
विराटनगर । विराटनगरमा यही वैशाख २१ गते महिला नेतृत्व सम्मेलन आयोजना गरिने भएको छ । कोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र विराटनगर महानगरपालिकासँग सहकार्य गरेर नेपाल उद्योग परिसंघ केन्द्र र कोशी प्रदेश समितिले संयुक्त रुपमा सम्मेलन गर्न लागेका हुन् ।
आयोजकले विराटनगरमा पत्रकार सम्मेलन गरेर सम्मेलनको तयारी भइरहेको जानकारी दिएको छ । सीएनआई वमन लिडरसिप फोरम काठमाडौं र सीएनआई कोशी प्रदेशको महिला उद्यम समितिले सम्मेलन संयोजनको जिम्मा लिएका छन् । महिला उद्यमीहरूको उद्यमशीलता र नेतृत्व विकासका लागि सम्मेलन आयोजना गर्न लागिएको नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष पवन कुमार सारडाले जानकारी दिए ।
सम्मेलनमा महिला उद्यमीहरूको प्रेरणादायी सफलताका कथा प्रस्तुती, फोनपेसहित डिजिटल नवप्रवर्तन सम्बन्धी छलफल, स्वदेशी उत्पादनको प्रदर्शनी, उद्यमी नीति निर्माता निजी क्षेत्रका प्रतिनिधि तथा विकास साझेदारबीच नेटवर्किङ हुनेछ ।
पत्रकार सम्मेलनमा नेपाल उद्योग परिसंघका केन्द्रिय उपाध्यक्ष भीम घिमिरे, उपाध्यक्ष प्रकाश मुन्दडा, महानिर्देशक विजयहरि शर्मा, सम्मेलनका संयोजक गिरिजा सारडा, महिला उद्यमी समिति संयोजक रचना राठी लगायतले सम्मेलन सफल पार्न भूमिका निर्वाहका लागि सबैलाई आग्रह गरेका छन् ।
विराटनगरको होटल मनास्ल इनमा हुने सम्मेलन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गर्ने तय भएको छ । १७ वटा स्टल रहने सम्मेलनमा करिब तीन सय उद्यमी सहभागि हुने आयोजकले जनाएको छ ।

संगालोखबर 


















