गोमा ढुंगाना/संगालोखबर


विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगन्जमा गएराती दुई समुहबीच भएको झडपका क्रममा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । घटनामा १६ जना घाइते भएका छन् । 

गोली लागेर देवानगञ्ज-३, कप्तानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको हो । गोली लाग्दा घाइते भएका मेहतालाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल ल्याइएको थियो ।

Advertisement

उपचारकै क्रममा राती उनको मृत्यु भएको प्रहरीले जनाएको छ । झडपमा ८ जना प्रदर्शनकारी र ८ जना प्रहरी पनि घाइते भएका छन् । विराटनगरस्थित कोशी अस्पताल, न्यूरो अस्पताल र विराट नर्सिङ होममा घाइतेहरूको उपचार भइरहेको छ ।

प्रहरीका अनुसार साउने सोमबारको बोलबम यात्राका लागि एउटा समूह डिजे बजाउँदै सप्तकोसी नदीतर्फ जाने तयारीमा थियो । सोही क्रममा अर्को समूहले होहल्ला भएको भन्दै विरोध गरेपछि सुरु भएको विवादले उग्ररूप लिएको हो ।

झडपका क्रममा कप्तानगन्ज बजारका घर, औषधिपसल, सबारीसाधन लगायतमा पनि तोडफोड र आगजनी गरिएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र हवाई फायर पनि गरेको थियो ।

यसैबीच, घटनाले उग्ररूप लिएपछि स्थानीय प्रशासनले आज बिहानबाट सो क्षेत्रमा कफ्‌र्यु आदेश जारी गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!