संगालोखबर


विराटनगर । तेह्रथुममा एक व्यक्तिलाई कुटपिट गरेको आरोपमा चार जना पक्राउ परेका छन् । आठराई गाउँपालिका-४ इवा ढोडेनीका ५५ वर्षीय धनपति प्रसाईँलाई कुटपिट गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । आठराई गाउँपालिका-५ छातेढुंगा अर्चले चिसापानीमा बिहीबार चार जनाको समूहले उनलाई कुटपिट गरेको आरोप छ ।

कुटपिटबाट घाइते भएका प्रसाईँको विर्ता सिटी अस्पताल झापामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय आठराईका प्रहरी निरीक्षक विशाल लिम्बुले जानकारी दिए । उनको अनुहार र कानमा चोट लागेको छ । देब्रे कानको केही भागमा आगोले जलेको छ ।

Advertisement

‘धकेल्दा खेरि आगोमा परेको भन्ने कुरा छ’, उनले संगालोखबरसँग भने, ‘आगो नै लगाएको हो हैन भन्ने खुल्न बाँकी छ । पक्राउ परेका चारै जनालाई जिल्ला पठाइएको छ । थप अनुसन्धानपछि खुल्छ ।’

फुटबल कार्यक्रम सकेर फर्किने क्रममा सामान्य विवाद हुँदा कुटपिट भएको खुलेको छ । मापसे गरेका कारण झगडा भएको खुलेको उनको भनाइ छ । प्रहरीले पक्राउ परेका व्यक्तिको नाम सार्वजनिक गरेको छैन ।

जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रवक्ता प्रमोद खड्काले आरोपितहरूलाई ल्याइसकेपछि थप अनुसन्धान अघि बढाइने जानकारी दिए । उनले संगालोखबरसँग भने, ‘आगो लगाउने प्रयास भनिएको छ । सबै कुरा खुल्न बाँकी छ ।’

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!