
तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिका-६ सुदापस्थित पर्यटकीय सम्भावना बोकेको चाङ्लुङ गुफा ओझेलमा परेको छ । सडक सञ्जाल र आवश्यक पूर्वाधार विकाससँगै प्रचार–प्रसारको अभावमा उक्त गुफा ओझेलमा परेको हो ।
कोशी राजमार्ग अन्तरगत धनकुटाको सिधुवा बजारदेखि शुक्रबारे बजार हुँदै छथर गाउँपालिका-५ मार्सेसम्म १२ किलोमिटर पक्की सडक र त्यहाँबाट करिब तीन किलोमिटर कच्ची सडकबाट चाङलुङ गुफा पुगिन्छ ।
करिब ३८ रोपनी क्षेत्रफलमा फैलिएको यो गुफा १५० मिटर भन्दा लामो छ । गुफा साँगुरो भएकाले त्यो भन्दा पनि लामो हुनसक्ने स्थानीय सुन्दर लिम्बुले बताए । यहाँ गुफासँगै चाङलुङ देवी, मच्छिन्द्र देवीलगायत अन्य देवीदेवताको वासस्थान रहेको किंवदन्ती छ ।

ढुंगामाथी ढुंगाको थापक रहेकाले लिम्बु भाषामा चाङ्लुङ भन्ने गरिएको गुफा संक्षण समितिका उपाध्यक्ष काजिमान आँङ्खेवाले बताए । किंवदन्ती अनुसार प्राचीनकालमा गुफाबाट करिब चार किलोमिटर माथि रहेको दारे गौँडामा एक बिजुवानी र एक कुकुर गुफाभित्र पसेको पाइन्छ । तर कुकुर मात्र बाहिर निस्किएको र बिजुवानी भने गुफाभित्रै हराएको किंवदन्ती छ ।
गुफामा छिरेकी बिजुवानी नै चाङलुङ देवी र मच्छिन्द्र देवीमा परिणत भएको विश्वासका साथ स्थानीयले पूजाआजा गर्दै आएको आँङ्खेवाले बताए ।

गुफाको पर्यटन प्रवर्द्धनका लागि तीनै तहका सरकारले लगानी गरेको छथर गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बुले बताए । २०७५ यता पर्यटन प्रवर्द्धनका लागि करिब चार करोड रुपैयाँ खर्च भएको छ । पर्यटक आकर्षित गर्न प्रवेशद्वार, चट्टानको पहराको टुप्पोमा आश्रमलय, सिँढी मार्ग, रेलिङ, फलैँचा तथा पार्क जस्ता संरचना निर्माण गरिएको छ ।
तर कतिपय संरचना भने अझै निर्माणाधीन अवस्थामा रहेको उनले बताए । प्राकृतिक रूपमै अत्यन्त सुन्दर र अनौठो लाग्ने चाङ्लुङ गुफालाई पूर्वकै अब्बल पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य रहेको पालिका अध्यक्ष लिम्बुले बताए ।

गुफाभित्र धेरै ओढार भएकाले बाहिर निस्कने मार्ग पत्ता लगाउन कठिन हुने गरेको तेह्रथुम फेदापका कमल बुढाथोकीले बताए । उचित प्रकाश व्यवस्था र दिशानिर्देशन (एरो) राखिए गुफाभित्रको यात्रा सहज हुने स्थानीयको भनाइ छ ।
प्रकाश र एरोको व्यवस्था नहुँदा कतिपयलाई आएको बाटोबाटै फर्किनुपर्ने अवस्था रहेको आन्तरिक पर्यटक सदीक्षा खड्काले बताइन् । कतिपय पर्यटक भने अँध्यारो भित्री बाटो पहिल्याउँदै हिँड्नु नै गुफा भ्रमणको स्मरणीय अनुभव हुने बताउँछन् ।


सन्तोष सुवेदी/संगालोखबर 














