Category: तेह्रथुम

  • तेह्रथुमको उच्च क्षेत्रमा हिमपात

    तेह्रथुमको उच्च क्षेत्रमा हिमपात


    तेह्रथुम । तेह्रथुमको पर्यटकीय क्षेत्रहरू मंगलबारे, गुफा पोखरी लगायतका क्षेत्रमा हिमपात भएको छ । मंगलबार बेलुका हिमपात भएसँगै चिसो ह्वात्तै बढेको छ ।

    गतवर्ष जस्तो बाक्लो हिउँ नपरे पनि चिसो बढेको स्थानीय इन्द्र पोखरेलले बताए । उनका अनुसार हिउँ पग्लिन थालेको छ । पाँचथरको फालेलुङ गाउँपालिकाको उच्च क्षेत्रमा पनि हिमपात भएको छ । हिमपात छिमेकी राष्ट्र भारतसँग जोडिएको सिमाना लगायतका क्षेत्रमा भएको हो ।

    स्थानीय डिल्ली प्रसाद केरुङका अनुसार हिमपातका कारण कुनै चौँरी गोठ वा होमस्टेमा क्षति पुगेको छैन । उनले बिहानको मौसम खुला रहेको जानकारी दिए ।

    सो क्षेत्रमा हाल ३२ वटा चौँरी गोठ र झन्डै डेढ दर्जन होमस्टे रहेका छन् । हिमपातले यस क्षेत्रको सौन्दर्य थप बढाएको र पर्यटकहरूको चहलपहल बढ्ने अपेक्षा गरिएको केरुङले बताए । यसैगरी ताप्लेजुङको पाथिभरासहित उच्च क्षेत्रमा हिमपात भएको छ ।

  • तेह्रथुमको मझौ गुफा प्रचारका लागि भलिबल प्रतियोगिता

    तेह्रथुमको मझौ गुफा प्रचारका लागि भलिबल प्रतियोगिता


    तेह्रथुम । तेह्रथुमको फेदाप गाउँपालिका-२ हाङसुरुङमा अवस्थित मझौ गुफा ओझेलमा परेको छ । धार्मिक तथा पर्यटकीय महत्व बोकेका भएपनि प्रचार-प्रसारको अभावमा गुफा ओझेलमा परेको हो ।

    गुफा जाने स्थानमा खेलमैदान छ । खेलमैदानबाट गुफा जानका लागि सिँढी पनि निर्माण गरिएको छ । तर यसको प्रचार हुन नसक्दा ओझेलमा नै परेको छ ।

    गुफाको प्रचार गर्न स्थानीयले प्रत्येक वर्ष स्थानीय सरकारको सहयोगमा विभिन्न कार्यक्रम गर्दै आएका छन् । यस वर्षपनि उनीहरूले आगामी माघ १ गतेबाट ४ गतेसम्म भलिबल प्रतियोगितासँगै विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरेका छन् ।

    गुफामा प्रवेश सहज होस् भन्ने उद्देश्यले विजुली बत्ती जडान गरिएको छ भने गुफा नजिकै मन्दिर पनि निर्माण गरिएको छ । गुफा ७० मिटर लामो रहेको छ । गुफा भित्र बिभिन्न आकृति रहेका छन् ।

    गुफालाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न स्थानीय सरकारले विभिन्न काम गर्दै आएको फेदाप गाउँपालिकाका अध्यक्ष केशवप्रसाद भेटवालले बताए । यस गाउँपालिका भित्र अन्य पर्यटकीय गन्तव्य पनि प्रचार-प्रसारको अभावमा ओझेलमा परेका छन् ।

  • कोशी खेलकुद बोर्डले गर्यो तेह्रथुममा खेलकुद संरचनाको अनुगमन

    कोशी खेलकुद बोर्डले गर्यो तेह्रथुममा खेलकुद संरचनाको अनुगमन


    विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डले तेह्रथुम जिल्ला स्थित खेलकुद संरचना तथा बोर्ड मातहत कार्यालयको अनुगमन तथा निरीक्षण गरेको छ ।कोशी प्रदेशका विभिन्न जिल्लामा रहेका खेलकुद संरचनाको अभिलेखन तयारीमा लागेको  बोर्डले तेह्रथुम पुगेर अनुगम गरेको हो ।

    बोर्डका सदस्य सचिव कृष्ण बस्नेतको नेतृत्वमा रहेको टोलीले जिल्लामा रहेका फुटबल मैदान र रङ्गशाला, निर्माणाधीन कभर्ड हल तथा जिल्ला खेलकुद विकास समितिको निर्माणाधीन कार्यालयको अनुगम गरेको हो ।

    जिल्ला खेलकुद विकास समितिको आयोजनामा जिल्लामा रहेका सक्रिय खेलकुदकर्मीसँग अन्तरक्रिया गर्दै सदस्य सचिव बस्नेतले १० औं राष्ट्रिय खेलकुद प्रतियोगितामा कोशी प्रदेशलाई अधिकतम पदक जिताउने गरी तयारी भइरहेको बताए ।

    बस्नेतले तयारीको क्रममा जिल्लाहरूमा केही समस्या देखिए बोर्डले तत्काल समाधान गर्ने प्रतिबद्धता जनाए ।

  • तेह्रथुम र पाँचथर जोड्ने मोटरेबल पुलको पुनःर्निर्माण सुरु

    तेह्रथुम र पाँचथर जोड्ने मोटरेबल पुलको पुनःर्निर्माण सुरु


    तेह्रथुम । तेह्रथुम र पाँचथर जोड्ने मोटरेबल पुलको पुनःर्निर्माण सुरु भएको छ । तमोर नदीस्थित लुमुघाटमा १३ वर्षपछि पुलको पुनःनिर्माण सुरु भएको हो । म्याङलुङ नगरपालिकाका प्रमुख सञ्जयकुमार तुम्बाहाङ्फेले करिब १३ वर्षपछि पुल पुनःनिर्माण थालिएको जानकारी दिए ।

    सडक विभाग मातहतको पुल सेक्टरले १७ करोड लागतमा उक्त पुल निर्माण गर्ने ठेक्का पाएको थियो । निर्माण कम्पनीले विसं २०६८ असार २६ गते तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो । तर निर्माण कम्पनीले काम नगरी पुल अलपत्र छाडेको थियो ।

    तेह्रथुम र पाँचथरका जनप्रतिनिधि, स्थानीय प्रशासन र सरोकारवालाको दबाबपछि निर्माण कम्पनीले अधुरो छाडेको काम सुरु गरेको नगरप्रमुख तुम्बाहाङ्फेले बताए । जग निर्माण गर्ने क्रममा १० मिटर गहिराइमा ढुङ्गा भेटिएपछि पुनः ‘सोइल टेष्ट’ गरेर ‘रिडिजाइन’ गर्ने विषयमा विवाद भएपछि पुल निर्माणको काम रोकिएको थियो ।

    गत मङ्सिर २० गते भौतिक पूर्वाधार मन्त्रालयमा बसेको सर्वपक्षीय बैठकमा पुरानै डिजाइनमा पुल बनाउने सहमति भएपछि निर्माण कार्यले निरन्तरता पाएको सांसद सीता गुरुङले बताइन् ।

    सबै पक्षको सहयोग रहे आउने असारसम्ममो काम सम्पन्न गरिसक्ने निर्माण कम्पनीका साइड इञ्चार्ज विजय लामिछानेले बताए । पाँचथरको कुम्मायक गाउँपालिका र तेह्रथुमको म्याङलुङ नगरपालिकालाई जोड्ने उक्त मोटरेबल पुल निर्माण सम्पन्न भएपछि दुई जिल्लाको सदरमुकाम सबैभन्दा छोटो दूरीमा जोडिने छन् ।

    पुल निर्माण भएपछि म्याङलुङदेखि लुमुघाट हुँदै तमोर करिडोर भएर छोटो दूरीमै सुनसरीको धरान र प्रदेश राजधानी विराटनगर पुग्न सकिन्छ ।

  • अलैँचीको मूल्य १२ वर्षयताकै उच्च हुँदा कृषक खुसी 

    अलैँचीको मूल्य १२ वर्षयताकै उच्च हुँदा कृषक खुसी 


    तेह्रथुम । कालो सुन अर्थात अलैँचीले राम्रो भाउ पाएपछि कृषकमा खुसी थपिएको छ । यो वर्ष १२ वर्षयताकै उच्च मूल्यमा अलैँची कारोबार भइरहेको छ । जसले कृषकमा थप जाँगर थपिदिएको छ ।

    तेह्रथुममा उच्च गुणस्तरीय अलैँची प्रतिमन एक लाख १० हजार सम्ममा बिक्री भइरहेको छ । अलैँचीको पुराना बगान मासेर नयाँ बगान विस्तार गरिरहेका किसानलाई यसले थप उर्जा दिएको फेदाप गाउँपालिक-२ का कृषक कृष्ण दुलालले बताए ।

    ‘एक पटक बिरुवा लगाएर छाडिदिने होइन । पटक-पटक मलजल, गोडमेल र बगानको सरसफाइ गर्नु आवश्यक छ ।’, दुलालले भने, ‘जाँगर चलाउँदा अब पैसाकै लागि विदेशिनुपर्ने अवस्था छैन भन्ने प्रमाणित अलैँची खेतीले पुष्टि गरेको छ ।’

    यसवर्ष अलैँचीले राम्रो भाउ पाएको भन्दै उनले सँधै यस्तै भए युवाहरूले गाउँमै बसेर उद्यम गर्ने वातावरण बन्ने बताए । दुलालले २२ रोपनी जमिनमा अलैँची लगाएका छन् । यसपटक गत वर्षभन्दा बढी अलैँची फलेको उनले सुनाए ।

    पूर्वी पहाडमा नगद आर्जनको राम्रो स्रोत बनेको अलैँचीको मूल्य करिब एक महिनायता प्रतिमन एक लाख १० हजार रुपैयाँमा आएर स्थिर रहेको उनको भनाइ छ । उनका अनुसार अहिले गाउँबाट करिब ७० प्रतिशत अलैँची बजार गइसकेको छ ।

    जिल्लाका म्याङलुङ बजार, आठराई, औँशी बजार, ओयाकजुङ, मोराहाङलगायतका क्षेत्रमा अलैँचीको कारोबार भइरहेको छ । जिल्लामा वर्षेनी करिब तीन अर्ब हाराहारीको अलैँची कारोबार हुने गरेको छ ।

    २०७९ सालमा तेह्रथुममा अलैँची प्रतिमन ३२ हजार रुपैयाँमा कारोबार भएको थियो । २०८० सालमा ६० देखि ९० हजार पुगेको अलैँचीको मूल्य अहिले एक लाख १० हजार पुगेको हो । १० वर्षअघि पनि अलैँचीको मूल्य प्रतिमन लाख रुपैयाँ नाघेको थियो ।

    मूल्य उच्च भएसँगै अहिले किसानले अलैँची खेती विस्तारका लागि बारी तयार गर्ने, बिरुवा उत्पादनका लागि ब्याड राख्नेजस्ता काम थालेका छन् ।

  • तेह्रथुममा मापसे गरेर ‘बबन्डर’ मच्चाएका बुढाथोकीको मृत्यु

    तेह्रथुममा मापसे गरेर ‘बबन्डर’ मच्चाएका बुढाथोकीको मृत्यु

    सांकेतिक तस्वीर

    तेह्रथुम । तेह्रथुमको फेदाप गाउँपालिका-१ सिम्लेका एक व्यक्तिले मादक पदार्थ सेवन गरेर ‘बबन्डर’ मच्चाएका छन् । सोही वडाका अन्दाजी ४२ वर्षीय अमृत बहादुर बुढाथोकीले शुक्रबार मापसे गरेर छिमेकी दम्पती र पशु चौपायालाई खुकुरी प्रहार गर्नुका साथै विभिन्न स्थानमा आगजनी गरेका थिए ।

    छिमेकी हरि बहादुर माझी र उनकी श्रीमती फुलमायालाई खुकुरी प्रहार गरेर बुढाथोकीले घाइते बनाएका थिए । बुढाथोकीले अर्का छिमेकी विजय निङलेकुको गोठमा प्रवेश गरी एक माउ भैंसी, पाडा-पाडी र तीन वटा बाख्रालाई पनि खुकुरी प्रहार गरेका थिए ।

    त्यसपछि गाउँ पसेका उनले गाउँका विभिन्न ११ स्थानमा आगजनी गरेको वडाध्यक्ष मन बहादुर श्रेष्ठले जानकारी दिए । त्यसपछि भागेका बुढाथोकीलाई स्थानीय र पोक्लाङ प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले म्याङलुङ नगरपालिका-१० को मोरङ्गे बगरबाट पक्राउ गरेको थियो ।

    भाग्ने क्रममा सख्त घाइते भएका बुढाथोकीलाई पक्राउ गरी उपचारका लागि फेदाप अस्पतालमा पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ । खुकुरी प्रहार बाट सख्त घाइते भएका माझी दम्पतीको धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    दुर्गम स्थानमा घटना भएको र अनुसन्धान थालिएको तेह्रथुमका प्रहरी नायब उपरीक्षक चिनीमाया तामाङले जानकारी दिइन् । अनुसन्धानपछि थप कुरा खुल्ने उनको भनाइ छ ।

  • पाँचथर र तेह्रथुम जोड्ने तमोर नदीमाथिको पुल ६ वर्षदेखि अलपत्र

    पाँचथर र तेह्रथुम जोड्ने तमोर नदीमाथिको पुल ६ वर्षदेखि अलपत्र


    तेह्रथुम । पाँचथर र तेह्रथुमलाई जोड्ने मोटरेवल पुल ६ वर्षदेखि अलपत्र छ । लुम्वुघाटमा तमोर नदीमाथि निर्माणाधीन पुलको नौ वर्षअघि ठेक्का लागेको थियो । सम्झौता अनुसार तीन वर्षमा बनिसक्नुपर्ने पुल अहिलेसम्म अलपत्र अवस्थामा छ ।

    ठेकेदारको लापरबाहीका कारण समयमा निर्माण सम्पन्न नभएको भन्दै स्थानीय आक्रोशित हुन थालेका छन् । निर्माण कम्पनीले पुल अलपत्र अवस्थामा छाडेपछि जिल्लाबासीहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी दर्ता गराएका थिए ।

    निर्माण सम्पन्न भएको काममा समेत ठेकेदारले कमसल सामग्री प्रयोग गरेको स्थानीयको आरोप छ । दुवै जिल्लाका जनप्रतिनिधिले पुलको स्थलगत निरीक्षण गरी गुणस्तरीय सामान प्रयोग गर्न ठेकेदारलाई पटक-पटक निर्देशन दिएका थिए ।

    स्थलगत निरीक्षण गरेपछि पुलमा प्रयोग गरिएका सामग्री कमसल फेला परेको म्याङलुङ नगरपालिकाका प्रमुख सञ्जय कुमार तुम्बाहाङफेले बताए । निर्माण कम्पनीले पुलमा कमसल सामग्रीको प्रयोग गरेको जनगुनासो आएपछि दुवै जिल्लाका जनप्रतिनिधिले फरक-फरक समयमा पुलको स्थलगत अनुगमन गरेका थिए ।

    विभिन्न बहाना देखाउँदै पुल निर्माणमा ढिलाई गर्दै आएको स्वच्छन्द निर्माण सेवासँग  जनप्रतिनिधिले पुल निर्माणमा प्रयोग गरिएका सामग्रीको ल्याब टेष्ट रिपोर्ट मगाएका थिए । उनीहरूले निर्माण कम्पनीलाई समयमै काम सम्पन्न गर्न दबाब समेत दिँदै आएका थिए ।

    त्यसयता ठेकेदारले काम नै रोकेर बसेको छ । पाँचथरबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बसन्तकुमार नेम्वाङ समेतको टोलीले पुल निर्माणस्थलमै पुगेर पटक-पटक अनुगमन गरेको थियो । पछि उनै नेम्वाङ भौतिक पूर्वाधार तथा यातायात मन्त्री समेत बने ।

    निर्धारित समयमा पुल निर्माण सम्पन्न नहुँदा दुई जिल्लाबासीले दुःख बेहोर्न बाध्य हुनुपरेको पाँचथरको कुम्मायक गाउँपालिकाका निवर्तमान अध्यक्ष जयबहादुर चेम्जोङले बताए ।

    सडक डिभिजन कार्यालय धनकुटाले स्वच्छन्द निर्माण सेवा काठमाडौंलाई तीन वर्षमा काम सक्नेगरी नौ वर्षअघि ठेक्का लगाएको थियो । तर अहिलेसम्म ४० प्रतिशत मात्रै काम सम्पन्न भएको सडक डिभिजन कार्यालय धनकुटाका प्रमुख कैलाश कुमार देवले बताए ।

  • प्रधानमन्त्री ओलीले गरे आफैँ पढेको विद्यालयको भवन उद्‌घाटन

    प्रधानमन्त्री ओलीले गरे आफैँ पढेको विद्यालयको भवन उद्‌घाटन


    तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका-४ इवामा रहेको प्रणामी माध्यमिक विद्यालयको नवनिर्मित भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्‌घाटन गरेका छन् । हिजो एका कार्यक्रमबीच प्रधानमन्त्री ओलीले १८ कोठे पक्की भवनको उद्‌घाटन गरेका हुन् ।

    प्रधानमन्त्री ओलीले यही विद्यालयमा कक्षा चार सम्म अध्ययन गरेका थिए । कार्यक्रम बोल्दै प्रधानमन्त्री ओलीले आफूले पढेको विद्यालयको भवन उद्‌घाटन गर्न पाउँदा हर्षित भएको बताए ।

    ओम हङ गिल फाउन्डेसन दक्षिण कोरियाबाट चार करोड ४९ लाख ६० हजार, कोशी प्रदेश सरकारबाट २१ लख ४० हजार र आठराई गाउँपालिकाको ६९ लाखको सहयोगमा भवन निर्माण भएको हो ।

    ओम हङ गिल फाउण्डेसनका प्रतिनिधिले नेपालमा लगानी गर्न पाउँदा खुसी व्यक्त गरे । सोही अवसरमा विद्यार्थीहरूलाई झोला र स्टेसनरी सामग्री वितरण गरिएको थियो ।

  • तेह्रथुमको प्रणामी माविको भवन प्रधानमन्त्री ओलीले उद्‌घाटन गर्ने

    तेह्रथुमको प्रणामी माविको भवन प्रधानमन्त्री ओलीले उद्‌घाटन गर्ने


    तेह्रथुम । तेह्रथुमको प्रणामी माध्यमिक विद्यालयको नयाँ भवन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा उद्‌घाटन हुने भएको छ । आठराई गाउँपालिका-४ इवामा अवस्थित उक्त विद्यालयको नवनिर्मित १८ कोठे पक्की भवन निर्माण भएको छ । उक्त भवनको मंसिर २६ गते प्रधानमन्त्री ओलीले उद्‌घाटन गर्ने कार्यक्रम तय भएको हो ।

    प्रधानमन्त्री ओलीको औपचारिक शिक्षा यही विद्यालयबाट प्रारम्भ भएको थियो । ओम हङ गिल फाउन्डेशन दक्षिण कोरियाबाट चार करोड ४९ लाख ६० हजार, कोशी प्रदेश सरकारबाट २१ लख ४० हजार, गाउँपालिकाबाट ६९ लाख र अन्य सहयोगसहित करिब पाँच करोड पचास लाख रुपैयाँ लगानीमा भवन निर्माण भएको हो ।

    विद्यालयमा नयाँ भवन निर्माणसँगै गुणस्तरीय शिक्षा प्रदान गर्न थप सुविधा उपलब्ध भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीमप्रसाद घिमिरेले बताए । उद्‌घाटन समारोहको सम्पूर्ण तयारी पूरा भएको विद्यालयका प्रधानाध्यापक अमृतबहादुर बुढाथोकीले जानकारी दिए ।

  • तेह्रथुमको लागिगुराँस नगरपालिका-८ मा काँग्रेसका लिम्बू निर्वाचित

    तेह्रथुमको लागिगुराँस नगरपालिका-८ मा काँग्रेसका लिम्बू निर्वाचित


    विराटनगर । तेह्रथुमको लागिगुराँस नगरपालिका-८ को वडाध्यक्षमा काँग्रेसका उम्मेदवार नगेन्द्र लिम्बू निर्वाचित भएका छन् । लिम्बू ४४० मत ल्याएर विजयी भएका हुन् ।

    नेकपा एमालेका उम्मेदवार बुद्ध बहादुर लिम्बूले ३६० मत प्राप्त गरे । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सन्जिब खड्काले ३८ मत ल्याउँदा नेकपा माओवादी केन्द्रका उम्मेदवार कुमार विश्वकर्माले २६ मत प्राप्त गरे ।

  • तेह्रथुमबाट जबरजस्ती करणीको अभियोगमा वृद्ध पक्राउ

    तेह्रथुमबाट जबरजस्ती करणीको अभियोगमा वृद्ध पक्राउ

    सांकेतिक तस्वीर

    तेह्रथुम । तेह्रथुमबाट जबरजस्ती करणीको अभियोगमा एक वृद्ध पक्राउ परेका छन् । लालीगुराँस नगरपालिका-१ गैरी टोल बस्ने भोजपुर साल्पासिलिछो गाउँपालिका-५ घर भएका ६० वर्षीय बाङ्ठा भन्ने प्रेम तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

    उनीमाथि ५६ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोग लागेको प्रहरीले जनाएको छ ।

    भदौ ३० गते राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय वसन्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • तेह्रथुम र सुनसरीमा भएका दुर्घटनामा दुई जनाको मृत्यु

    तेह्रथुम र सुनसरीमा भएका दुर्घटनामा दुई जनाको मृत्यु

    सुनसरी । सुनसरी र तेह्रथुममा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । तेह्रथुमको लालीगुराँस नगरपालिका–१ मा ग्यास बोकेको ट्रकको चक्काले किचिँदा गएराति सहचालकको मृत्यु भएको हो ।

    को १ क १६८१ नम्बरको ट्रकले किचिएर सुनसरीको इटहरी घर भएका ४५ वर्षीय रमानन्द चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक चालक सुनसरीको रामधुरीका ४४ वर्षीय तेजबहादुर राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    यसैगरी, सुनसरीको बराहक्षेत्र नगरपालिका–५ लक्ष्मीपुरमा ट्रकको ठक्करबाट साइकलमा पछाडि सवार ८० वर्षीया लक्ष्मीदेवी चौधरीको मृत्यु भएको छ । साइकल चलाइरहेका उनका छोरा ४५ वर्षीय गुन्जा चौधरी घाइते भएका छन् ।

    उनीहरु चढेको साइकललाई प्रदेश १–०२–००१ ख ९१०४ नम्बरको ट्रकले ठक्कर दिएको थियो । घाइते गुन्जाको उपचार भइरहेको प्रहरीले जनाएको छ । ट्रक चालक मोरङको कानेपोखरीका वीरबहादुर घिसिङलाई प्रहरीले पक्राउ गरेको छ ।

  • तेह्रथुममा पहिरोले विद्यालय भवन क्षतिग्रस्त, बिजुली अवरुद्ध

    तेह्रथुममा पहिरोले विद्यालय भवन क्षतिग्रस्त, बिजुली अवरुद्ध

    तेह्रथुम । अविरल वर्षापछि मङ्गलबार राति तेह्रथुमको फेदाप गाउँपालिका–४ मा पहिरो जाँदा विद्यादय भवनमा क्षति पुगेको छ । स्थानीय जालपादेवी आधारभूत विद्यालयको भवनमा क्षति पुगेको प्रहरीले जनाएको  छ ।

    पहिरो खसेपछि विद्यालयका भवनहरू सहित अन्य संरचना जोखिममा परेको जनाइएको छ । पहिरोले स्थानीय दलबहादुर कार्कीको घरमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ ।

    राति आएको ठूलो पानी र हावाहुरीले फेदाप गाउँपालिकामा पहिरो र रुख ढल्दा बिजुलीका खम्बामा क्षति पुगेको छ । कतिपय स्थानमा तार चुँडिएको छ । तार चुँडिदा बिजुली आपूर्ति बन्द भएको छ । मर्मत गरी बिजुली नियमित गर्न केही दिन लाग्न सक्ने विद्युत प्राधिकरणको स्थानीय शाखाले जनाएको छ ।

  • धनकुटा र तेह्रथुमलाई जोड्ने १७ किलोमिटर सडक सञ्चालनमा

    धनकुटा र तेह्रथुमलाई जोड्ने १७ किलोमिटर सडक सञ्चालनमा


    धनकुटा । धनकुटा र तेह्रथुम जिल्लालाई जोड्ने १७ किलोमिटर सडक सञ्चालनमा आएको छ । कोशी प्रदेश सरकारद्वारा निर्माण गरिएको सडकको बुधबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्‌घाटन गरेका छन् ।

    धनकुटाको सिधुवादेखि तेह्रथुमको शुक्रबारेसम्मको डबल लेन सडक सञ्चालनमा आएसँगै ग्रामीण क्षेत्रका बासिन्दालाई लाभ मिल्ने सरकारको विश्वास छ । प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगत पूर्वाधार विकास कार्यालय संखुवासभाले ८९ करोड ९० लाख रुपैयाँको लागतमा सडक निर्माण गरेको हो ।

    यो सडकले स्थानीय बजार प्रवर्द्धन र विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने मुख्यमन्त्री कार्कीले  बताए । उनले पहाडी जिल्लामा भइरहेको बसाइसराइ रोक्न, कृषि र पर्यटनलाई प्रवर्द्धन गर्न यो सडक महत्त्वपूर्ण हुने दाबी समेत गरे । 

  • कोशीमा गाउँपालिका अध्यक्षसहित ७ पद रिक्त

    कोशीमा गाउँपालिका अध्यक्षसहित ७ पद रिक्त

    विराटनगर । कोशी प्रदेशमा एक गाउँपालिका अध्यक्षसहित सातजना जनप्रतिनिधिको पद रिक्त छ । देशभर गरी विभिन्न जिल्लामा ३४ वटा पद रिक्त रहेको निर्वाचन आयोगले जनाएको छ । ती रिक्त स्थानहरूमा आगामी मंसिर तेस्रो साता निर्वाचन गर्न प्रस्ताव गरिएको छ ।

    मोरङको ग्रामथान गाउँपालिकामा अध्यक्ष पद रिक्त छ । सुनसरीको गढी गाउँपालिका–६ को वडाध्यक्ष पद रिक्त छ भने झापाको कनकाई नगरपालिका–६ को वडाध्यक्ष पद रिक्त रहेको आयोगले जनाएको छ ।

    यसैगरी, तेह्रथुमको लालीगुराँस नगरपालिका–८ को वडाध्यक्ष पद रिक्त छ । ओखलढुङ्गाको मोलुङ गाउँपालिका–५ मा वडाध्यक्ष पद रिक्त छ । उदयपुरको त्रियुगा नगरपालिका–१२ र बेलका नगरपालिका–८ मा वडाध्यक्ष पद रिक्त छ ।

    निर्वाचन आयोगले स्थानीय तहमा रिक्त रहेका विभिन्न ३४ पदमा आगामी मंसिर तेस्रो साता उपनिर्वाचन गर्न प्रस्ताव गरेको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटका क्रममा आयोगले उपनिर्वाचनको मिति प्रस्ताव गरेको थियो ।

    गत २०७९ वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनपछि विभिन्न कारणले नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा वडाध्यक्ष गरी जम्मा ३४ पद रिक्त रहेको आयोगले जनाएको छ ।

    स्थानीय तह निर्वाचन ऐन-२०७३ मा रिक्त रहेका पदहरूको पदावधि एक वर्षभन्दा बढी बाँकी रहेको अवस्थामा आयोगको परामर्शमा सरकारले मिति तोकी उपनिर्वाचनद्वारा  पदपूर्ति गरिने व्यवस्था छ । सोहीअनुसार आयोगले उपनिर्वाचनको मिति प्रस्ताव गरेको हो ।

    सोही प्रयोजनका लागि आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेको छ । आयोगले विभिन्न कारणले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका देशभरका र विशेषतः पद रिक्त भएका उपनिर्वाचन गर्नुपर्ने स्थानीय तह भित्रका योग्यता पुगेका नेपाली नागरिकलाई उपनिर्वाचनको मिति घोषणा हुनुपूर्व नै मतदाता नामावलीमा नाम दर्ता गर्न आयोगले आह्वान गरेको छ ।

    देशभर कहाँ कहाँ रिक्त ?

  • कोशीका चारसहित विभिन्न जिल्लामा भारी वर्षा हुने, रात्रि बस सञ्चालनमा रोक

    कोशीका चारसहित विभिन्न जिल्लामा भारी वर्षा हुने, रात्रि बस सञ्चालनमा रोक

    विराटनगर । आज राति र भोलि भारी वर्षा र अति भारी वर्षा हुनसक्ने भन्दै सरकारले कोशी प्रदेशका चारसहित विभिन्न जिल्लामा रात्रिकालीन बस सञ्चालन गर्न रोक लगाउने निर्णय गरेको छ ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज सूचना जारी गर्दै रात्रिकालीन बस सञ्चालन गर्न रोक लगाउने निर्णय गरेको हो । कोशीसहित पाँचवटा प्रदेशका विभिन्न जिल्लामा भारी र अति भारी वर्षा हुने जनाइएको छ ।

    जल तथा मौसम पूर्वानुमान महाशाखाले ती जिल्ला उच्च जोखिममा रहने प्रक्षेपण गरेसँगै ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, तेह्रथुम, रसुवा, चितवन, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, दोलखा, म्याग्दी, बाग्लुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व, लमजुङ र गोरखामा रात्रिकालीन बस सञ्चालन गर्न रोक लगाइएको छ ।

    यस्तै, कपिलवस्तु, रूपन्देही, पाल्पा, गुल्मी, दाङ, बाँके, बर्दिया, प्यूठान, अर्घाखाँची र रुकुम पश्चिम, कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी र बैतडीमा पनि रात्रिकालीन बस सञ्चालन गर्न रोक लगाइएको छ ।

    रातको समयमा यात्रा गर्दा बाटोमा आउन सक्ने बाढी र पहिरोको आँकलन गर्न कठिन हुने भएकोले सम्भावित क्षति रोक्न उच्च जोखिम भएका जिल्लामा रात्रिकालीन बस नचलाउने निर्णय भएको प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले जानकारी दिए ।

  • धनकुटा र तेह्रथुमका कृषकलाई २ करोडभन्दा बढी अनुदान

    धनकुटा र तेह्रथुमका कृषकलाई २ करोडभन्दा बढी अनुदान

    धनकुटा । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनकुटाले कृषकलाई २ करोड रुपैयाँभन्दा बढीको अनुदान वितरण गरेको छ । धनकुटा र तेह्रथुमका कृषक तथा पशुपक्षी पालक कृषकहरूलाई अनुदान वितरण गरिएको हो । केन्द्रले आर्थिक वर्ष २०८०/८१ मा धनकुटा र तेह्रथुमका ९२ वटा पशुपालन सम्बन्धी व्यक्तिगत फार्म, समूह र सहकारीलाई २ करोड ३८ लाख ७० हजार २ सय रुपैयाँ अनुदान उपलब्ध गराइएको छ ।

    विभिन्न ५ शीर्षकमा कृषकले कोशी प्रदेश सरकारको कार्यक्रम अन्तर्गत ७५ प्रतिशत अनुदान रकम पाएका हुन् । धनकुटाका ३६ र तेह्रथुमका १८ गरी जम्मा ५४ वटा कृषि संस्थाले दुध उत्पादनमा आधारित, धनकुटाका ३ र तेह्रथुमका ३ गरी ६ वटाले मागमा आधारित रहेका छन् । त्यस्तै, धनकुटाका र तेह्रथुमका १५/१५ गरी ३० वटा संस्थाले मोटरसहितको च्यापकटर, धनकुटामा एउटा मत्स्य नर्सरी निर्माण तथा व्यवस्थापन र तेह्रथुमको एउटा मत्स्य ह्याचरी निर्माण तथा व्यवस्थापनमा अनुदान उपलब्ध गराइएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ कार्यालय कार्यालयका प्रमुख हिमाकुमारी गौतमले जानकारी दिइन् ।

    दुध उत्पादनमा आधारित अनुदान अन्तर्गत २ करोड १३ लाख ७९ हजार ८ सय,  मागमा आधारित ६ लाख, मोटर सहितको च्यापकटर वितरणमा ८ लाख ९० हजार ४ सय, मत्स्य नर्सरी निर्माण तथा व्यवस्थापनमा ५ लाख र मत्स्य ह्याचरी निर्माण तथा व्यवस्थापनमा ५ लाख रुपैयाँ बराबरको अनुदान वितरण गरिएको थियो । स्थलगत भ्रमण गरेर अनुदान रकम प्रदान गरिएकाले अनुदानको उचित सदुपयोग भएको गौतमको भनाइ छ ।

  • तेह्रथुमको जिरिखिम्तीमा कालोझण्डा देखाएर मुख्यमन्त्री कार्कीविरुद्ध प्रदर्शन

    तेह्रथुमको जिरिखिम्तीमा कालोझण्डा देखाएर मुख्यमन्त्री कार्कीविरुद्ध प्रदर्शन

    तेह्रथुम । पहिचान पक्षधर संगठनका नेता–कार्यकर्ताले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई आज कालो झण्डा देखाएर विरोध गरेका छन् । तेह्रथुमको बसन्तपुरबाट म्याङलुङ जाने क्रममा बिहान जिरिखिम्तीमा कालो झण्डा देखाइएको हो ।

    पहिचानको आधारमा प्रदेशको नाम राख्न माग गर्दै आन्दोलनरत पहिचान पक्षधरले २६ माघ २०८० मा सरकारसँगको सहमतिपछि आन्दोलनको स्वरुप परिवर्तन गरेको थियो । नेताहरूको यात्रामा अवरोध नगर्ने सहमति गरेको थियो । उक्त सहमतिविपरीत मुख्यमन्त्री तेह्रथुमको म्याङलुङ जाने क्रममा अवरोध भएको हो ।

    पहिचान पक्षधरले पहिचानको आधारमा नाम राख्न माग गर्दै मुख्यमन्त्री कार्कीविरूद्ध प्रदर्शन गरेका थिए । जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रमुख प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार १०–१२ जनाको समूहले मुख्यमन्त्रीलाई कालोझण्डा देखाउन खोजेको थियो । त्यहाँ परिचालित प्रहरीले रोकेको उनले बताए । 

    २०७९ फागुन १७ गते कार्की नै मुख्यमन्त्री भएका बेला प्रदेशको नाम ‘कोशी’ राखिएको थियो । प्रदेशसभामा मतदान गर्दा ९३ सांसदमध्ये ८२ सांसदले कोशीको पक्षमा मतदान गरेका थिए । नामकरणका विरुद्ध पहिचान पक्षधरहरू त्यसयता आन्दोलित हुँदै आएका छन् । आन्दोलनका क्रममा एकजनाको मृत्यु पनि भइसकेको छ ।

  • तेह्रथुमको सोल्मामा खुकुरी प्रहार गरी आमाको हत्या, छोरा पक्राउ

    तेह्रथुमको सोल्मामा खुकुरी प्रहार गरी आमाको हत्या, छोरा पक्राउ

    सांकेतिक तस्वीर

    तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिका–८ सोल्मामा एक युवकले आफ्नी आमाको हत्या गरेका छन् । आज अपरान्ह स्थानीय २३ वर्षीय दिपक नेपालीले खुकुरी प्रहार गरी आफ्नै आमा ४३ वर्षीया तीलमाया नेपालीको हत्या गरेका हुन् ।

    प्रहरीका अनुसार सामान्य घरायसी विवादका क्रममा दिपकले आमा तीलमायालाई खुकुरी प्रहार गरेका थिए । इलाका प्रहरी कार्यालय बसन्तपुरका प्रहरी निरीक्षक खगेन्द्र एक्नेनका अनुसार तीलमायाको घटनास्थलमै मृत्यु भएको थियो ।

    खुकुरी प्रहारबाट घाँटीलगायत शरीरका विभिन्न भागमा चोट लागेको जनाइएको छ । दिपकलाई पक्राउ गरी घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक एक्तेनले जानकारी दिए ।

  • कोशी प्रदेशस्तरीय लोकदोहोरीमा तेह्रथुमको समूह पहिलो

    कोशी प्रदेशस्तरीय लोकदोहोरीमा तेह्रथुमको समूह पहिलो

    संखुवासभा । मकालु साहित्यिक समाज संखुवासभाको आयोजनामा पञ्चेबाजामा कोशी प्रदेशस्तरीय लोकदोहोरी प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा तेह्रथुमका कमल बुढाथोकी र भूमिका खनालको समूहले प्रथम स्थान प्राप्त गरेको छ ।

    त्यस्तै, खोटाङको गंगा गौतम र रमेश आचार्यको समूह द्वितीय भयो भने संखुवासभाको मनकामना समूह तृतीय भयो । प्रथम, द्वितीय र तृतीय हुने समूहलाई क्रमशः २५, २० र १५ हजारका साथमा प्रमाणपत्र प्रदान गरिएको थियो ।

    लोकसंस्कृति र बञ्चेबाजाको संरक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष ताराबहादुर बुढाथोकीले जानकारी दिए । कार्यक्रममा पन्चैबाजाका कलाकारहरुले संगीत दिएका थिए । सोही अवसरमा साहित्यकार खेम नेपाली, गंगा सुवेदी र गायक सञ्जीव धिमाललाई सम्मान गरिएको थियो ।

    खाँदबारी नगरपालिका वडा नम्बर ७ को सहयोगमा ‘महिला हिंसा र दुर्व्यसन विरुद्ध’ माविस्तरीय लोकदोहोरी पनि सम्पन्न भएको छ । प्रतियोगितामा नगर क्षेत्रभित्रका ८ वटा माविका दोहोरी टिम सहभागी भएकामा आदर्श विद्यामन्दिर प्रथम, अरुण भ्याल्ली बोर्डिङ दोस्रो र मनमकामना मावि तेस्रो भए ।

    लोपोन्मुख संस्कृतिको संरक्षणसहित समाजमा सचेतना अभिवृद्धिमा प्रतियोगिता अत्यन्तै फलदायी भएको आयोजक संस्थाका अध्यक्ष बुढाथोकीले दाबी गरे ।

  • तेह्रथुममा श्रीमानद्वारा श्रीमतीको हत्या

    तेह्रथुममा श्रीमानद्वारा श्रीमतीको हत्या

    तेह्रथुम । तेह्रथुमको म्याङ्लुङ नगरपालिका-६ मा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । ४६ वर्षीय दीपक लिम्बुले घरायसी विवादका क्रममा ५४ वर्षीया श्रीमती सुवासकुमारी लिम्बुको हत्या गरेका हुन् ।

    सोमबार साँझ करिब ७ बजे दिपकले श्रीमती सुवासकुमारीलाई सिकल प्रहार गरेका थिए । धारिलो हतियार प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले दिपकलाई पक्राउ गरेको छ । मृतकको शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ ।

  • तेह्रथुमका खापुङले सम्हाले कोशी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी

    तेह्रथुमका खापुङले सम्हाले कोशी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी

    विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख फेरिएका छन् । तेह्रथुमको मोराहाङ घर भएका डीआइजी चन्द्रकुबेर खापुङले बुधबार कोशी प्रदेश प्रहरी कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका हुन् ।

    विराटनगरस्थित कोशी प्रदेश प्रहरी कार्यालयका डीआईजी राजेशनाथ बाँस्तोलाको प्रहरी प्रधान कार्यालय अन्वेषण, योजना तथा विकास निर्देशनालयमा सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले बाँस्तोलाको ठाउँमा खापुङलाई पठाएको हो ।

    खापुङ, अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा टङ्गालमा कार्यरत थिए । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङका भतिजासमेत रहेका उनी आफ्नै प्रदेशको प्रहरी प्रमुख बनेर आएका हुन् । प्रहरी निरीक्षक पदबाट प्रहरी सेवामा प्रवेश गरेका उनी सेवामा प्रवेश लगत्तै मोरङमा लामो समय बसेका थिए । उनले जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी, इलाका प्रहरी कार्यालय बेलबारी र उर्लावारीमा बसेर काम गरिसकेका छन् ।

    कोशी प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण गरेपछि उनले प्रहरी आचरण र व्यवहारमा सुधार ल्याई कानूनको परिधिमा रहेर आ–आफ्नो पदीय जिम्मेवारी वहन गर्न प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।

    समाजमा शान्तिसुरक्षा कायम राख्न अहोरात्र खटिई जनचाहना बमोजिमको प्रहरी सेवा प्रदान गर्न उनले निर्देशन दिएका छन् ।

  • तेह्रथुमको म्याङलुङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

    तेह्रथुमको म्याङलुङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

    सांकेतिक तस्वीर

    तेह्रथुम । तेह्रथुमको म्याङलुङ नगरपालिका–१० मा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । म्याङलुङबाट जिरीखिम्तीतर्फ जाँदै गरेको को.१४ प ८९२ नम्बरको मोटरसाइकल आइतबार साँझ दुर्घटना भएको हो ।

    दुर्घटनामा परी मोटरसाइकल चालक म्याङलुङ नगरपालिका–८ का २२ वर्षीय संगम तामाङ र पछाडि सवार सोही स्थानका २५ वर्षीय सविन लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा तामाङ र लिम्बू गम्भीर घाइते भएका थिए ।

    उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल म्याङलुङ लगिएको थियो । उपचारकै क्रममा दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

  • तेह्रथुममा लडेर एक जनाको मृत्यु

    तेह्रथुममा लडेर एक जनाको मृत्यु

    सांकेतिक तस्वीर

    तेह्रथुम । तेह्रथुममा आज अपरान्ह लडेर एक जनाको मृत्यु भएको छ । लालीगुराँस नगरपालिका–८ सुङनाममा लडेर स्थानीय ४८ वर्षीय पदमबहादुर लिम्बुको मृत्यु भएको हो ।

    उनी गाउँबाट बोरामा आलु बोकेर घर फर्किदै थिए । सोही क्रममा चिप्लिएर सडकबाट करिब ८ मिटर तल खसेका हुन् । खोलामा झरेको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

    मृतकको शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ ।

  • तेह्रथुममा करेन्ट लागेर वृद्धाको मृत्यु

    तेह्रथुममा करेन्ट लागेर वृद्धाको मृत्यु

    सांकेतिक तस्वीर

    तेह्रथुम । तेह्रथुममा करेन्ट लागेर आज बिहान एक वृद्धाको मृत्यु भएको छ । आफ्नै घरमा करेन्ट लाग्दा म्याङलुङ नगरपालिका–३ नागदहकी ८४ वर्षीया बाटुलीदेवी विश्वकर्माको मृत्यु भएको हो ।

    घरको मूल ढोका खोल्ने क्रममा उनलाई अचानक करेन्ट लागेको बताइएको छ । करेन्ट लाग्दा घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

    मृतकको शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ ।

  • तेह्रथुममा आगोले जलेर आमा-छोराको मृत्यु, सात जना घाइते

    तेह्रथुममा आगोले जलेर आमा-छोराको मृत्यु, सात जना घाइते

    तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिका–३ पञ्चकन्यामा बिहिबार दिउँसो आगोमा जलेर आमा-छोराको मृत्यु भएको छ । आगो निभाउने क्रममा सात जना घाइते भएका छन् ।

    बनमा लागेको आगो बस्तीमा पस्दा जलेर स्थानीय ५० वर्षीया दिलकुमारी भुजेल र उनका छोरा १४ वर्षीय भुपेन्द्रको मृत्यु भएको तेह्रथुमका प्रहरी प्रमुख डीएसपी राजन चापागाँईले जानकारी दिए । ‘आगोमा जलेर आमा-छोराको मृत्यु भएको छ, घाइतेलाई उपचारका लागि पठाएका छौं,’ डीएसपी चापागाँईले संगालोखबरसँग भने, ‘आगो अझै नियन्त्रण भएको छैन, बस्तीमा आगो थप फैलन नदिनका लागि रोकथामको काम भइरहेको छ ।’

    गढी सल्लेरी सामुदायिक वनमा लागेको आगो वस्तीमा पस्दा दिउँसो करिब ३ बजे घटना भएको हो । दिलकुमारी र उनका छोरा घर नजिकै बारीमा काम गरिरहेका थिए । आगो आएपछि जोगिन भाग्ने क्रममा उनीहरु जलेका हुन् । आगो निभाउने क्रममा स्थानीय ६० वर्षीय देवेन्द्र नेवार, १७ वर्षीय प्रकाश तामाङ, १६ वर्षीय युवराज श्रेष्ठ र १५ वर्षीय ओम श्रेष्ठ घाइते भएका छन् । आगो निभाउने क्रममा निसासिएर थप तीन जना बेहोस भएका छन् । घाइतेहरूलाई उपचारका लागि छथर अस्पताल लगिएको छ । घाइते मध्ये देवेन्द्रको अवस्था गम्भीर छ । उनको हात र खुट्टा जलेको छ ।

    बस्तीमा पसेको आगोले चार वटा घर जलेका छन् । स्थानीयवासी र प्रहरीले आगो नियन्त्रणको प्रयास गरिरहेका छन् । आगो नियन्त्रणका लागि सो क्षेत्रमा एक सय भन्दा बढी प्रहरी खटाइएको डीएसपी चापागाँईले जानकारी दिए । बन क्षेत्रमा हिजो देखिनै आगो लागेको हो । कसरी आगलागी सुरु भयो भन्ने खुलेको छैन । 

  • तेह्रथुममा भोट हाल्न गएका बृद्धको मतदान केन्द्रमै मृत्यु

    तेह्रथुममा भोट हाल्न गएका बृद्धको मतदान केन्द्रमै मृत्यु

    तेह्रथुम । तेह्रथुममा मतदान गर्न गएका एक बृद्धको मतदान केन्द्रमै मृत्यु भएको छ । लालिगुराँस नगरपालिका ८ सोल्मास्थित रत्न माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा भोट हाल्न पुगेका स्थानीय ८८ वर्षीय योङहाङ दीप लिम्बूको मृत्यु भएको हो ।

    उनी मतदान केन्द्रको गेटमै बेहोस भएर लडेका थिए । उनको मृत्युको कारण खुलेको छैन । उनी उक्त रक्तचापका बिरामीसमेत रहेको बताइएको छ ।

  • तेह्रथुममा कोरोना संक्रमण बढेपछि २३ विद्यालय बन्द

    तेह्रथुममा कोरोना संक्रमण बढेपछि २३ विद्यालय बन्द

    सांकेतिक तस्वीर

    तेह्रथुम । तेह्रथुममा केही दिन यता पुनः कोरोना संक्रमण बढ्न थालेको छ । संक्रमण बढेपछि मेन्छ्यायेम गाउँपालिकाका २३ विद्यालय एक साताका लागि बन्द गरिएको छ । समुदायस्तरमा कोरोना संक्रमण देखिन थालेपछि न्यूनिकरणका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको मेन्छ्यायेम गाउँपालिकाले जनाएको छ ।

    विद्यालयका शिक्षक तथा विद्यार्थीहरुमा संक्रमण फैलन थालेपछि गाउँपालिकाको शिक्षा शाखाले विद्यालय बन्द गर्न सिफारिस गरेको थियो । शाखाको सिफारिसमा गाउँपालिकाले पालिका क्षेत्रभित्रका २ निजी र २१ सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरेको हो । विद्यालयमा भौतिक उपस्थितिमा हुने पढाई बन्द भएपछि त्यहाँका झण्डै २ हजार विद्यार्थीको पढाई प्रभावित भएको छ ।

    अहिले धेरै मानिसमा सुख्खा खोकी र ज्वरो देखिएको छ । लक्षण देखिएर स्वास्थ्य परीक्षणका लागि आएका ४० जनाको एन्टिजेन परीक्षण गर्दा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

  • तेह्रथुम ‘ढाकाको राजधानी’ घोषित

    तेह्रथुम ‘ढाकाको राजधानी’ घोषित

    तेह्रथुम । तेह्रथुम जिल्ला ‘ढाकाको राजधानी’ घोषित भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र म्याङलुङ नगरपालिकाले सोमबार तेह्रथुमको म्याङलुङमा एक कार्यक्रमको आयोजना गरी जिल्लालाई ‘ढाकाको राजधानी’ घोषणा गरिएको हो ।

    उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सचिव अर्जुनप्रसाद पोखरेलले तेह्रथुमलाई ढाका कपडा राजधानीको जिल्ला घोषणा गरे । म्याङलुङमा स्थानीय खानाका परिकार, स्थानीय सांस्कृतिक झाँकीसहितको घोषणा कार्यक्रम सम्पन्न भएको थियो । ढाका कपडाको प्रवद्र्धन गरी ढाका उद्योगको विकास गर्न र यहाँ उत्पादित ढाका कपडाको बजारीकरणमा सहयोग गर्ने उद्देश्यले जिल्लालाई ढाकाको राजधानी घोषणा गरिएको म्याङलुङ नगर प्रमुख सञ्जयकुमार तुम्बाहाम्फेले बताए ।

    विशेषगरी लिम्बू समुदायले अत्याधिक मात्रामा उत्पादन गर्ने ढाका पछिल्लो समय जिल्लाको आम्दानीको एक मुख्य स्रोत बनेको छ । यहाँ उत्पादित ढाका कपडाले तेह्रथुमे ढाकाको नामले बजारसमेत लिइरहेको छ । ढाका उत्पादनलाई बढाइ उद्योगका रूपमा विकसित गर्दै लैजान, ढाका कपडा बुन्ने सीप र कलालाई प्रचार–प्रसार गर्न, व्यवसायीकरण र विविधिकरण गर्न तथा तेह्रथुमको ढाकाको विशेष पहिचान स्थापित गर्न जिल्लालाई ढाकाको राजधानी घोषणा गरिएको हो ।

  • तेह्रथुममा निर्मित नागरिक सहायता कक्षको उद्घाटन

    तेह्रथुममा निर्मित नागरिक सहायता कक्षको उद्घाटन

    तेह्रथुम । जिल्ला प्रहरी कार्यालय तेह्रथुम परिसरमा रहेको नागरिक सहायता कक्ष भवनको आज उद्घाटन गरिएको छ । बिहान एक कार्यक्रमका बिच १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी.ले नवनिर्मित नागरिक सहायता कक्ष भवनको उद्घाटन गरेका हुन् ।

    उद्घाटन कार्यक्रममा बोल्दै प्रहरी नायव महानिरीक्षक बि.सी.ले गाँस, बासको उचित व्यवस्था भएसँगै प्रहरी कर्मचारीहरुमा काम गर्ने थप हौसला मिल्ने बताए । उनले अब आउने स्थानीय निर्वाचन त्रुटिरहित सम्पन्न गराउनका लागि तयार हुन र जिल्लाको शान्ति सुरक्षामा विशेष ध्यान प्रहरीहरुलाई निर्देशनसमेत दिएका छन् ।

  • तेह्रथुमको म्याङलुङ बजारमा आगलागी

    तेह्रथुमको म्याङलुङ बजारमा आगलागी

    तेह्रथुम । तेह्रथुम सदरमुकाम म्याङलुङ बजारमा आज बिहान आगलागी भएको छ । म्याङलुङ नगरपालिका–१ लोकतान्त्रिक चौकमा आगलागी भएको हो । आगलागीमा परी ५ वटा घर जलेको प्रहरीले जनाएको छ ।

    बिहान करिब ६ बजे स्थानीय अर्जुन अधिकारीको घरबाट आगलागी सुरु भएको हो । उनको घरमा श्राद्ध परेकाले बिहान सेलरोटी पकाउँने क्रममा चुल्होवाट आगो सल्किएको बताइएको छ । आगोले छिमेकका अन्य घरहरु पनि जलेका हुन् । आगो नियन्त्रणका लागि म्याङलुङ नगरपालिकाको दमकल खटिएको थियो ।

    दमकलको सहयोगमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीले दुई घण्टापछि करिब ८ बजे आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रवक्ता इन्सपेक्टर कोमल ठाकुरले जानकारी दिए । ‘आगो नियन्त्रणमा आइसकेको छ,’ इन्सपेक्टर ठाकुरले संगालोखबरसँग भने, ‘पूर्ण र आंशिक गरी पाँच वटा घर जलेका छन् । के–कति क्षति भयो भन्ने यकिन भइसकेको छैन । हामी क्षतिको विवरण संकलन गर्दैछौ ।’

    आगोले दुई वटा घर पूर्ण रुपमा जलेका छन् । तीन वटा घरमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ । आगोमा परेर घरधनी अर्जुन अधिकारी सामान्य घाइते भएका छन् । आगोले उनको अनुहारको केही भाग डढेको छ । घटनाको विस्तृत विवरण आउँन वाँकी छ ।

error: Content is protected !!