
विराटनगर । तेह्रथुमको आठराई गाउँपालिका-६ सिमखर्कमा धारिलो हतियार प्रहार गरी महिलाको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । प्रहरीले सोही स्थानका ३८ वर्षीय कृष्ण लिम्बुलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार बुधबार बिहान करिब १०ः४० बजे सोही स्थानकी ५१ वर्षीया रूपा कन्दङ्वा पन्धाकलाई कृष्णले धारिलो हतियार प्रहार गरेका थिए । धारिलो हतियार (बाम्फोक) प्रहारबाट रूपाको घटनास्थलमै मृत्यु भएको थियो ।
घटनापश्चात फरार भएका कृष्णलाई पाँचथरको हिलिहाङ गाउँपालिका-५ स्थित ससुरा काशिनाथ सुहाङको घरबाट राति ११ः३० बजे पक्राउ गरिएको तेह्रथुमका प्रहरी प्रवक्ता इन्स्पेक्टर काजीबहादुर बस्नेतले जानकारी दिए ।
पक्राउ परेका अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय तेह्रथुमको हिरासतमा राखी कर्तव्य ज्यान सम्बन्धी कसुरमा थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।

संगालोखबर 

















