाई पनि उसँगै जीवन कटाउने रहर जाग्न थाल्यो । फेरि कोही पराया केटी मान्छेले आफूलाई यस्तो आफ्नोपन मित्रताको व्यवहार देखाउँदा उप्रति साँचो माया र प्रेमको अनुभुति हुनु स्वाभाविक नै पनि त हो । आखिर जीवन खुशी अनि सुखी बनाउँनलाई त धन सम्पत्ति हिरा मोती अनि जातपात भन्दा ठूलो त दुई जनाबीचको माया, प्रेम र सद्भाव नै हो नि हैन र ?

रेशमको दिमागमा एकपछि अर्को गर्दै यस्तै कुराहरु खेल्न थाले । ‘यदि नैनाले पनि मलाई अन्तरमनदेखि चाहन्छे अनि मलाई साँच्चै प्रेम गर्छे भने, उसको मनको कुरा अनि उसको निस्वार्थ प्रेमलाई किन मैले प्रतिकार गर्ने ? ऊ यति नजिक भएर पनि सायद उसमा भन्ने सामथ्र्य नभएको पो हो की ? नभए किन मेरो नजिक पर्दा खुशीको महसुस गर्छे ऊ ? कयौँ रात किन मेरै घरमा बास बस्न चाहान्छे ? यदि यो माया थिएन भन, प्रेम थिएन भने अरु के नै हुन सक्छ र ? यो पक्कै पनि फरक किसिमको माया नै हुनुपर्छ ।’

क्रमश…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!