
विराटनगर । विराटनगर जुटमिलको जग्गामा अनधिकृत रूपमा बसोबास गरिरहेका व्यक्ति तथा भाडा नतिरी व्यापार गरिरहेकालाई हटाउने विषयले हलचल पैदा गरेको छ ।
जुटमिल सञ्चालक समितिले जग्गा खाली गराउन प्रशासनलाई पत्राचार गरेपछि वर्षौँदेखि जुटमिलको जग्गामा बसिरहेका स्थानीय त्रसित भएका छन् । हप्तादिनभित्र हटाउने हल्लाबीच स्थानीयमा त्रास पैदा भएको हो ।
मोरङ प्रशासनले सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरेर बसेका स्थानहरूको विवरण संकलन कार्य अघि बढाइसकेको भएपनि तत्कालै हटाउन नमिल्ने बताएको छ ।
‘जुटमिलसहित मोरङका सबै पालिकाहरूलाई आफ्नो क्षेत्रभित्र रहेका अतिक्रमित सरकारी तथा निजी जग्गाको विवरण पठाउन पत्राचार गरिसकिएको छ’, मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले संगालोखबरसँग भने, ‘पहिला विवरण प्राप्त भएपछि व्यवस्थापनसहित हटाउने योजना अघि बढ्छ ।’
विराटनगर जुटमिलले अनधिकृत रूपमा अतिक्रमण भएको जग्गा खाली गराइदिन सहयोग गर्नुपर्यो भनेर निवेदन दिएको उनले बताए । उनले उद्योग मन्त्रालयबाट पनि सहजिकरण गरिदिनुपर्यो भनेर खबर आएको जानकारी दिए ।
‘यो विषयमा हामीले महानगरपालिकालाई लेखेर पठाएका छौं’, उनले भने, ‘अवस्था के छ ? वास्तविक सुकुम्बासी हो, होइन ? पहिला सबै छुट्याएपछि मात्रै प्रक्रिया अघि बढ्छ ।’ जुटमिल प्रशासनलाई पनि त्यहाँको वास्तविक विवरणसहित पेस गर्न खबर गरिएको कोइरालाले जानकारी दिए ।
जुटमिलबाट विवरण आइसकेपछि त्यसलाई पुनः भेरिफाइ गरेर प्रक्रिया अघि बढ्ने उनले जानकारी दिए । ‘अहिले त्यसै हल्ला मात्रै फैलिएको हो’, उनले थपे, ‘एक हप्तामा डोजर चल्ले भन्ने सत्यता हैन ।’
प्रक्रिया, पद्धति, कानुन अनुसार नै वास्तविक सुकुम्बासीलाई उचित व्यवस्थापन सहित हटाउनुपर्ने भएकाले यसका लागि एक/दुई महिना समय लाग्नसक्ने सहायक सीडीयो कोइरालाले बताए ।
सबैभन्दा पहिला त वास्तविक सुकुम्बासी र अतिक्रमण गर्नेलाई छुट्याउनुपर्ने उनले बताए । मोरङका सबै पालिकाबाट पनि विवरण आइसकेपछि अतिक्रमण भएका स्थानमा समय दिएर थप प्रक्रिया अघि बढाइने उनले जानकारी दिए ।
जुटमिल सञ्चालक समितिका अनुसार करिब १४ बिगाहा क्षेत्रफलमा फैलिएको हडताली हाट, दक्षिण गेट र हरिनगरा भट्टा आसपासका क्षेत्रमा करिब ६ सय परिवार बसिरहेका छन् भने सडक किनारमा भाडा नतिरी करिब ३० वटा पसल सञ्चालनमा छन् ।
वि.सं. १९९३ मा स्थापना भएर २०७० सालदेखि बन्द रहेको यो मिल अहिले जीर्ण अवस्थामा पुगेको छ ।

मोहन ढकाल/संगालोखबर 























