
धनकुटा । संस्कृतिको उत्सवका रूपमा विभिन्न भाका हाल्दै गोरु नारेर खेत साउने, आली लगाउने र हातमा धानको बीउ लिएर पञ्चेबाजाको तालमा सामूहिक रूपमा बेठी लगाउने मौलिक परम्परा पछिल्लो समय लोप हुँदै गएको छ ।
मानो रोपेर मुरी फलाउने असार महिनामा किसानहरू खेतमा पसेर असारे भाकामा मायाप्रेम, प्रकृति, दुःखसुख र सामाजिक जीवनका अनुभव साटासाट गर्दै हिलो खेल्ने गर्दथे । तर, कृषि प्रणालीमा भित्रिएको आधुनिक प्रविधि, वैदेशिक रोजगारीतर्फ युवाको बढ्दो आकर्षण र सामूहिक कार्यसंस्कृति हराउँदै जाँदा यो परम्परा सङ्कटमा परेको हो ।
अहिलेको युवा पुस्ताले असारे गीत सुने पनि यसको अर्थ र महत्व भने कमलाई मात्र थाहा छ । संस्कृतिको प्रभाव, आधुनिक जीवनशैली र वैदेशिक रोजगारीप्रतिको आकर्षणले असारे भाका र बेठी लोप हुँदै गएको धनकुटा ताराबहादुर थापाले बताए ।

नयाँ पुस्तामा संस्कृति संरक्षणप्रति चासो घट्दै गएको उनको बुझाइ छ । अहिले कृृषि क्षेत्रमा नयाँ प्रविधि भित्रिएपछि गोरु नारेर साउने, बाउसे गर्ने प्रचलन कम हुँदै गएको छ । खेतमा बग्ने खोल्साको पानीको छङछङ आवाजसँगै गुञ्जिने असारे भाकामा रोपाहारहरूले आफ्ना भावना, माया प्रेम र वर्षभरिको दुःखसुख साटासाट गर्दथे ।
सामूहिक बेठी लगाउँदा खेतमा विशेष चहलपहल हुने गरेको थियो । बाउसेहरूले हिलो सम्याउने, केहीले पानी मिलाउने, कसैले ब्याडमा बिउ उखेल्ने र रोपाहारहरूले लहर मिलाएर असारे भाकासँगै रोपाइँ गर्दा छुट्टै रौनक हुन्थ्यो ।

नौमती बाजा, दर्जनौँ हल गोरु, सयौँ रोपाहार र बाउसेहरूले एकै दिन रोपाइँ गरेर पर्वका रूपमा मनाउने चलन आजभोलि दुर्लभ जस्तै भएको छ । अहिले रोपाइँ गर्न मान्छे समेत पाउन छाडेका छन् ।
पुस्तौँदेखि चल्दै आएको बेठी र असारे भाकाको मौलिक परम्परा मुस्किलले देख्न पाइन्छ । धनकुटाको महालक्ष्मी नगरपालिकाका-१ कटहरेमा भने बेठीको संरक्षण गरेको पाइएको छ ।

बहुजाति बसोबास रहेको सय ठाउँमा करिब ७० घरपरिवार छन् । स्थानीय सन्देश कटवालको खेतमा बेठी लगाउन करिब ७० जनाभन्दा बढीको सहभागिता थियो । स्थानीय योगेश नेवारका अनुसार कटहरेका स्थानीयहरू वर्षैपिच्छे पालैपालो सामूहिक बेठी लगाउँदै आएका छन् ।
कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र राना मगरले बेठी लगाउने लगायत संस्कृति संरक्षणका केही प्रयास भइरहेको बताए । पहिलेको जस्तो संस्कृति झल्किने खालको बेठी र असारे भाका फर्काउन नसके पनि संरक्षणको प्रयास गरिरहेको उनको भनाइ छ ।


सन्तोष सुवेदी/संगालोखबर 

















