![](https://sangalokhabar.com/wp-content/uploads/2022/04/Lok-Bandhu-Thapa.jpg)
क्यालेन्डर फेरिने छ
साल फेरिनेछ
महिना र दिन, रात अनि गते उही छन् ।
आमाका गालामा चाउरिएका पत्र थपिनेछन्
स्नेह, वात्सल्य र अटुट आशा उही छन्
फाटेका कुर्कुच्चाका चिरा थपिनेछन् बाबुका
पाइला, गन्तव्य र विश्वास उही छन्
सुकोमलता उही छ
सुवास उही छ
गुलाब उही छ
मखमली उही छ
गुराँस उही छ
भोगाइ थपिनेछन्, सोचाइ बदलिने छन्
फूल फक्रिने छन् अतृप्त सपनाका
नयाँ वर्ष आउने छ
सपना देखाउने छ
उडाउने छ सुदुर क्षितिजमा ।
लालिमा उही छ
गौरव उही छ
सत्य उही छ
जीजीविषा उही छ
मृगतृष्णा भई बढ्नेछ अभिलाषा जीवनको
आखिर त्यो दिन आउने छ
नयाँ वर्ष आउने छ ।