- दिवेश खड्का

मैले झल्यासैं बुबाले दिएको जन्तर सम्झें । अन्तिम सास लिदा उहाँले मलाई भन्नु भएको कुरा झल्झली याद आयो । “यो जन्तर जतन गरेर राख्नु । तैले बिहे गरेर जब तेरो छोरा/छोरी हुन्छ तब मात्र यो जन्तर भित्र मैले केही महत्वपूर्ण कुरा राखेको छु, खोलेर हेर्नु ।” बुबा रहुन्जेल र मैले बिहे नगरुन्जेल मलाई जन्तरपटी कहिल्यै ध्यान गएन । बुबाको वचन काट्दिन भनेर मैले जन्तर सुरक्षित रुपमा सन्दुकभित्र हालेर राखेको थिए ।

हत्त न पत्त पुरानो सन्दुक खोज्न थाले । मैले जन्तर त्यहाँ राखेको कुरा आज एक्कासी याद आयो । हुनतः मेरो ठूलो छोरा नि ४ वर्षको भै सक्यो । छोरी २ की भई । आज बुबाको एक्कासी याद आयो । मेरा आँखा रसाए । “जिन्दगी भनेको संघर्ष हो । जस्तो सुकै कठिनाईमा पनि हार नखानु । इमान र इज्जत कहिले दाउमा नराख्नु । गरिव दुःखीको सेवामा सधैं तयार हुनु । आश्रय नभएकाहरुको आश्रय बन्नु ।” बुबाले दिने यी वचन माथाभरी रन्थनिन थाले ।”
“ए साने ! …………साने ! तेरी आमालाई झट्ट माथि टाढामा पठात ।”– “के सारो घोक्रो फुट्ने गरी कराको सानेको बा ? के भयो ?” बुढी आश्रय मिश्रीत आवाजमा सोध्न थाली । “हैन त्यो पुरानो सन्दुक हाम्रो कहाँ गयो ?” मैले प्रश्न गरे । “सन्दुक ? कुन सन्दुक ? किन ? ”– बुढीले प्रतिप्रश्न गरी ।
“त्यहाँ बुबाले मलाई दिनु भएको जन्तर राखेको थिए । त्यही खोज्न ।”
– “माथि टाढामै होला नि !”
“जा….. जा हेर ! कहाँ छ ?”
माकुराको जालो लागेको धुलै–धुलो भएको सन्दुक लिएर बुढी अगाडी आएर ढ्याप्प सन्दुक अगाडि राखि र भन्न थाली– “लु यहि हैन ! के छ र यहाँ त्यस्तो ?”
सन्दुक भेटेपछी पुछपाछ गरेर मैले खोलेर हेरे । त्यहाँभित्र धुल–ैधुलो लागेको जन्तर देखियो । जन्तर भेटेपछि कौतुहलताको सीमा रहेन । त्यस जन्तरमा के छ त्यस्तो ? भन्ने कुराले खुलदुली बढी रह्यो ।
– “हैन यो जन्तरमा के छ त्यस्तो ?”– जन्तर नजिकबाट हेदै बुढीले आश्चर्य भावमा सोधि ?
“यो जन्तरमा मेरो बुबाको म प्रतिको विश्वास छ । अथाह स्नेह छ ! माया छ ।”
–“हजुरलाई बुबाले आमा जस्तो गरी हुर्काउनु भएको रे हो ?” उसले प्रश्न गरी ।
“बुबाले भने अनुसार आमा सानैमा बित्नु भएको रे ! आमा बितेपछि सबै स्याहार सुसार गर्दै हुर्काउनु भएको रे मलाई । मलाई केही कुराको अभाव हुन दिनुभएन …………. ।” मैले सविस्तार लाए ।
वास्तवमै बुबाले मलाई अति माया गर्नु हुन्थ्यो । जीवनको अन्तिम सास लिदा पनि उहाँको हातले मेरो हात समाउनु भएको थियो । मैले आफूलाई थाम्न सकिन ।

म भकानिएको देखेर बुढी पछाडि फर्कि सायद उसको आँखा पनि टिलपिल थियो ।
मेरो ध्यान मोड्न केही क्षणपछि उनले भनिन, “के रहेछ जन्तरमा ? हेर्नुन त !”
जन्तर भित्रबाट एउटा कागज पोको पारिएको थियो । कागजमा सानो अक्षरमा लेखिएको थियो । “छोरा ! हाम्रो पुर्खौली घर भएको ठाउँ मुुन्तिर पिपलको रुखको फेदीमा ठूलो चप्लेटी ढुङ्गा छ । त्यो ढुङ्गा पल्टाएर एक÷दुई बिता खन्नु । एउटा बाकस भेटिन्छ । त्यो बाकसमा तिम्रो लागि महत्पूर्ण कुरा छ । त्यहाँ जादा यो जन्तर लाएर जानु !”
अहो हाम्रो पुरानो घर भएको गाउँ त यहाँ देखि धेरै टाढा छ । भोली विहानै जाने निधो गरियो । हामी एका विहानै त्यतातिर प्रस्थान गर्यौं । हामी बुबाको नामबाट सोधि खोजी गर्दै त्यहाँ पुगियो । पीपलको बोट देखेपछि मन औधी खुसी भयो ।
हामी त्यहाँ पुग्दा एक वृद्ध दम्पती कसैलाई कुरे जसरी त्यहाँ बसेका थिए । दुवै जनाको अनुहार चाउरिएको थियो । यद्यपी प्रफुल्लता झल्कन्थ्यो ।

हामीलाई देख्ने बितिकै वृद्ध आमा कुदेर मेरो नजिक आइन । चाउरिएको हातले मेरो हात समाएर भन्न थालिन्– “मेरो बाबु ! यतिका वर्ष तिमी कहाँ गएका थियौ ?” वृद्ध बुबा नि मेरो हात समाउन आउनु भयो । उहाँको हातबाट एक प्रकारको न्यानोपन आइरहेको थियो ।
म आश्चर्य चकित भए । सायद उहाँहरुलाई भ्रम परेको जस्तो लाग्यो ।
“तपाईहरु भ्रममा पर्नु भयो सायद ।”
– “कसरी भ्रममा पर्नु ?” जन्तर समाउदै भन्नु भयो, “यहि जन्तर मैले तिमीलाई सानोमा लगाइदिएको थिए । तिम्रो बुबाले यसैमा जानु भनेर पठाएको हैन ? हामी सधैं नै यही चौतारी आएर कु¥थ्र्यौ । बल्ल आज भेट भयो ।”
म स्तब्ध भए । बुबाले जन्तर लाएर जानु भन्नु भएको थियो । उनीहरु पनि त्यही कुरा गर्छन । मलाई त्यो चप्लेटी ढुङ्गा हटाएर त्यहाँ के रहेछ हेर्न तीव्र इच्छा जाग्यो ।
चप्लेटी ढुङ्गा हटाएर दुई बित्ता खन्दा एउटा सानो काठको बाकस भेटियो । बाकसलाई कपडाले बेरेर बडो जतन ले राखिएको थियो । बाकस खोलेर हेर्दा एउटा लामो चिठी देखियो ।
म चिठी पढ्न थाले ।

प्रिय छोरा !
मेरो आशिष सधा तिमीलाई !
आज म तिमीलाई एउटा सत्य खोल्दैछु । मृत्यु पश्चात केही तिम्रो जीवनमा नखुलेको व्यक्तिगत सवाल आज तिमीमा राख्दैछु । कति पनि विचलित नबन । बरु तिमी खुसी बन यसर्थ की तिमीले तिम्रो बुबा आमा भेटाएका छौं ।

मेरी श्रीमतीलाई असह्य प्रसव पीडा थियो । मेरी श्रीमतीले बच्चा जन्माइन् तर केही क्षणमा उनले प्राण त्यागिन् । उनको दाहसंस्कार गरेर फर्केको हप्ता दिनपछि त्यो अबोध शिशुले पनि संसार छाड्यो । म विचलित भए । रुन कराउन थाले । छिमेकबाट पहिले तिम्रो बुबा–आमा आउनु भयो । मेरो हालत उहाँहरुलाई सह्य भएन । तिम्रो भगवान जस्तो बुबा–आमाले मेरो हातमा तिमीलाई राखिदिनु भयो । हाम्रो भर्खर जूम्ल्याहा छोरो भएको छ । हामी दुवैलाई हुर्काउन स्याहार सुसार गर्न सक्दैनौ । यो एउटा लालन पालन गरेर हुर्काउनुुु आफ्नै छोरा जसरी पाल्नुभनेर त्यो मृत शिशु बोकेर जानु भयो । सारा गाउँलेलाई त्यो जूम्ल्याहा मध्ये एउटाको मृत्यु भयो भन्ने खबर भयो । म केही बोल्न सकिन । मैले तिमीलाई लिएर त्यो ठाउँ छाडेर हिडे । मैले तिमीलाई आमाको कमी रहन दिइन । तिम्रो परवरिसमा मैले अलिकति पनि कमी हुन दिइन । तर, मलाई जब रोगले च्याप्दै जान थाल्यो र यो सच्चाईले पोल्न थाल्यो । म गाउँ आए । तिम्रा बुबा–आमालाई छोरा आउने कुरा बताए । म रहुन्जेल यो कुराले गर्दा तिमीलाई असह्य पीडा हुन्थ्यो भनेर मैले कहिले बताइन ।

मेरा आँखा बाट बर्बर सागर सरी आँशु खस्न थाल्यो । मैले सम्हालिन सकिन ।
म थुचुक्कै बसे । श्रीमतीले आड भरोसा दिइन । पुनः चिठीतर्फ मेरो आँखा कुद्न थाले ।

म वर्षेनी तिमीलाई नलगि गाउँ किन जान्थे भने तिम्रा बुबा–आमालाई भेटेर म तिम्रोबारे बताउथे । उहाँहरु तिम्रो प्रगतिमा असाध्य खुसी हुनुहुन्थ्यो । मैले उहाँहरुलाई एक दिन आउने विश्वास दिलाएको थिए । सायद आज तिमीले आफ्नो जन्मदाता भेटेउ होला । जीवनको यो बेलासम्म सत्य लुकाएकोमा माफी चाहन्छु । तिमीलाई सत्य नभन्नु म प्रतिको तिम्रो अगाध प्रेममा कमी नआओस भन्नको खातिर मात्र थियो । तिम्रो जीवन सुखद रहोस । उहाँहरुको आशिवार्द रहिरहोस् ।                                                            तिम्रो बुबा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!