
विराटनगर । विराटनगर महानगरपालिका-६ स्थित ब्रह्मपुराका स्थानीयले अब आनन्दको श्वास फेर्न पाउने भएका छन् । अव्यवस्थित ‘डम्पिङ साइट’ का कारण झण्डै दुई दशक देखि फोहोरको दुर्गन्धमा निसास्सिन बाध्य ब्रह्मपुराबासीलाई अब भने राहत मिल्ने भएको छ ।
विराटनगर महानगरपालिकाले आगामी पुस १ गतेबाट ‘डम्पिङ साइट’ स्थानान्तरणको तयारी थालेको छ । अव्यवस्थित डम्पिङ साइटका कारण स्थानीयको जनस्वास्थ्यसँगै दैनिकीमा पनि नराम्ररी प्रभाव पारिरहेको छ ।
डम्पिङ साइटको बाटो भएर आवत-जावत गर्न समेत मुस्किल हुनेगरेको छ । लामो समयदेखि समस्या भोग्दै आएका स्थानीय डरधम्कीका कारण खुलेर बोल्न सकेका थिएनन् । डम्पिङ साइटमा बेलाबेलामा जलाइने प्लाष्टिकजन्य फोहोरका कारण थप समस्या हुनेगरेको स्थानीय बताउँछन् ।
डम्पिङ साइट नजिकै खेतीपाती गर्ने कृषकहरूलाई पनि समस्या हुनेगरेको छ । यत्तिमात्र नभएर केशलिया खोलाको पानी पनि प्रदुषित भएको छ । अव्यवस्थित डम्पिङ साइटबाट बाह्रैमास फैलने दुर्गन्धले बस्न समस्या हुनेगरेको स्थानीय रेनु तामाङले बताइन् ।
‘डम्पिङ साइट व्यवस्थित नहुँदा मानिसको स्वास्थ्यमा मात्र नभएर पशुपंछीको स्वास्थ्यमा पनि गम्भिर असर परेको छ’, उनले भनिन्, ‘झिँगा र लामखुट्टेको आतङ्कले थप समस्या थपिएको छ ।’
दैनिक डम्पिङ साइटको बाटो भएर ओहोर-दोहोर गर्ने गोविन्द ऋषिदेवले दुर्गन्ध र धुलोका कारण समस्या हुनेगरेको बताए । ‘यही बाटो भएर ओहोर-दोहोर गर्दा त यति धेरै असहज हुन्छ’, उनले भने, ‘यहाँका बासिन्दाको अवस्था झन के होला ?’ डम्पिङ साइट स्थानान्तरण भएको खण्डमा स्थानीयसँगै सोही बाटो भएर ओहोर-दोहोर गर्ने र कृषकहरूलाई राहत मिल्ने उनको भनाइ छ ।
महानगरपालिकाका सरसफाइ शाखा प्रमुख पुनम दाहालले पुस १ गतेबाट डम्पिङ साइट स्थानान्तरण गर्ने तयारी थालिएको जानकारी दिए । उनका अनुसार विराटनगर-१६ स्थित महानगरको स्वामित्वमा रहेको जमिनमा फोहोर व्यवस्थापनको तयारी थालिएको हो ।
फोहोर व्यवस्थापनका लागि १० बिगाहा बढी क्षेत्रफलमा ‘ट्रिटमेन्ट प्लान्ट’ निर्माण गरिने उनले बताए । हाल एडीबीको योजना सञ्चालन नहुँदा अस्थाई रूपमा सोही जग्गामा फोहोर व्यवस्थापन गरिने दाहालले जानकारी दिए । सन् २०२६ मा ट्रिटमेन्ट प्लान्ट बनाउन एडीबीसँग सम्झौता गर्ने महानगरको तयारी छ ।

इन्दु साह/संगालोखबर 













