तेह्रथुम । तेह्रथुमको फेदाप गाउँपालिका-१ सिम्लेका एक व्यक्तिले मादक पदार्थ सेवन गरेर ‘बबन्डर’ मच्चाएका छन् । सोही वडाका अन्दाजी ४२ वर्षीय अमृत बहादुर बुढाथोकीले शुक्रबार मापसे गरेर छिमेकी दम्पती र पशु चौपायालाई खुकुरी प्रहार गर्नुका साथै विभिन्न स्थानमा आगजनी गरेका थिए ।
छिमेकी हरि बहादुर माझी र उनकी श्रीमती फुलमायालाई खुकुरी प्रहार गरेर बुढाथोकीले घाइते बनाएका थिए । बुढाथोकीले अर्का छिमेकी विजय निङलेकुको गोठमा प्रवेश गरी एक माउ भैंसी, पाडा-पाडी र तीन वटा बाख्रालाई पनि खुकुरी प्रहार गरेका थिए ।
त्यसपछि गाउँ पसेका उनले गाउँका विभिन्न ११ स्थानमा आगजनी गरेको वडाध्यक्ष मन बहादुर श्रेष्ठले जानकारी दिए । त्यसपछि भागेका बुढाथोकीलाई स्थानीय र पोक्लाङ प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले म्याङलुङ नगरपालिका-१० को मोरङ्गे बगरबाट पक्राउ गरेको थियो ।
भाग्ने क्रममा सख्त घाइते भएका बुढाथोकीलाई पक्राउ गरी उपचारका लागि फेदाप अस्पतालमा पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ । खुकुरी प्रहार बाट सख्त घाइते भएका माझी दम्पतीको धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्गम स्थानमा घटना भएको र अनुसन्धान थालिएको तेह्रथुमका प्रहरी नायब उपरीक्षक चिनीमाया तामाङले जानकारी दिइन् । अनुसन्धानपछि थप कुरा खुल्ने उनको भनाइ छ ।