संगालोखबर सम्वाददाता

धनकुटा । कवि जुनु घिमिरेको कविता कृति पसिनाको घर धनकुटामा लोकार्पण गरिएको छ । सल्लेरी साहित्य संगमको आयोजना र ज्येष्ठ नागरिक संघ धनकुटा नगरपालिका ७ समितिको संयोजनमा कृति लोकार्पण कार्यक्रम गरिएको हो ।

Advertisement

अग्रज साहित्यकार टिकाप्रसाद लामिछाने, साहित्यकार डा. यज्ञप्रसाद गुरागाईँ, शिक्षाविद् दामोदर दाहाल, सल्लेरी साहित्य संगमका अध्यक्ष रमेशचन्द्र अधिकारी, गर्गाचार्य विश्वभाषा पुस्तकालयका अध्यक्ष घनश्याम बराल, ज्येष्ठ नागरिक संघ धनकुटा ७ का अध्यक्ष बुद्धिकान्त घिमिरे, ज्येष्ठ नागरिक टिकाप्रसाद घिमिरे, कवि घिमिरेकी आमा विमला लगायतले संयुक्त रुपमा कृति लोकार्पण गरे ।

धनकुटा ६ आत्मारा माइती र कर्मथलो भक्तपुरको दुवाकोटमा रहेकी घिमिरेले आफ्नो पहिलो कृति सार्वजनिक गरेकी हुन् । प्रकृति, संस्कृति, मानवीय जीवन र रहस्य, कर्तव्यप्रतिको सचेतता, राष्ट्रप्रेम, व्यङ्ग्य, नारी अस्तित्व, युगानुकूल मानवीय चेतना र व्यवहार लगायत पक्षका कविता उनले सङ्ग्रहित गरेकी छन् ।

कार्यक्रममा कृतिकारको व्यक्तित्व र कृतिबारे डा. यज्ञप्रसाद गुरागाँईले जानकारी गराए । घनश्याम बराल, रमेशचन्द्र अधिकारी, मुकुन्द प्रयास, देवकला कार्की, निर्मला कुँवर लगायतले संग्रह भित्रका कविता वाचन गरे । यस्तै, मकालु साहित्य समाज संखुवासभाका अध्यक्ष ताराबहादुर बुढाथोकी र प्रगतिशील लेखक संघका प्रदेश उपाध्यक्ष राजेन्द्र सर्वहाराले पनि कविता र असारे भाकाका गीत प्रस्तुत गरेका छन् ।

पहिलो कृतिले आफूलाई साहित्य सृजनाको भोक जगाएको कृतिकार घिमिरेले बताइन् । विद्यालय पढ्दादेखि थालनी गरेको कविता लेखनले निरन्तरता पाएको उनले सुनाइन् । पुस्तकको आवरण चित्र कलाकार उमेशचन्द्र अधिकारीले बनाएका छन् भने, जुपिटर प्रिन्टिङ एण्ड पब्लिसिङ हाउसले कृति प्रकाशन गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!