Category: बागमती

  • रामेछापमा गाडी दुर्घटना, पाँच जनाको मृत्यु

    रामेछापमा गाडी दुर्घटना, पाँच जनाको मृत्यु


    विराटनगर । रामेछापमा सुमो गाडी दुर्घटना भएको छ । दुर्घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । रामेछाप प्रहरीका अनुसार अन्य तीन जना गम्भीर घाइते भएका छन् ।

    दुर्घटनामा गोकुलगंगा गाउँपालिका-४ का वडाध्यक्ष रामचन्द्र बस्नेतको मृत्यु भएको खुलेको छ । काठमाडौंबाट रामेछापतर्फ जाँदै गरेको ना १ ज ७१२३ नम्बरको सुमो केहीबेर अगाडि सिमखोला भन्ने स्थानमा दुर्घटना भएको हो । घटनाको थप विवरण आउन बाँकी छ ।

  • काठमाडौं विश्वकै प्रदूषित सहरको सातौँ स्थानमा 

    काठमाडौं विश्वकै प्रदूषित सहरको सातौँ स्थानमा 

    फाइल तस्बिर

    काठमाडौं । काठमाडौं विश्वकै प्रदूषित सहरहरूको सातौँ  स्थानमा परेको छ । काठमाडौँ विश्वको प्रदूषित सहरको सातौँ स्थानमा देखिएको छ । युरोपेली प्रदूषण मापन संस्था वर्ल्ड एयर क्वालिटी इन्डेक्स (आईक्यूएयर)ले काठमाडौंलाई सातौँ स्थानमा देखाएको हो ।

    आज दिउँसो १२ः१९ का काठमाडौं विश्वको प्रदूषित सहर सूचकाङ्कको सातौँ स्थानमा देखिएको हो । आईक्यूएयरका अनुसार आज सो समयमा काठमाडौंको वायु प्रदूषणको मात्रा १५५ आईक्यूआई छ ।

    सूचाङक अनुसार विश्वको पहिलो प्रदूषित सहर पाकिस्तानको लाहुर बनेको छ । सो समयमा लाहुरको वायु प्रदूषणको मात्रा ४७७ आईक्यूआई देखिएको छ ।

    यस्तै इजिप्टको कायरो, नर्थको म्यासेडोनिया स्कोप्ज, काजकिस्तानको अस्तान, पाकिस्तानको कराँची लगायत सहरमा वायु प्रदूषणको मात्रा बढी देखाएको छ ।

  • सिन्धुपाल्चोकको शिखरपुर केन्द्र भएर भूकम्प

    सिन्धुपाल्चोकको शिखरपुर केन्द्र भएर भूकम्प

    विराटनगर । सिन्धुपाल्चोक जिल्ला आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ६ बजेर ११ मिनेट जाँदा सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्र भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको हो ।

    भूकम्पको धक्का सिन्धुपाल्चोक, काभ्रेसँगै काठमाडौँ उपत्यकासम्म अनुभव गरिएको थियो । भूकम्पबाट कतै केही क्षति भए, नभएकोबारे बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

  • डेङ्गी सङ्क्रमणले चितवनमा एक जनाको मृत्यु

    डेङ्गी सङ्क्रमणले चितवनमा एक जनाको मृत्यु

    चितवन । डेङ्गी सङ्क्रमणका कारण चितवनमा १ जनाको मृत्यु भएको छ । चितवन जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख दिनेश रूपाखेतीका अनुसार भरतपुर महानगरपालिका–२ का १ जना पुरुषको भदौ १५ गते उपचारका क्रममा भरतपुरस्थित चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

    मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२ का ६३ वर्षीय पुरुष छन् । डेङ्गी सङ्क्रमणका कारण यो आर्थिक वर्षमा चितवनमा भएको यो पहिलो मृत्यु हो ।

    चितवनमा सङ्क्रमण फैलँदो छ । जनस्वास्थ्य कार्यालयका अनुसार साउनयता भदौ १६ सम्म चितवनमा ५५१ जनामा डेंगी संक्रमण भएको छ । सात पालिका रहेको चितवनमा सबैभन्दा बढी सङ्क्रमण पहाडी भूभाग रहेको इच्छाकामना गाउँपालिकामा छ । इच्छाकामनामा साउनयता २८३ मा डेङ्गी सङ्क्रमण भएको छ ।

    त्यसपछि भरतपुर महानगरपालिकामा १५८ जनामा सङ्क्रमण भएको स्वास्थ्य कार्यालयले जनाएको छ । भदौ र असोज महिनामा डेङ्गी फैलने जोखिम झनै रहेकाले सचेत रहन कार्यालयले अपिल गरेको छ ।

  • बोलेरो गाडी दुर्घटना हुँदा दुईजनाको मृत्यु

    बोलेरो गाडी दुर्घटना हुँदा दुईजनाको मृत्यु


    सिन्धुली । सिन्धुलीमा बोलेरो गाडी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । सातजना यात्री घाइते भएका छन् । सिन्धुली तीनकन्याबाट सदरमुकामतर्फ आउँदै गरेको बलेरो कमलामाई नगरपालिका–२ चियाबारीमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    बा २० च ८२८३ नम्बरको बोलेरो दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको हो । मृतकहरूको पहिचान खुल्न बाँकी छ । घाइतेहरूको उद्धार गरी उपचारका लागि सिन्धुली अस्पतालतर्फ लगिएको छ । दुर्घटनापछि बीपी राजमार्ग अवरुद्ध भएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

  • बन्चरो प्रहार गरी बुबाको हत्या, छोरा पक्राउ

    बन्चरो प्रहार गरी बुबाको हत्या, छोरा पक्राउ

    सिन्धुली । बन्चरो प्रहार गरी आफ्नै बुबाको हत्या गरेको अभियोगमा एकजना युवक पक्राउ परेका छन् । ६० वर्षीय लालबहादुर घिमिरे विकको हत्या गरेको अभियोगमा उनका छोरा २१ वर्षीय अमृत घिमिरे विक पक्राउ परेका हुन् ।

    प्रहरीका अनुसार सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–७ पन्थचौरी लामपातका लालबहादुरलाई सुतेको अवस्थामा गएराति छोरा अमृतले बन्चरो प्रहार गरेका थिए । उनको घटनास्थलमै मृत्यु भएको थियो ।

    घटनाबारे जानकारी पाएपछि पुगेको प्रहरी चौकी क्यानेश्वर र इलाका प्रहरी कार्यालय कपिलाकोटको टोलीले अमृतलाई हत्यामा प्रयोग भएको बन्चरो सहित पक्राउ गरेको हो ।

     

  • ‘लिभिङ टुगेदर’ बसेको केटाले बिहे गर्न नमानेपछि महिलाद्वारा पोलबाट हामफाल्ने प्रयास

    ‘लिभिङ टुगेदर’ बसेको केटाले बिहे गर्न नमानेपछि महिलाद्वारा पोलबाट हामफाल्ने प्रयास

    काठमाडौँ । ‘लिभिङ टुगेदर’ बसेको केटाले बिहे गर्न नमानेपछि काठमाडौंमा आज एक महिलाले पोलबाट हामफाल्ने प्रयास गरेकी छन् । जुम्ला घर भएकी सहारा शाहीले माइतीघर मण्डलास्थित राष्ट्रिय झण्डा राखेको पोलबाट हामफाल्ने प्रयास गरेकी हुन् ।

    हामफालेर आत्महत्या गर्ने प्रयास गरेकी शाहीलाई प्रहरीले तत्काल उद्धार गरेर बचाएको छ । हामफाल्नका लागि उनी पोलमा चढिसकेकी थिइन् । आफूसँग दुई वर्षदेखि लिभिङ टुगेदरमा बसेको केटाले बिहे गर्न नमानेको भन्दै उनले आत्महत्या प्रयास गरेको बताइएको छ ।

    यही विषयमा उनी एक महिना अघिदेखि धर्नासमेत बस्दै आएकी थिइन् ।

  • ओखलढुङ्गाका युवकको काठमाडौँमा हत्या

    ओखलढुङ्गाका युवकको काठमाडौँमा हत्या

    काठमाडौँ । ओखलढुङ्गाका एक युवकको काठमाडौँमा हत्या भएको छ । प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका–७ स्थित कालोपुलमा २० वर्षीय प्रेम महत दर्जीको हत्या भएको हो ।

    प्रहरीका अनुसार उनी ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका–९ माधवपुरका बासिन्दा हुन् । केही समयदेखि कालोपुलस्थित दयालक्ष्मी महर्जनको घरमा उनी डेरा लिएर बस्दै आएका थिए ।

    घटनामा संलग्न रहेको आशङ्कामा अनुसन्धानको लागि २४ वर्षीया उषा नेपाली र २७ वर्षीय मदन रम्तेललाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए ।

    युवकको हत्यामा संलग्न भएको आशङ्कामा दुईजनालाई पक्राउ गरिएको एसपी अधिकारीले जानकारी दिए । चोट लागेको र झुण्डिएको अवस्थामा भेटिएको दर्जीको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

  • गुडिरहेको माइक्रो बसमाथि रूख ढल्यो

    गुडिरहेको माइक्रो बसमाथि रूख ढल्यो

    तस्बिरः गोपाल भण्डारी

    धादिङ गुडिरहेको माइक्रो बसमाथि रुख खस्दा ७ जना यात्रु घाइते भएका छन् । धादिङबेंसीबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६५१२ नम्बरको विद्युतीय माइक्रो बस गजुरी–५ जरेखोला नजिक पहिरोमा परेको थियो । पहिरोसँगै रूख ढलेर माइक्रो बसमाथि बजारिएको प्रहरीले जनाएको छ ।

    घाइतेहरूलाई उपचारका लागि गजुरी अस्पताल लगिएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार माइक्रो बसमा सवार ७ जना यात्रु घाइते भएका छन् । उनीहरूको पहिचान खुल्न बाँकी छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

  • सौर्यको जहाज दुर्घटनाः १८ जनाको शव फेला

    सौर्यको जहाज दुर्घटनाः १८ जनाको शव फेला

    काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता हंशराज पाण्डेले जहाज दुर्घटनामा १८ जनाको शव भेटिएको जानकारी दिएका हुन् । तीमध्ये कति यात्रु र कति जहाजका कर्मचारी हुन् भन्ने खुलेको छैन।

    जहाजका पाइलट मनिष शाक्यलाई उपचारका लागि अस्पताल पठाइएको पाण्डेले बताएका छन् । दुर्घटनाको थप विवरण आउन बाँकी छ । आज बिहान काठमाडौंबाट पोखरा उड्ने क्रममा जहाज दुर्घटनामा परेको थियो । 

  • बागमतीका मुख्यमन्त्री जम्कट्टेलले दिए राजीनामा

    बागमतीका मुख्यमन्त्री जम्कट्टेलले दिए राजीनामा

    हेटौंडा । बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिएका छन् । आइतबार बसेकाे प्रदेश सभा बैठकलाई सम्बोधन गरेर उनले राजीनामा दिएका हुन् । यसअघि जम्कट्टेलले विश्वासकाे मत लिने प्रयाेजनका लागि प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए । माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलकाे बैठकले उनलाई राजीनामा सुझाव दिएकाे थियाे ।

    प्रदेश सभाबाट आफूले गरेका कामकाे रेकर्ड गराउन बैठक राख्न आग्रह गरेकाे र विश्वासकाे मत लिने प्रस्ताव दर्ता गरेकाे बताउँदै नयाँ सरकार बनाउन दुई दलकाे स्पष्ट बहुमत रहेकाले मार्ग प्रशस्त गर्न चाहेकाे उनले बताए । माओवादी केन्द्रले प्रदेश सभामा सशक्त र रचनात्मक प्रतिपक्षकाे भूमिका निर्वाह गर्ने उनले बताए ।

    २४ असारमा सता साझेदार दल नेकपा एमालेले समर्थन फिर्ता लिएसँगै जम्कट्टेल अल्पमतमा परेका थिए । २५ पुस २०७९ मा एमाले, राप्रपा, माओवादी केन्द्र र एकीकृत समाजवादीको सत्ता समीकरणबाट दोस्रो कार्यकालको पहिलो सरकारको नेतृत्व गरेका जम्कट्टेलले १८ महिनामा सरकारबाट बाहिरिएका छन् ।

  • त्रिशूलीमा बेपत्ता भएकामध्ये ११ जनाको शव भेटियो, खोजी जारी

    त्रिशूलीमा बेपत्ता भएकामध्ये ११ जनाको शव भेटियो, खोजी जारी

    चितवन । पहिरोका कारण बससहित त्रिशूली नदीमा बेपत्ता भएका यात्रुमध्ये आज बिहानसम्म ११ जनाको शव भेटिएको छ । चितवन, नवलपरासीको गैँडाकोट, त्रिवेणीको सुस्ता र गण्डक नहरमा ती शव भेटिएका हुन् ।

    गत शुक्रबार पहिरोसँगै दुईवटा बस त्रिशूलीमा खस्दा ६५ जना बेपत्ता भएको अनुमान गरिएको छ । तिनैमध्ये ११ जनाको शव फेला परेको हो । तीनजना भो पौडिएर बाँच्न सफल भएका थिए ।

    जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार फेला परेका केही शवको मात्र सनाखत भएको छ । सनाखत हुन नसकेका शवहरूमध्ये तीनवटा भरतपुर अस्पताल र तीनवटा परासी अस्पतालमा राखिएको छ । पहिचान भएपछि ती शव पोष्टमाटम गर्दै परिवारलाई बुझाइने जनाइएको छ ।

    दुर्घटनापछि अहिलेसम्म फेला परेका शवहरू मध्ये सनाखत भएकामा भारत बेतियाका सजात अन्सारी, रौतहटका प्रकाश ठाकुर, चितवन माडीका विकास परियार, सर्लाही वरथहवाका रमितकुशर माझी र भारत विहारका ऋषि पाल रहेका छन् ।

    दुर्घटनाग्रस्त बस भने अझै फेला पर्न सकेको छैन । आज चौथो दिन पनि नेपाल प्रहरी, सशस्त्र प्रहरीसहितको टोलीले खोजी कार्य जारी राखेका छन् । काठमाडौंबाट गौर जाँदै गरेको तथा वीरगन्जबाट काठमाडौंको बस भरतपुरको सिमलतालवाट त्रिशूलीमा खसेका थिए ।

  • बससहित बगेका ६५ जनामध्ये ५ को शव भेटियो

    बससहित बगेका ६५ जनामध्ये ५ को शव भेटियो

    विराटनगर । गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये पाँच जनाको शव फेला परेको छ । तीमध्ये तीनजनाको मात्र परिचय खुलेको छ ।

    चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार माडी नगरपालिका–१ का २२ वर्षीय विकास परियार, सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी र भारतको बिहार सीतामणि बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषिपल साहको शव भेटिएको हो । दुईजनाको परिचय खुल्न बाँकी छ ।

    काठमाडौँबाट गौरतर्फ गइरहेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँतर्फ गइरहेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका–२९ सिमलतालमा खसेको पहिरोसँगै बगेर त्रिशूली नदीको बाढीमा बेपत्ता भएका थिए । ती बस अझैसम्म फेला परेका छैनन् ।

    गौरतर्फ गइरहेको बसमा ३८ जना र काठमाडौँ गइरहेको बसमा सवार रहेका  २७ गरी ६५ जना बेपत्ता भएका थिए ।

  • बससहित नदीमा खसेर बेपत्ता भएकामध्ये एकजनाको शव भेटियो

    बससहित नदीमा खसेर बेपत्ता भएकामध्ये एकजनाको शव भेटियो

    विराटनगर । अविरल वर्षापछि खसेको पहिरोले बगाएको बससँगै त्रिशूली नदीमा बेपत्ता भएकामध्ये एकजनाको शव फेला परेको छ । चितवनको भरतपुर–२८ स्थित नारायण नदी किनारमा शव फेला परेको हो ।

    प्रहरीका अनुसार नदी किनारमा घोप्टो परेको अवस्थामा शव भेटिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शवको साथमा केही कागजात भेटिएको छ । ती कागजातको आधारमा उनी भारतीय नागरिक ऋषि पल साह रहेको खुलेको प्रहरीको भनाइ छ ।

    काठमाडौँबाट रौतहटको गौरतर्फ आउने क्रममा पहिरोमा परेर बेपत्ता भएको गणपति डिलक्समा २९ जना सवार यात्रु थिए । फेला परेको शव सोही बसका यात्रुको भएको जनाइएको छ । बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको बस त्रिशूलीमा खस्दा बसमा सवारमध्ये नन्दन दास, सुरजप्रसाद गुप्ता र जगेश्वर यादव बसबाट हाम फालेर नदीबाट बाहिर निस्किएका थिए ।

    चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा पहिरो खस्दा दुईवटा बस त्रिशूलीमा खसेका थिए । नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालबाट बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र गणपति डिलक्स नदीमा खसेका थिए ।

  • पहिरोसहित दुईवटा बस त्रिशूलीमा खसे, ६५ यात्रु रहेको अनुमान

    पहिरोसहित दुईवटा बस त्रिशूलीमा खसे, ६५ यात्रु रहेको अनुमान


    चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा पहिरोले बगाउँदा दुईवटा बस त्रिशूली नदीमा खसेका छन् । ती बसमा चालकसहित ६५ जना रहेको अनुमान गरिएको छ ।

    चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान करिब साढे ३ बजे काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल नामको बस पहिरोले बगाउँदा त्रिशूलीमा खसेका हुन् ।

    गौर जाँदै गरेको बसमा ४१ र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेको प्रारम्भिक अनुमान छ । पहिरो पन्छाउने र बससहित यात्रुको खोजी गर्ने काम भइरहेको प्रजिअ यादवले बताए ।

  • सिन्धुपाल्चोकको हेलम्बु केन्द्रविन्दु भएर भूकम्प

    सिन्धुपाल्चोकको हेलम्बु केन्द्रविन्दु भएर भूकम्प

    विराटनगर । सिन्धुपाल्चोकमा गएराति भूकम्प गएको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका केन्द्रविन्दु भएर राति साढे १ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार भूकम्प ४.२ म्याग्निच्युडको थियो ।

    राति कम्पन हुन थालेपछि स्थानीय बासिन्दा त्रसित भएका थिए । घरबाट बाहिर निस्किएर भेला भएका थिए । भूकम्पबाट कहाँ कति क्षति भयो भन्ने जानकारी आइसकेको छैन । यसबारे बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

    विभिन्न प्रकोपबाट प्रभावित हुँदै आएको सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची बजार २०७८ असार १ गते गेग्रानसहितको बाढी र पहिरोबाट तहसनहस भएका थिए ।

  • संसद् भवनमा प्रहरीद्वारा आफैंमाथि गोली प्रहार

    संसद् भवनमा प्रहरीद्वारा आफैंमाथि गोली प्रहार

    सांकेतिक तस्बीर

    काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित संसद् भवनमा आज बिहान एक प्रहरी जवानले आफैंमाथि गोली प्रहार गरेका छन् । संसद् भवनमा सुरक्षार्थ खटिएका प्रहरी जवान अजित गोलेले बिहान करिब ८ बजे आफैंमाथि गोली प्रहार गरेर आत्महत्या गरेको संसद् सचिवालयले जनाएको छ ।

    दोलखाको मेलुङ गाउँपालिका–४ घर भएका गोले प्रहरीको केन्द्रीय विशेष कार्यदल कपनमा दरबन्दी भई संघीय संसद् सुरक्षा बेसमा कार्यरत् थिए । आफूले बोकेको इन्सास राइफलले निधारमा गोली हानेर उनले आत्महत्या गरेको बताइएको छ ।

    गोली लागेर मृत्यु भएको अवस्थामा उनको शव शौचालयमा भेटिएको थियो । शवलाई पोस्टमार्टमका लागि सिभिल अस्पताल लगिएको छ ।

  • पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

    पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

    सिन्धुली । पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध बनेको छ । लोकमार्गअन्तर्गत खुर्काेट–घुर्मी सडकखण्ड बुधबार बिहानदेखि अवरुद्ध भएको हो । पहिरोले गोलञ्जोर गाउँपालिका–६ अक्करेभीर, गोलञ्जोर–१ कुडुलेका साथै फिक्कल गाउँपालिका–२ सुम्नामबेँसीलगायत क्षेत्रमा सडक अवरुद्ध भएको हो ।

    खुर्काेटबाट पूर्वतर्फको सडकखण्ड अवरुद्ध हुँदा दर्जनौँ सवारीसाधन तथा यात्री अलपत्र परेको प्रहरीले जनाएको छ । पहिरोले गोलञ्जोर–१ कुडुलेमा प्र २–०३–००१ ख ७१४४ नम्बरको टेलर पुरिएको छ ।

    सडक अवरुद्ध भएको स्थानमा स्थानीय तहका जनप्रतिनिधि प्रतिनिधि र सुरक्षाकर्मी पुगेको जनाइएको छ । अवरुद्ध सडक खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।

  • सुनकोशी नदीमा हामफालेका एक पुरुष बेपत्ता

    सुनकोशी नदीमा हामफालेका एक पुरुष बेपत्ता


    सिन्धुली । सुनकोशी नदीमा हामफालेका एकजना पुरुष बेपत्ता भएका छन् । सिन्धुलीको गोलोन्जर गाउँपालिका–७ सुर्काेट बजार र रामेछाप जोड्ने सुनकोशीको पुलबाट हाम फालेर ती व्यक्ति बेपत्ता भएका हुन् ।

    सिन्धुलीको खुर्कोटस्थित इलाका प्रहरी कार्यालयका अनुसार काठमाडौंको बौद्ध निवासी ५६ वर्षीय विष्णुप्रसाद संग्रौला शुक्रबार राति १० बजे पुलबाट हाम फालेका थिए ।

    घटनाबारे जानकारी पाएपछि पुगेको प्रहरी टोली र स्थानीय बासिन्दा मिलेर उनको खोजी भइरहेको जनाइएको छ । प्रहरीले उनका आफन्तलाई खबर गरेको जनाएको छ ।

  • मोटरसाइकल दुर्घटनामा दुईजना प्रहरीको मृत्यु

    मोटरसाइकल दुर्घटनामा दुईजना प्रहरीको मृत्यु


    सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका–५ झगरेबेँसीमा मोटरसाइकल दुर्घटना हुँदा गस्तीमा खटिएका दुईजना प्रहरीको मृत्यु भएको छ । नियमित गस्तीमा गइरहेका उनीहरु चढेको मोटरसाइकल आइतबार बेलुका दुर्घटना भएको थियो ।

    रत्नावतीस्थित प्रहरी चौकीबाट प्रदेश ३–०२–००१ ब ४७९ नम्बरको मोटरसाइकलमा गस्तीका लागि निस्किएका कमला नगरपालिका–९ घर भएका प्रहरी सहायक निरीक्षक रविन्द्रकुमार ठाकुर र भिमाद नगरपालिका–७ तनहुँ घर भएका प्रहरी सहायक हवल्दार सूर्यकुमार श्रेष्ठको मृत्यु भएको हो ।

    सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार सोल्पाडाँडाबाट गस्ती गर्दै पुनः प्रहरी चौकी रत्नावतीतर्फ फर्कने क्रममा उनीहरु चढेको मोटरसाइकल अनियन्त्रित भएर सडकबाट करिब ५० मिटर तल खसेको थियो ।

  • कतारका नेपाली श्रमिक र परिवारलाई केएमसीमा सहुलियत उपचार

    कतारका नेपाली श्रमिक र परिवारलाई केएमसीमा सहुलियत उपचार

    विराटनगर । संघीय सांसद डा. सुनिलकुमार शर्माले कतारमा कार्यरत नेपाली श्रमिक तथा उनीहरुका आश्रित परिवार सदस्यहरुका लागि काठमाडौं मेडिकल कलेज (केएमसी) मा विशेष सहुलियतमा उपचार गर्ने व्यवस्था मिलाएका छन् ।

    कतारस्थित नेपाली राजदूतावासमा सोमबार भएको कार्यक्रममा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, कतार र नेपाली जनसम्पर्क समिति कतारबीच सहुलियत उपचारको सम्झौता भएको हो । त्यस क्रममा कतारका लागि नेपाली राजदूत डा.नरेश विक्रम ढकालको पनि उपस्थिति थियो ।

    सम्झौताअनुसार अब कतारमा बसोबास गर्दै आएका सम्पूर्ण गैरआवासीय नेपालीहरु तथा वैदेशिक रोजगारको सिलसिलामा कतारमा कार्य गर्दै आएका नेपाली श्रमिकहरु उपचारका लागि केएमसी आउँदा अस्पताल सेवामा ५० प्रतिशत छुट हुने जनाइएको छ ।

    त्यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै सिनामंगलस्थित केएमसी उपचारका लागि आउने क्रममा केएमसीकै एम्बुलेन्स प्रयोग गरिए एम्बुलेन्स शुल्क पनि पाँच सयमात्र गरिएको सांसद शर्माले जानकारी दिए ।

    कतारमा रहेका करिब ३ लाख ६६ हजार नेपाली कामदारहरुको अवस्था, बस्दा रहँदा आइपर्ने रोगको उपचारमा हुने आर्थिक समस्या र परिवारको सदस्यहरुको उपचारलाई सहज बनाउन गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, कतार र नेपाली जनसम्पर्क समिति कतारसँग सहमति गर्ने निर्णय भएको उनले बताए ।

    सम्झौता पत्रमा उल्लेखित सुविधाहरु २०८१ असार मसान्तसम्म कायम रहने छ भने कतारमा कार्यरत नेपाली श्रमिकको आश्रित परिवार अर्थात् आमा, बुबा, श्रीमान–श्रीमती, अविवाहित छोराछोरीलाई समेत केएमसीले अस्पताल सेवामा १५ प्रतिशत छुट उपलव्ध गराउने भएको छ । यो सुविधा लिन परिचयपत्र र नाता प्रमाणित हुने कागजात लिएर आउनु पर्ने जनाइएको छ ।

    उपचार सेवासम्बन्धी सम्झौता पत्रमा केएमसीको तर्फबाट कार्यकारी अध्यक्ष सोइना शर्मा र सल्लाहकार इन्दिरा शर्मा (बराल) ले हस्पाक्षर गरेका थिए भने गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, कतारका तर्फबाट परिषद्का अध्यक्ष रमेश भट्ट र प्रथम उपाध्यक्ष कृष्ण पन्थीले हस्ताक्षर गरेका थिए ।

    त्यस्तै नेपाली जनसम्पर्क समिति कतारसँग भएको सम्झौतामा समितिका सभापति मो. अजिज अलि र महामन्त्री केदार भुषालले हस्ताक्षर गरेका थिए । डा. शर्माकै नेतृत्वमा केएमसी र नोवेल शिक्षण अस्पतालले पूर्वी नेपालदेखि पश्चिम नेपालको दुर्गम स्थानहरुमा विशेषज्ञ चिकित्सकहरुबाट निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ ।

    शिविरमा उपचारको क्रममा रिफर भएका बिरामीहरुको केएमसी र नोवेलमा निःशुल्क र सहुलियतमा उपचार हुने व्यवस्था गरिएको छ । यस्तै, विभिन्न संघ संस्थाहरुसँग सम्झौता भई ती संस्थाहरुमा आवद्ध बिरामीहरुको सहुलियतमा उपचार पनि हुँदै आएको जनाइएको छ ।

  • भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका इन्जिनियर मृत भेटिए

    भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका इन्जिनियर मृत भेटिए

    सांकेतिक तस्वीर

    विराटनगर । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदसम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले दोषी ठहर गरेका तत्कालीन सिनियर डिभिजनल इन्जिनियर नवीनकुमार पोखरेल मृत अवस्थामा भेटिएका छन् ।

    भक्तपुरको लोकन्थलीस्थित निवासमा उनले बिहिवार आत्महत्या गरेको प्रहरीले जनाएको छ । श्रीमतीलाई सम्बोधन गरेर उनले लेखेको ‘सुसाइड नोट’ फेला परेको छ । आफूले आत्महत्या गरेको कुरा उक्त नोटमा लेखिएको बताए पनि प्रहरीले विस्तृत जानकारी सार्वजनिक गरेको छैन ।

    सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा भ्रष्टाचार आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । पोखरेल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट सुरक्षण मुद्रण केन्द्रमा खटिएका थिए । अख्तियारले २०८० वैशाख ३ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विशेष अदालतले जेठ ८ गते फैसला सुनाएको हो ।

    निलम्बनमा परेका पोखरेल मुद्दा दायर गर्नुअघि वन तया वातावरण मन्त्रालयमा कार्यरत थिए । बोलपत्र ठेक्का सम्झौता तथा भुक्तानी प्रकरणमा सहभागी ९ जनामाथि अख्तियारले मुद्दा दायर गरेको थियो । विशेष अदालतले केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल लगायतमाथि कसुर प्रमाणित भएको आदेश दिएको थियो ।

  • सात प्रदेशमध्ये कोशी तेस्रो धनी

    सात प्रदेशमध्ये कोशी तेस्रो धनी

    विराटनगर । नेपालका सात प्रदेशमध्ये वाग्मती प्रदेश सबैभन्दा धनी रहेको राष्ट्रिय तथ्यांक कार्यालयको प्रतिवेदनले देखाएको छ । कोशी प्रदेश तेस्रो धनी रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

    तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गरेको प्रादेशिक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) प्रतिवेदनले सात प्रदेशमध्ये सबैभन्दा धेरै प्रतिव्यक्ति जीडीपी वाग्मती प्रदेशमा रहेको देखाएको छ ।

    उक्त प्रतिवेदनका अनुसार वाग्मती प्रदेशको प्रतिव्यक्ति जीडीपी २ हजार ४ सय ८५ अमेरिकी डलर छ । यस्तै, दोस्रो धनी प्रदेश गण्डकी हो । यो प्रदेशको प्रतिव्यक्ति जीडीपी १ हजार ५ सय ५७ डलर छ ।

    यसैगरी, कोशी प्रदेशको प्रतिव्यक्ति जीडीपी १ हजार ३ सय ३६ अमेरिकी डलर, लुम्बिनीको १ हजार १ सय ५९ डलर, सुदूरपश्चिमको १ हजार १ सय ११ डलर रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

    यसैगरी, कर्णालीको १ हजार ६६ डलर र मधेश प्रदेशको प्रतिव्यक्ति जीडीपी ८ सय ९२ डलर छ । जसअनुसार समग्र नेपालको प्रतिव्यक्ति जीडीपी १ हजार ४ सय ३४ अमेरिकी डलर रहेको जनाइएको छ ।

  • राइटपाथ करियर काउन्सिलिङको ‘ग्राण्ड एजुकेसन कनक्लेभ’ समापन

    राइटपाथ करियर काउन्सिलिङको ‘ग्राण्ड एजुकेसन कनक्लेभ’ समापन


    काठमाडौं । राइटपाथ करियर काउन्सिलिङको काठमाडौंको पुतलीसडकस्थित केन्द्रीय कार्यालयबाट सुरु भएको ‘ग्राण्ड एजुकेसन कनक्लेभ २०२४’ समापन गरिएको छ । ललितपुरको कुमारीपाटी शाखामा मंगलबार आयोजित कार्यक्रमसँगै समापन गरिएको हो ।

    बैशाख २९ गते काठमाडौंमा भएको कार्यक्रम बैशाख ३१ गते धनकुटा, जेठ ३ गते हेटौंडा, ४ गते चितवन, ५ गते बुटवल, ६ गते दाङमा आयोजना भएको थियो ।

    कन्क्लेभमा ७ हजारभन्दा बढी विद्यार्थीहरु सहभागी भएको आयोजकले जनाएको छ । कार्यक्रममा उच्च शिक्षा हासिल गर्न विद्यार्थीहरुले बुझ्न चाहेको सही सूचना उपलब्ध गराउन सफल भएको आयोजकको भनाइ छ ।

    कनक्लेभमा विभिन्न देशका २० भन्दा बढी युनिभर्सिटीका प्रतिनिधिहरु तथा टेस्ट पिपरेसन आइएल्स टेस्ट पीटीई साथै बैंक, इन्स्योरेन्सको समेत उपस्थिति थियो । कनक्लेभमा अमेरिका, अष्ट्रेलिया, बेलायत, क्यानाडा, कोरिया, डेनमार्क, युएई लगायत विभिन्न देशको बारेमा विद्यार्थीहरुले जानकारी पाएका थिए ।

    विभिन्न देशका विश्वविद्यालयको स्कलरसिपदेखि ६ हजार पर्ने आइएल्स करिब २ हजार रुपैयाँमा पढ्न पाउने अफर विद्यार्थीहरुलाई प्रदान गरिएको जनाइएको छ ।

    राइटपाथ करियर काउन्सिलिका सीईओ फिलिप डिसीले लामो समयदेखि विद्यार्थीहरुलाई शैक्षिक परामर्श तथा भाषाका कक्षाहरु सञ्चालन गर्दै आएको र विगतमा जस्तै आगामी दिनमा समेत यस्ता कार्यक्रमहरु नियमित आयोजना गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

  • दोहोरो नागरिकता लिएको आरोपमा कान्तिपुरका अध्यक्ष सिरोहिया पक्राउ

    दोहोरो नागरिकता लिएको आरोपमा कान्तिपुरका अध्यक्ष सिरोहिया पक्राउ


    विराटनगर । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । सिरोहियालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थापाथलीमा रहेको कार्यालयबाट पक्राउ गरेको हो ।

    दोहोरो नागरिकता लिएको आरोपमा सिरोहियाविरुद्ध आजै जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेको थियो । उनले दोहोरो नागरिकता लिएको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी परेको थियो ।

    यसैबीच, सिरोहियाले विज्ञप्ति निकालेर कानुनअनुसार हुने हरेक अनुसन्धानमा सहयोग गर्न तयार रहेको बताएका छन् । तर राज्यशक्तिको दुरुपयोग गरेर हुने कुनै प्रतिशोध र हस्तक्षेपबाट आफू अध्यक्ष रहेको कान्तिपुर मिडिया ग्रुप विचलित नहुने उनको भनाइ छ ।

  • कोशी र वागमती प्रदेशमा हल्कादेखि मध्यम वर्षा

    कोशी र वागमती प्रदेशमा हल्कादेखि मध्यम वर्षा


    विराटनगर । जल तथा मौसम विज्ञान विभागले कोशी, मधेस र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने जनाएको छ ।

    विभागका अनुसार बिहानदेखि कोशी प्रदेशको केही स्थान र वागमती प्रदेशको पहाडी भूभागको केही भागमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    विभागले आज दिउँसो कोशी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने जनाएको छ । कोशी र गण्डकी प्रदेश तथा बाँकी प्रदेशका पहाडी भागका केही स्थानका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    त्यसैगरी, आज राति कोशी, मधेस, वागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । मधेस र लुम्बिनी प्रदेशलगायत कोशी, बागमती, गण्डकी कर्णाली प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

  • सडकबाट कार खस्दा मकवानपुरमा दुईजनाको मृत्यु

    सडकबाट कार खस्दा मकवानपुरमा दुईजनाको मृत्यु


    मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका–१२ चौतारास्थित कान्तिलोकपथमा आज बिहान भएको कार दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार हेटौँडा अस्पतालमा उपचारका क्रममा रौतहटको मौलापुर नगरपालिका–६ का १७ वर्षीय विवेक साह र बकैया गाउँपालिका–१२ का ६५ वर्षीय प्रेमबहादुर ब्लोनको मृत्यु भएको हो ।

    ललितपुरबाट हेटौँडातर्फ आउँदै गरेको टाटा कार सडकबाट पाँच सय मिटर तल खसेको थियो । दुर्घटनामा बाराको निजगढ नगरपालिका–६ का ३० वर्षीय सन्दीप साह गम्भीर घाइते भएका छन् । उनको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

  • अज्ञात समूहद्वारा चितवनमा स्कुल बस आगजनी

    अज्ञात समूहद्वारा चितवनमा स्कुल बस आगजनी

    चितवन । विद्यार्थी लिन गइरहेको अवस्थामा चितवन, भरतपुरको मंगलपुरमा स्मलहेभन स्कुलको बसमा आज बिहान आगजनी भएको छ ।

    पश्चिम क्षेत्रका विद्यार्थी लिन जाँदै गरेको बसलाई ६ जना व्यक्तिले रोकेर चालक र सहचालकलाई बााहिर निकालेर आगजनी गरेको प्रहरीले जनाएको छ । घटनाका बेला बसमा विद्यार्थी भने थिएनन् ।

    चनौली बजारदेखि दक्षिण अमृतचोकका विद्यार्थी लिन गइरहेको बा प्र ०६–००१ क ००४५ नम्बरको बसमा उक्त समूहले आगजनी गरेको विद्यालयले जनाएको छ ।

    बसमा के कारणले कसले आगजनी गरेको हो भन्ने खुलेको छैन । आगजानी गर्ने समूहको खोजी भइरहेको चितवन प्रहरीले जानकारी दिएको छ ।

  • आगोमा जलेका धनकुटाका युवाको अवस्था गम्भीर, काठमाडौंमा उपचार हुँदै

    आगोमा जलेका धनकुटाका युवाको अवस्था गम्भीर, काठमाडौंमा उपचार हुँदै

    काठमाडौं । आगोमा जलेर गम्भीर घाइते भएका धनकुटाको सहिदभूमि गाउँपालिका–३ छिन्ताङ डाँडागाउँका बालेन्द्र राईको काठमाडौंमा उपचार भइरहेको छ । आफ्नै घरको भान्साको चुलो छेउमा बसिरहेका बेला एक्कासि बेहोस भएर ढलेपछि राईको अनुहारको अधिकांश भाग जलेको छ ।

    धनकुटामा उपचार हुन नसकेपछि धरान, विराटनगरका अस्पताल हुँदै काठमाडौं पुर्याइएका उनको अहिले किर्तिपुर अस्पतालमा उपचार भइरहेको परिवार स्रोतले जनाएको छ । उनी बोल्न नसक्ने अवस्थामा छन् ।

    २३ वर्षीय बालेन्द्र गत बुधबार बिहान आगोमा जलेका हुन् । घरमा आमा र उनीमात्र बस्दै आएका थिए । आमा घाँस काट्न गएका बेला घटना भएको हो । आगो बलिरहेको चुलोमा परेका उनलाई छिमेकीले केही समयपछि उद्धार गरेर निकालेका थिए । छारे रोगका कारण घटना भएको अनुमान गरिएपनि यकिन कारण खुल्न बाँकी छ ।

    यसैबीच, राईको उपचारका लागि छिन्ताङ-काठमाडौं सरोकार समाजले आर्थिक सहयोग गरेको छ । शनिवार मात्रै गठन भएको संस्थाले स्थापनाको पहिलो दिनमै घाइते राईलाई १० हजार आर्थिक सहयोग गरेको संस्थाका अध्यक्ष कुलप्रसाद राईले जानकारी दिए ।

  • घरमा आगलागी हुँदा धादिङमा दम्पतीको मृत्यु

    घरमा आगलागी हुँदा धादिङमा दम्पतीको मृत्यु


    धादिङ । धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने स्थानमा भएको आगलागीमा वृद्ध दम्पतीको मृत्यु भएको छ । गएराति घरमा आगलागी हुँदा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    आगलागीमा परी स्थानीय ७० वर्षीय तेजबहादुर लामा र उनकी ७० वर्षीया पत्नी ठूली लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

    आगलोले घरमा भएका अन्नपात र लत्ताकपडासहित सबै धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगो राति करिब ११ बजेतिर लागेको जनाइएको छ ।

  • बैंकिङ कसुरमा जनप्रतिनिधि पक्राउ

    बैंकिङ कसुरमा जनप्रतिनिधि पक्राउ

    सिन्धुपाल्चोक । बैंकिङ कसुर मुद्दामा फरार रहेका जुगल गाउँपालिका ७ याङ्लाकोटका वडाध्यक्ष रवि तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

    प्रहरीले नक्कली सेवाग्राहीको भेषमा जिल्ला प्रहरी सिन्धुपाल्चोकबाट खटिएका प्रहरी निरीक्षक सञ्जिव यादवसहितको सुरक्षाकर्मीको टोलीले जुगल ५ ढाडेबाट तामाङलाई पक्राउ गरेको हो ।

    उनलाई सिन्धुपाल्चोक जिल्ला अदालतमा पेस गरेर आवश्यक कानुनी प्रक्रियामा पठाइएको प्रहरी निरीक्षक यादवले जानकारी दिए ।

    २०७८ फागुन २० गते उच्च अदालत पाटन ललितपुरले तीन दिन कैद र नौ लाख ९० हजार रुपैयाँ जरिवानाको सजाय तोकिएपछि वडाध्यक्ष तामाङ फरार थिए ।

error: Content is protected !!