मोहन ढकाल/संगालोखबर


विराटनगर । मोरङको ग्रामथान गाउँपालिका-४ स्थित लोहन्द्रा खोलामा भइरहेको अवैध उत्खनन रोक्न स्थानीयले माग गरेका छन् । मापदण्ड विपरीत उत्खनन हुँदा बस्तीलाई खतरा हुने भन्दै उनीहरूले यस्तो कार्य तत्काल रोक्नुपर्ने बताएका हुन् ।

यस विषयमा सोमबार महालक्ष्मी समाज सेवा संस्था ग्रामथानले मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेललाई ध्यानाकर्षण पत्र समेत बुझाएको छ । वातावरणीय प्रभाव मूल्याङ्कन (आईई) को खुलेआम दुरुपयोग गर्दै उत्खनन भइरहेको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

Advertisement

खोला र आसपासको निजी जग्गामा मापदण्डविपरीत उत्खनन भइरहेको जानकारी पाएपछि समाचार संकलन गर्न पुगेका सञ्चारकर्मीहरूलाई गाउँपालिका अध्यक्ष नमोनारायण माझी र उनको समूहले ज्यान मार्ने सम्मको धम्की दिएपछि यो घटनाले अहिले गम्भीर मोड लिएको छ ।

वातावरणीय प्रभाव मूल्याङ्कनको धज्जी उडाउँदै खोला र निजी जग्गामा गहिरो खाडल खनेर उत्खनन भइरहेको स्थानीयको गुनासोपछि पुगेका पत्रकारहरूलाई सार्वजनिक पदमा रहेका व्यक्ति र उनको समूहले भौतिक कारबाहीको चेतावनी दिनुले ठूलो आर्थिक चलखेल भइरहेको आशंका उब्जाएको छ ।

खोलाजन्य पदार्थको अनियन्त्रित दोहनले वर्षायाममा बस्ती नै जोखिममा पर्ने देखिएपछि स्थानीय आक्रोशित छन् । जनप्रतिनिधि र ठेकेदार पक्षको गुण्डागर्दी शैलीको विरोध गर्दै स्थानीयले उत्खनन स्थलमा प्रयोग भइरहेका जेसिबी, एक्साभेटर, ट्याक्टर र टिफर लगायतका ठूला उपकरणहरू नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन् ।

गत बुधबार मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइराला, जिल्ला समन्वय समितिका अध्यक्ष अजम्बर राईलगायतको संयुक्त टोलीले छड्के अनुगमन गर्दा प्राकृतिक स्रोतको दोहन भएको भन्दै तत्काल रोक्न भनेका थिए । तर उनीहरूले निर्देशन नमानी उत्खनन गरिरहेका छन् ।

स्थानीय शालिकराम खवासले अवैध रूपमा खोला नजिकैको जमिन उत्खनन हुँदा बर्खाको समयमा बस्ती जोखिममा पर्ने खतरा भएको बताए । यसरी उत्खनन हुँदा वरिपरिको खेतीयोग्य जमिनमा पनि क्षति पुग्ने उनले बताए ।

मापदण्डविपरीत उत्खनन भएपछि बस्तीमा त्रास फैलिएको स्थानीय सुनरवती खवासले बताइन् । ‘अहिले हाम्रो बस्तीमा त्रास फैलिएको छ’, उनले भनिन्, ‘बस्तीलाई खतरा हुने काम गाउँपालिकाले रोक्नुपर्छ ।’

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी कोइरालाले अनुगमनका क्रममा अवैध उत्खनन भएको पाइएको बताए । उनले छानबिन गरेर मापदण्ड विपरीतको उत्खननमा संलग्नहरूलाई आवश्यक कानुनी कारबाही गर्ने जानकारी दिए ।

गाउँपालिका अध्यक्ष माझीले प्रशासनको निर्देशनलाई ठाडै अस्वीकार गर्ने खालको प्रतिक्रिया दिएका छन् । उनले प्रहरी र आफू जतिखेरै उत्खनन भएको स्थानमा बस्न नसक्ने भन्दै सम्झौता भन्दा केही तलमाथि हुनसक्ने जिकिर गरे । उनले मापदण्ड विपरित उत्खनन नभएको दाबी गर्दै पत्रकारहरूलाई धम्कीको भाषा प्रयोग गरे ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!