Category: धनकुटा

  • लेगुवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्री घाइते

    लेगुवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्री घाइते

    सांकेतिक तस्वीर

    धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-५ लेगुवास्थित शिवरात्रिमा मोटरसाइकलको ठक्करबाट एक जना घाइते भएका छन् । शिवरात्रिबाट लेगुवा आउँदै गरेको बा ५४ प ७५९० नम्बरको मोटरसाइकलले आज बिहान ११ः४५ बजे स्थानीय माझी गाउँका ४३ वर्षीय पदम राईलाई ठक्कर दिएको हो ।

    बाटो पार गर्ने क्रममा राईलाई मोटरसाइकलले ठक्कर दिएको हो । ठक्करबाट राईको टाउकोमा गहिरो चोट लागेको छ । उनको अवस्था गम्भीर छ । उनलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ ।

    घटनापछि मोटरसाइकल र चालक स्थानीय २४ वर्षीय नविन सुवेदीलाई लेगुवा प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • धनकुटामा रुखबाट लडेर एक जनाको मृत्यु

    धनकुटामा रुखबाट लडेर एक जनाको मृत्यु

    सांकेतिक तस्वीर

    धनकुटा । धनकुटामा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । आज दिउँसो करिब ४ बजेको समयमा चौबिसे गाउँपालिका–७ किराँत चोकका ६५ वर्षीय मुसलमान लामाङको मृत्यु भएको हो ।

    घाँस झार्ने क्रममा लडेर गम्भीर घाइते भएका तामाङलाई तत्काल उपचारका लागि घरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा पठाइएको थियो ।

    उनको घोपा पुर्याउनासाथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । तामाङ २१ वर्षदेखि तालेजोङ चेम्जोङको घरमा बस्दै आएका थिए । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रवक्ता खनालले बताए ।

  • धनकुटा नगरमा आइतबार शोक बिदा

    धनकुटा नगरमा आइतबार शोक बिदा


    धनकुटा । धनकुटा नगरपालिकाले आइतबार शोक बिदा दिएको छ । बिहीबार राति भएको पिकअप दुर्घटनामा नगरपालिकाका सफाइकर्मी प्रमोदकुमार मल्लिकको मृत्यु भएपछि नगरपालिकाले शोक बिदा दिएको हो ।

    प्रमुख प्रशासकीय अधिकृत दशरथ राईले शुक्रबार सूचना जारी गर्दै २८ गते आइतबार धनकुटा नगरपालिका कार्यालय तथा वडा कार्यालय बन्द रहने निर्णय भएको उल्लेख गरेका छन् ।

    सिराहाको लाहान घर भएका मल्लिकको पाख्रीबास नगरपालिका-३ जोउटारमा भएको दुर्घटनामा घटनास्थलमै मृत्यु भएको थियो । सो दुर्घटनामा पिकअप चालक पाख्रीबास नगरपालिका-९ उत्तरपानीका ३९ वर्षीय शुक्रबहादुर तामाङको पनि मृत्यु भएको थियो ।

  • धनकुटाको पाख्रीबासमा पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु

    धनकुटाको पाख्रीबासमा पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु


    धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका-३ जोउटारमा सुँगुर बोकेको पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पिकअप चालक पाख्रीबास नगरपालिका–९ उत्तरपानीका ३९ वर्षीय शुक्रबहादुर तामाङ र सह-चालक लहान नगरपालिका-५ सिराहाका २४ वर्षीय प्रमोद मल्लिकको मृत्यु भएको हो ।

    मल्लिकको घटनास्थलमै मृत्यु भएको थियो । तामाङलाई जिल्ला अस्पताल धनकुटा पुर्‍याउनसाथ चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।

    बिहीबार राति करिब सवा ९ बजे पाख्रीबास आउँदै गरेको को १ ज २६३९ नम्बरको पिकअप सडकबाट करिब १५० मिटर तल खसेर दुर्घटना भएको हो । तीनवटा सुँगुर भने जीवितै रहेका छन् । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटामा राखिएको छ ।

    ‘तीन वटा सुँगुर लिएर बोलेरो हिले तर्फ आउँदै थियो’, प्रवक्ता खनालले संगालोखबरसँग भने, ‘दुर्घटनाको कारण खुल्न बाँकी छ । थप अनुसन्धान भइरहेको छ ।’

  • धनकुटाको राजारानीमा चौबिसे रनिङ कप फुटबल हुने

    धनकुटाको राजारानीमा चौबिसे रनिङ कप फुटबल हुने


    धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकामा खुला पुरुष तथा महिला छैटौँ रनिङ चौबिसे कप फुटबल प्रतियोगिता हुने भएको छ । आज आयोजक चौबिसे गाउँपालिकाले पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताको बारेमा जानकारी दिएको हो ।

    चौबिसे गाउँपालिका-२, मुढेबास स्थित त्रिवेणी खेल मैदानमा आगामी माघ १ देखि ४ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगितामा चौबिसे गाउँपालिका भित्रका पुरुष र महिलाको ८/८ टिमको सहभागी हुनेछन् ।

    पुरुषतर्फ प्रतियोगिताको विजेताले ६५ हजार र उपविजेताले ३५ हजार  नगदसहित ट्रफ्री र मेडल प्राप्त गर्ने छन् । यस्तै महिलातर्फ विजेताले ५० हजार र उपविजेताले ३५ हजार नगदसहित ट्रफी र मेडल पाउने छन् ।

    गाउँपालिका खेलकुद विकास समिति संयोजक तथा वडा नम्बर ८ का वडाध्यक्ष धनबहादुर लिम्बुले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए ।

  • भेडेटारबाट १६ किलो गाँजासहित पति-पत्नी पक्राउ

    भेडेटारबाट १६ किलो गाँजासहित पति-पत्नी पक्राउ

    सांकेतिक तस्वीर

    धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-६ भेडेटारबाट १६ किलो गाँजासहित दुई जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोली उनीहरूलाई पक्राउ गरेको हो ।

    सहिदभूमि गाउँपालिका-७ घर भएका ३९ वर्षीय निकेन्द्र राई र उनकी पत्नी ३० वर्षीया निशा राईलाई गाँजासहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक विष्णु खड्काले जानकारी दिए ।

    को ३३ प ९३०७ नम्बरको मोटरसाइकलमा धरानतर्फ जाँदै गरेको अवस्थामा शङ्का लागेर चेकजाँच गर्दा झोलामा लुकाएर राखेको अवस्थामा १६ किलो गाँजा फेला परेको खड्काले जानकारी दिए । उनीहरूलाई इलाका प्रहरी कार्यालय भेडेटारमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक खड्काले बताए ।

  • धनकुटाका उद्यमीको गुनासो : उत्पादनले उचित मूल्य र बजार पाउन सकेन

    धनकुटाका उद्यमीको गुनासो : उत्पादनले उचित मूल्य र बजार पाउन सकेन


    धनकुटा । धनकुटाका उद्यमीहरूले उत्पादन गरेका घरेलु वस्तुको उचित मूल्य र बजार नपाएको गुनासो गरेका छन् । आज घरेलु तथा साना उद्योग कार्यालय धनकुटाले गरेको औद्योगिक लगानी र रोजगारी सिर्जना विषयक अन्तरक्रिया कार्यक्रममा उद्यमीहरूले यस्तो गुनासो गरेका हुन् ।

    धनकुटा-७ का व्यवसायी सुनिलकुमार डङ्गोलले फर्निचर बनाउन राम्रो काठको अभाव रहेको बताए । उनले राम्रो काठको अभावमा राम्रो फर्निचर बेच्न नपाएको गुनासो गरे । ‘ऐन कानुनको समस्याले धनकुटामा भएका राम्रा, बलियो र लामो समयसम्म टिक्ने काठ सहज तरिकाले किन्न नपाउँदा समस्या भएको छ’, उनले भने, ‘यस तर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्ने अवस्था आएको छ ।’

    अनुदानले व्यवसाय फस्टाए पनि लामो समय टिक्न नसक्दा अनुदान खेर गइरहेको मासु व्यवसायी सङ्घ धनकुटाका अध्यक्ष अजित पाख्रिनले बताए । उनले वास्तविक व्यवसायीलाई अनुदान नदिएका कारण यस्तो अवस्था निम्तिएको उल्लेख गरे । जसले गर्दा ठूला र पुराना व्यवसाय बन्द हुने अवस्थामा पुगेकाले सम्बन्धित निकायले चासो देखाउन आवश्यक रहेको भन्दै उनले ध्यानाकर्षण गराए ।

    अन्य सहभागि किसानले बैंकले ऋण दिँदा एउटा ब्याजदर निर्धारण गर्ने गरेको र तिर्ने बेलामा दोब्बर बनाउने गरेको गुनासो गरे । तराइका बजारबाट सस्तो मूल्यका नाममा गुणस्तरहीन फलफूल तथा मासुजन्य वस्तु ल्याएर बेच्दा समेत घरेलु कार्यालय, नगरपालिका तथा उद्योग वाणिज्य सङ्घ मौन बसेको गुनासो पोखे ।

    धनकुटाका पोल्ट्री व्यवसायी सन्देश आठपहरियाले बाह्य जिल्लाबाट कुखुरा र अण्डा आयात हुँदा आफूहरू मारमा परेको उल्लेख गरे । यसको निगरानी नहुँदा व्यवसाय नै धरापमा परेको उनको भनाइ थियो । घरेलु तथा साना उद्योग कार्यालयका अनुसार धनकुटामा चार हजार दुई सय २८ वटा उद्योग रहेका छन् । तर पछिल्लो समय दैनिक दुईतीन वटा उद्योग खारेजी भइरहेका कार्यालयका प्रमुख माधव बाँस्कोटाले बताए ।

    उद्यमीलाई थप प्रोत्साहन गर्न कार्यलयले तालिमको आयोजना गर्दै आएको उनले सुनाए । उद्यमीलाई प्रोत्साहन गर्न धनकुटा नगरपालिका-६ स्थित अमलेटारमा रहेको औद्योगिकी ग्राममा ६२ वटा ब्लक बन्ने भनिएकोमा २४ वटा बनिसकेको उनले जानकारी दिए । उनका अनुसार अहिले १२ वटा ब्लक सञ्चालनमा रहेका र आगामी दिनमा उद्यमीको माग अनुसार अन्य कार्यक्रम ल्याइने बाँस्कोटाले बताए ।

    उनले व्यवसायी तथा उद्यमीको समस्या समाधान गर्न सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । धनकुटाका प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेलले धनकुटामै उत्पादन भएको सामग्री प्रयोग गर्न र धनकुटाकै प्राविधिकमार्फत मर्मत कार्य गर्न जिल्लाका सरकारी कार्यालयमा पत्राचार गरि कार्यान्वय गर्ने प्रतिवद्धता जनाए ।

    कार्यक्रममा जिल्लाभरिका उद्यमी तथा व्यवसायी, स्थानीय जनप्रतिनिधि, विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधीलगायतको उपस्थिति रहेको थियो ।

  • वडाको सहयोगमा विद्यार्थीलाई न्यानो कपडा 

    वडाको सहयोगमा विद्यार्थीलाई न्यानो कपडा 


    धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका-२ स्थित बालपञ्च माध्यमिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । विद्यालयको ६३ औं वार्षिकोत्सव तथा अभिभावक दिवसमा वडा कार्यालयले न्यानो कपडा वितरण गरेको हो ।

    बालविकास देखी कक्षा ९ सम्मका विद्यार्थीहरूलाई ट्रयाक सुट वितरण गरिएको वडाध्यक्ष चुडामणि पुलामीले बताए । चिसो मौसममा पनि पठनपाठनमा सहज होस् भन्ने उद्देश्यले एक सय ५० जना विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको वडाध्यक्ष पुलामीले जानकारी दिए ।

    पाख्रीबास नगरपालिका प्रमुख ज्ञानबहादुर गुरुङले नगरभित्रका उत्कृष्ट सामुदायिक विद्यालय र शिक्षकलाई सम्मान गर्ने नीति लिएको बताए । साथै विद्यालयमा स्काउट विकास र स्काउट सम्बन्धी गतिविधिका लागि ६ लाख रुपैयाँ बजेट विनियोजन गरेको उल्लेख गरे ।

    बालपञ्च माध्यमिक विद्यालयबाट २०८० मा उत्कृष्ट हुने शिक्षक राजन खनाल र शिक्षिका उर्मिला देउजालाई सम्मान गरिएको थियो । यस्तै २०८० को एसइईमा उत्कृष्ट जिपिए ल्याउने छात्रा हेमा गान्छाकी मगरलाई नगद एक हजारसहित प्रमाणपत्र र दोसल्लाले सम्मान गरिएको थियो ।

    यस्तै समाजसेवी तथा पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जङ्गबहादुर तामाङलाई सम्मान गरिएको छ । सिंह बहादुर बरुवाल स्मृति अक्षयकोषबाट कक्षा ७ मा अध्ययनरत छात्रा सोफिया तामाङ र सुजता स्मृति अक्षयकोषबाट कक्षा ८ मा अध्ययनरत छात्रा रश्मि श्रेष्ठ र इच्छा रानालाई नगद एक/एक हजारले सम्मान गरिएको विद्यालयका सूचना अधिकारी चेतन खनालले जानकारी दिए ।

    यसैगरी विभिन्न सांस्कृतिक कार्यक्रम तथा खेल प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो ।

  • धनकुटाबाट लागूऔषधसहित चार जना पक्राउ

    धनकुटाबाट लागूऔषधसहित चार जना पक्राउ

    सांकेतिक तस्वीर

    धनकुटा । धनकुटाबाट लागूऔषध खैरो हेरोइनसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार दिउँसो छथर जोरपाटी गाउँपालिका-६ सिधुवा बजारबाट बसन्तपुरतर्फ जाँदै गरेको को २६ प ९२९० नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

    मोटरसाइकल चालक तेह्रथुमको लालिगुराँस नगरपालिका-२ बसन्तपुरका ३२ वर्षीय विकास श्रेष्ठ र मोटरसाइकल पछाडि सवार मेन्छयायेम गाउँपालिका-६ थाम्ब्रेनका २६ वर्षीय राजिव सम्ब्रहाम्फेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    यस्तै उनीहरूलाई लागूऔषध बेच्ने धनकुटा नगरपालिका-१ हिलेका २५ वर्षीय केवल तामाङ र सोही स्थानका २८ वर्षीय सुजन तामाङलाई पनि नियन्त्रणमा लिएको धनकुटाका प्रहरी निरीक्षक विष्णु खड्काले जानकारी दिए ।

    उनीहरूलाई आइतबार दिउँसो नै दिलबहादुर लिम्बुको भान्साघरमा बसेको अवस्थामा प्रहरी चौकी हिलेले नियन्त्रणमा लिएको हो । प्रहरी निरीक्षक खड्काका अनुसार चारैजनाको साथबाट २९० मिलिग्राम लागूऔषध बरामद गरिएको छ ।

    अहिले चारैजनालाई म्याद थप गर्नका लागि जिल्ला अदालत धनकुटा लगिएको प्रहरी निरीक्षक खड्काले संगालोखबरलाई जानकारी दिए ।

  • नेपालमा खोरेत रोगबाट वार्षिक ६ अर्बको क्षति

    नेपालमा खोरेत रोगबाट वार्षिक ६ अर्बको क्षति


    धनकुटा । नेपालमा खोरेत रोगबाट वार्षिक ६ अर्ब बढीको क्षति हुने गरेको पाइएको छ । आज भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनकुटाले आयोजना गरेको जिल्लास्तरीय खोरेत रोग नियन्त्रण रणनीति कार्यान्वयन सम्बन्धी सरोकारवालाहरूसँगको छलफलमा सो कुरा बताइएको हो ।

    पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय विराटनगरका वरिष्ठ पशु विकास अधिकृत गङ्गाराम यादवले नेपालमा खोरेत रोगबाट वार्षिक ६ दशमलब ४४ अर्ब क्षति हुने गरेको जानकारी दिए ।

    त्यस्तै खोरेत रोगबाट वार्षिक ३२ प्रतिशत दुग्धजन्य उत्पादन घाटा हुँदा अन्य देशमा निर्यातमा समस्या भएको उनले बताए । २०३० सम्ममा खोरेत रोग नियन्त्रण गर्न सङ्घ, प्रदेश र स्थानीय सरकार लागिपरेको उनको भनाइ छ ।

    प्रदेश सांसद तथा पूर्वमन्त्री निरन राईले खोरेत रोग नियन्त्रणका लागि आफ्नो तर्फबाट खेल्नु पर्ने भूमिका खेल्ने बताए । खोरेत रोगले कृषकलाई समस्यामा पारेको बताउँदै यसको समाधानका लागि आफूले पनि पहल गरिरहेको उनको भनाइ थियो ।

    धनकुटाका किसानले खोरेत रोग नियन्त्रणका लागि नियमित खोप कार्यक्रम सञ्चालन गर्न र प्राविधिक सहयोग बढाउन माग गरेका छन् । जिल्लास्तरीय खोरेत रोग नियन्त्रण रणनीति कार्यान्वयन सम्बन्धी स्थानीय सरोकारवालाहरूसँग छलफल कार्यक्रममा किसानले प्रभावकारी ढङ्गले काम गर्नुपर्ने बताएका हुन् ।

    जसले गर्दा सहजताका साथ आफूले उत्पादन गरेको दुग्धजन्य पदार्थ बेच्न सहज हुने उनीहरूको भनाइ छ । धनकुटा नगरपालिकाका कृषक रामकुमारी राईले आफूले अपेक्षा गरे अनुसारका कार्यक्रम नपाएको बताइन् । उनले किसानको घर-घरमा खोरेत नियन्त्रणको अभियान चाल्नुपर्ने उल्लेख गरिन् । उनले वास्तविक किसानलाई अनुदान उपलब्ध गराउन समेत ध्यानाकर्षण गराइन् ।

    छथर जोरपाटी गाउँपालिका-६ का कृषक युवराज थापाले खोरेत रोगका कारण ठूलो क्षति ब्यहोर्नु परेको सुनाए । चर्को ब्याजदरले किसान मारमा परिरहेको भएपनि दुग्धजन्य बस्तुले उचित मूल्य नपाएको उनको भनाइ थियो ।

    कार्यक्रममा जिल्लाभरिका पशुपालक किसान, पशु चिकित्सक, स्थानीय जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । खोरेत रोगले पशुपालन क्षेत्रमा पार्ने प्रभाव र यसको रोकथामका लागि अपनाउनुपर्ने उपायहरू बारे विस्तृत छलफल भएको छ ।

  • नेल्टा धनकुटाको अध्यक्षमा पौडेल निर्वाचित

    नेल्टा धनकुटाको अध्यक्षमा पौडेल निर्वाचित


    धनकुटा । नेपाल अंग्रेजी भाषा शिक्षक सङ्घ (नेल्टा) धनकुटाको अध्यक्षमा हरिप्रसाद पौडेल निर्वाचित भएका छन् । ६० औं शाखा विस्तार कार्यक्रमको अवसरमा नेल्टाको नव निर्मित समिति गठन भएको हो ।

    समितिको उपाध्यक्षमा दीपक निरौला, सचिवमा नरबहादुर विश्वकर्मा, सह-सचिवमा कला काफ्ले, कोषाध्यक्षमा रमेश पौडेल निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरूमा ध्रुव पौडेल, श्याम सुवेदी, पारस मगर, टिकाराम कार्की, बद्री बजगाईं र यशोदा सुवेदी निर्वाचित भएका छन् ।

    नेल्टा नेपाली अंग्रेजी शिक्षाको विकासका लागि सन् १९९२ मा स्थापन भएको गैरनाफामूलक संस्था हो । सोही अनुसार धनकुटामा पनि नेपाली विद्यार्थी एवम् शिक्षकहरूलाई अन्तर्राष्ट्रिय स्तरको अंग्रजी सुनाई, बोलाई र लेखाइमा गुणस्तर कायम गर्न संस्था स्थापना गरिएको निर्वाचित सचिव विश्वकर्माले जानकारी दिए ।

    विशेष गरेर अंग्रेजी शिक्षकहरूको पेशागत विकास गरेर शैक्षिक सुधारमा टेवा पुर्याउने उद्देश्यले संस्था गठन गरिएको उनको भनाइ छ । कार्यक्रममा कोशी प्रदेश सांसद तथा पूर्व मन्त्री निरन राई, शिक्षा विकास तथा समन्वय इकाई धनकुटाका प्रमुख मोहन राई र नेल्टा प्रमुख डा. लक्ष्मण ज्ञवालीको उपस्थित थिए ।

    यस्तै पूर्व नेल्टा प्रमुख हेमराज दाहाल, नेल्टा प्रदेशका प्रमुख गुणराज नेपाल, उपाध्यक्ष चेतन निरौला र महासचिव रबिन बराल लगायत जिल्लाका एक सय ११ जना शिक्षकहरूको उपस्थिति रहेको थियो ।

  • धनकुटाको डाँडाबजारमा ढुङ्गा उत्खनन गर्दा सडकमाथिबाट खस्यो पहिरो, बस्ती जोखिममा 

    धनकुटाको डाँडाबजारमा ढुङ्गा उत्खनन गर्दा सडकमाथिबाट खस्यो पहिरो, बस्ती जोखिममा 

    धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-५ डाँडाबजारमा मेसिनले ढुङ्गा काट्ने क्रममा पहिरो झरेको छ । बिहीबार बिहानका राती करिब २ बजेतिर खसेको पहिरोले भेडेटार-राजारानी सडकखण्ड अवरुद्ध भएको छ भने सडक मुनीको बस्ती पनि जोखिममा छ ।

    सडक माथिको ढुङ्गा काट्दा थर्किएर पहिरो गएको प्रहरी चौकी डाँडाबजारका बरिष्ठ हबल्दार नारायण कटवालले जानकारी दिए । ‘सवारी साधन वैकल्पिक बाटो हुँदै गन्तव्य तर्फ गइरहेका छन्’, खड्काले संगालोखबरसँग भने, ‘जेसिवी प्रयोग गरेर पहिरो हटाउने काम भइरहेको छ ।’

    ढुङ्गा काट्दा जमिन थर्किएर चिरा-चिरा परेको उनले जानकारी दिए । ‘जेसिवी माथि गएर चिरा भएको भाग हटाउने काम गरिरहेको छ’, उनले भने, ‘माथिबाट झारेको माटो सडकमा नै थुपारिएको छ । माटो फ्याँकेपछि सडक सञ्चालनमा आउँछ ।’

    सडकदेखि तल बस्ती भएकाले ढुङ्गा झर्दा जोखिम निम्तिन सक्ने उनको भनाइ छ । बस्तीलाई जोखिम नहोस् भनेर स्कुलको होस्टेलमा बस्ने ब्यवस्था मिलाइए पनि स्थानीय नगएको उनले बताए ।

    ‘हामीले सम्झाउने काम गरेका छौँ’, उनले भने, ‘राति पहिरो जानसक्छ भनेर सम्झाएका छौँ । कहिले यतै बस्नुहुन्छ, कहिले उता पनि बस्नुहुन्छ ।’  वडाध्यक्ष खड्गबहादुर लिम्बुले ढुङ्गा कटिङ गर्दा थर्किएर पहिरो गएको जानकारी दिए ।

    ‘चिरिए जोखिम भएको सबै जेसिवी प्रयोग गरेर हटाउने काम भइरहेको छ’, वडाध्यक्ष लिम्बुले संगालोखबरसँग भने, ‘अब बस्तीलाई त्यति धेरै जोखिम छैन ।’

  • भेडेटार फुड फेस्टिभलमा डेढ करोडको कारोबार

    भेडेटार फुड फेस्टिभलमा डेढ करोडको कारोबार


    धनकुटा । धनकुटाको भेडेटारमा सम्पन्न १२ औं फुड फेस्टिभल अर्थात खाना महोत्सवमा डेढ करोडको कारोबार भएको छ । होटल एशोसियसन भेडेटारको आयोजनामा पुस १६ गतेबाट तीन दिनसम्म सञ्चालन भएको फेस्टिभलमा डेढ करोड बराबरको कारोबार भएको हो ।

    दुई करोड आर्थिक कारोबार हुने लक्ष्य राखिए पनि डेढ करोडको कारोबार भएको होटल एशोसिएसन भेडेटारका अध्यक्ष तुलराज लिम्बूले जानकारी दिए ।

    ‘४० देखि ५० हजार आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य राखिएको थियो’, उनले भने, ‘४० हजार बढी पर्यटक आउनुभयो । जसमा भारतीय र आन्तरिक हुनुहुन्छ । जुन उद्देश्यले फेस्टिभल आयोजना गरिएको हो, लगभग लक्ष्य पुरा भयो ।’

    फेस्टिभलले स्थानीय परिकार, अर्गानिक उत्पादन तथा विभिन्न सामग्रीको प्रचारमा थप टेवा पुगेको अध्यक्ष लिम्बूले उल्लेख गरे । तीन दिनको प्याकेज बनाएर विभिन्न स्थानमा पर्यटकलाई घुमाउने योजना फेस्टिभलमा पहिलो भएको र यो अन्य समयमा पनि जारी रहने बताए । ‘यो प्याकेजको बारेमा पनि धेरैले सोध्नुभयो,’ उनले थपे, ‘पहिलो पटक पनि हो । आगामी दिनका लागि यसले सहज बनायो ।’

    धनकुटाका स्थानीय निकायसँग पर्यटकीय गन्तव्यको प्रचारका लागि समन्वय भएपनि सोचेजति उपलब्धि हुन नसकेको उनको भनाइ छ । समय अभाव र स्थानीय तहले पर्यटकीय गन्तव्य, कला संस्कृति र उत्पादनको बारेमा जानकारी उपलब्ध गराउन नसक्दा सोचेजति उपलब्धि नभएको उनले बताए ।

  • धनकुटामा मासियो जुनार खेती

    धनकुटामा मासियो जुनार खेती


    धनकुटा । धनकुटामा व्यवसायिक रूपमा हुँदै आएको जुनार खेती मासिँदै गएको छ । चाइनिज सिटस फ्लाइ कीरा र सुडे पुतलीको प्रकोप बढ्दै गएपछि जुनार खेती मासिँदै गएको हो ।

    जुनार खेतीका लागि सिन्धुली र रामेछापपछि धनकुटा पनि प्रसिद्ध स्थान हो । एक दशक अघिसम्म प्रशस्त पाइने जुनार विभिन्न प्रकोपका कारण मासिँदै गएको धनकुटा-३ कागतेका किसान मीनबहादुर कार्कीले बताए । अहिले जुनारको ठाउँमा अन्य खेती गर्न थालिएको कार्कीको भनाइ छ ।

    दशक अघिसम्म धनकुटाबाट जुनार अन्य जिल्लामा निर्यात हुने गरेको थियो । जुनारलाई धेरै स्याहार गरिरहन नपर्ने भएकाले पनि किसानको जिविकोपार्जनमा महत्वपूर्ण योगदान पुर्याएको थियो ।

    अहिले विभिन्न अभियान चलाएसँगै प्रकोप नियन्त्रणमा आएको राष्ट्रिय सुन्तला जात अनुसन्धान केन्द्र धनकुटाका प्रमुख बसन्त चालिसेले बताए । ‘प्रकोप बढेपछि झरेका फललाई जम्मा गरि प्लाष्टिकमा प्याक गरेर खाल्डोमा पुर्ने काम भयो’, उनले भने, ‘बगैँचा उज्यालो राख्ने, किरा मार्ने सामूहिक अभियान चलाएपछि प्रकोप नियन्त्रणमा आएको छ ।’

    एक पटकको प्रकोपले मासिए पछि कृषकले चासो नदिएका कारण जुनार खेती मासिँदै गएको उनको भनाइ छ । नेपालमा जुनार खेतीको इतिहास झण्डै दुई सय ५० वर्ष पुरानो छ ।

    धनकुटामा भने राष्ट्रिय सुन्तला जात अनुसन्धान केन्द्र पारिपात्ले बाहेक अन्यत्र जुनार देखिन छाडेको छ । बिरुवा परिक्षण नगराई बगैँचामा ल्याएर रोपेपछि प्रकोप बढेको र एक बगैँचामा देखिएको कीरा नष्ट नगरेका कारण अन्यत्र सरेर बगान मासिएको विज्ञहरू बताउँछन् ।

  • धनकुटाको भेडेटारमा फुड फेस्टिभलको रौनक

    धनकुटाको भेडेटारमा फुड फेस्टिभलको रौनक

    धनकुटा । पूर्वी नेपालको प्रमुख पर्यटकीय स्थल धनकुटाको भेडेटारमा अहिले फुड फेस्टिभलको रौनक छ । अंग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर हरेक बर्ष झै यो वर्ष पनि आयोजना गरिएको फुड फेस्टिभल अर्थात खाना महोत्सवले भेडेटारको चिसो मौसमलाई तताएको छ ।

    पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले होटल एशोसिएसन भेडेटारले १२ औं भेडेटार फुड फेस्टिभल आयोजना गरेको हो । अङ्ग्रेजी नयाँ वर्ष २०२४ को अन्तिम दिन मङ्गलबार कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले उद्‌घाटन गरेपछि सुरु भएको महोत्सव बिहिबारसम्म सञ्चालन हुनेछ ।

    फेस्टिभलमा खानाका परिकारसहितका २५ वटा स्टल राखिएको छ । स्थानीय जातीय खानाका परिकार, अर्गानिक तरकारी तथा फलफूल, हस्तकला, कृषि तथा घरेलु सामग्री बिक्री तथा प्रदर्शनीमा राखिएको छ । हरेक साँझ भइरहेको सांस्कृतिक कार्यक्रमले फेस्टिभलको माहोल तताएको छ । फेस्टिभलमा विभिन्न जातीय झाँकीहरू पनि प्रस्तुत गरिएको छ ।

    तीन दिनसम्म चल्ने फेस्टिभलमा ५० हजार भन्दा वढी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याएर २ करोड भन्दा बढीको आर्थिक कारोबार गर्ने आयोजकको लक्ष्य छ । फेस्टिभल अवलोकन र खानाका परिकारको स्वाद चाख्‍न पूर्वी नेपालका विभिन्न जिल्लासहित छिमेकी मुलुक भारतबाट पनि ठूलो सङ्ख्यामा पर्यटकहरू आएका छन् ।

    अंग्रेजी नयाँ वर्षको अवसर पारेर हरेक साल भेडेटारमा यसरी नै फुड फेस्टिभल गरिदै आएको छ । फेस्टिभलले भेडेटारसहित आसपास क्षेत्रको पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने आयोजकको विश्वास छ ।

    भिडियो…

  • धनकुटाका ७७ प्रतिशत मानिस स्वास्थ्य बीमाको पँहुच बाहिर

    धनकुटाका ७७ प्रतिशत मानिस स्वास्थ्य बीमाको पँहुच बाहिर


    धनकुटा । धनकुटामा कुल जनसङ्ख्या मध्ये करिब ७७ प्रतिशत मानिस स्वास्थ्य बीमाको पहुँचभन्दा बाहिर रहेको पाइएको छ । स्वास्थ्य बीमा बोर्ड धनकुटाका अनुसार कुल जनसङ्ख्या मध्ये २३ प्रतिशत मानिस मात्रै स्वास्थ्य बीमाको पहुँचमा छन् ।

    एक लाख ५० हजार पाँच सय ९९ जनसङ्ख्या मध्ये ४९ हजार छ सय नौ जना मात्रै स्वास्थ्य बीमाको पहुँचमा छन् । जसमा २३ हजार नौ सय २८ पुरुष र २५ हजार छ सय ८१ जना महिला रहेका स्वास्थ्य बीमा बोर्ड धनकुटाकी प्रमुख सरिता बुढाथोकी बस्नेतले जानकारी दिइन् ।

    नेपाल सरकारले नागरिकको स्वास्थ्य उपचारमा सहज पहुँच पुर्याउने उद्देश्यले राष्ट्रिय बीमा नीति २०७१ बमोजिम आर्थिक वर्ष २०७२/०७२ बाट स्वास्थ्य बीमा सुरु गरेको थियो ।

    बीमा कार्यक्रम अन्तरगत पाँच जनाको परिवारले वार्षिक तीन हजार पाँच सय रुपैयाँ बुझाउनु पर्दछ । पाँच जनाभन्दा बढी सदस्य भएका थप सात सय रुपैयाँ बुझाउनुपर्ने हुन्छ । बीमा कार्यक्रम अन्तरगत पाँच जनाको परिवारले वार्षिक एक लाखसम्मको स्वास्थ्य उपचार सेवा उपभोग गर्न पाउने छन् ।

  • सुरु भयो १२ औं भेडेटार फुड फेस्टिभल 

    सुरु भयो १२ औं भेडेटार फुड फेस्टिभल 


    धनकुटा । धनकुटाको भेडेटारमा आजबाट १२ औं फुड फेस्टिभल अर्थात् खाना महोत्सव सुरु भएको छ । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले उद्‌घाटन गरेसँगै महोत्सव सुरु भएको हो ।

    उद्‌घाटन समारोहमा बोल्दै मन्त्री मण्डलले प्रदेश सरकारले पर्यटन वर्ष २०८२ को तयारी गरिरहेको बताए । पर्यटन क्षेत्रमा प्रदेश सरकारले विषेश प्राथमिकता दिएर काम गरिरहेको मन्त्री मण्डलको भनाइ थियो । ‘पर्यटकीय क्षेत्रमा लगानी बढाउन प्रदेश सरकारले कुनै पनि कसर बाँकी राख्दैन’, उनले भने, ‘हामी विशेष प्राथमिकता दिएर अगाडि बढिरहेका छौँ ।’

    कोशी प्रदेशका पूर्वमन्त्री तथा सांसद निरन राई, धरान उपमहानगरपालिका उपमेयर अईन्द्र विक्रम बेघा, साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दाली राई, उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजयसन्तोषी राई र धनकुटाका प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    होटल एशोसियसन भेडेटारको आयोजनामा सुरु भएको महोत्सव पुस १८ गतेसम्म सञ्चालन हुनेछ । कोशी प्रदेशको पूर्वी पहाडी जिल्लामा पर्ने भेडेटार मुख्य पर्यटकीय स्थल हो । यहाँ नेपालका विभिन्न जिल्लासहित छिमेकी देश भारतबाट पर्यटकहरू आउने गरेका छन् ।

    प्राकृतिक रूपमा सुन्दर भेडेटार मौसमका कारणले पनि आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ । भेडेटारसहित धनकुटाका सातवटै पालिकाको पर्यटन प्रवर्द्धनमा थप टेवा पुर्याउने उद्देश्यले फेस्टिभल आयोजना गरिएको आयोजक होटल एशोसिएसन भेडेटारका अध्यक्ष तुलराज लिम्बूले जानकारी दिए । 

    फेस्टिभलमा २५ वटा स्टल राखिएको छ । स्थानीय जातीय खानाका परिकार, अर्गानिक तरकारी तथा फलफूल, हस्तकला, कृषि तथा घरेलु सामग्री बिक्री तथा प्रदर्शनीमा राखिएको छ । फेस्टिभलमा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुती समेत रहने आयोजकले जनाएको छ ।

    तीन दिनसम्म चल्ने फेस्टिभलमा करिब ५० हजार बढी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ । जसमा २ करोड बराबरको आर्थिक कारोबार हुने आयोजकको अनुमान छ ।

    फेस्टिभलमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई विभिन्न पर्यटकीय स्थलको समेत भ्रमण गराउने आयोजकले जनाएको छ । सोही अवसरमा पर्यटकीय स्थलहरूको प्रचार-प्रसारमा सहयोग पुर्याएको भन्दै पत्रकारद्वय विनोद घिमिरे र गोविन्द बस्नेतलाई नगदसहित सम्मान गरिएको छ ।

  • धनकुटामा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ 

    धनकुटामा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ 

    सांकेतिक तस्वीर

    धनकुटा । धनकुटामा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । चौबिसे गाउँपालिका-२ का २५ वर्षीय मेख बहादुर लिम्बूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

    बालिकालाई ललाइफकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरी चौकी मुढेबासबाट खटिएको टोलीले सोमबार उनलाई नियन्त्रण लिएको हो ।

    चौबिसे गाउँपालिका-६ राजारानीको मिकलुक होटलमा लगेर पुस ८ गते बालिकालाई जबरजस्ती करणी गरेको उजुरी परेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक विष्णु खड्काले जानकारी दिए ।

    पक्राउ परेका लिम्बूलाई जिल्ला प्रहरी कार्यालय धनकुटामा राखिएको छ । थप अनुसन्धानका लागि आज अदालतबाट म्याद थप गर्ने तयारी भइरहेको प्रहरी निरीक्षक खड्काले संगालोखबरलाई जानकारी दिए ।

  • लागूऔषधसहित तीन जना पक्राउ

    लागूऔषधसहित तीन जना पक्राउ

    सांकेतिक तस्वीर

    झापा । कोशीका तीन जिल्लाबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । झापा, सुनसरी र धनकुटाबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । झापाको मेचीनगर नगरपालिका-६ बाट लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले एक जनालाई पक्राउ गरेको छ ।

    चेक जाँचको क्रममा झापा बुद्धशान्ति गाउँपालिका-४ का २१ वर्षीय पर्शुराम राईलाई २ ग्राम ३८० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

    सुनसरीको बराहक्षेत्र नगरपालिका-२ मा इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोलीले भोजपुर हतुवागढी-३ का २२ वर्षीय निकश राईलाई पक्राउ गरेको छ । उनलाई १ किलो ४ सय ग्राम गाँजासहित प्रहरीले पक्राउ गरेको हो ।

    यस्तै धनकुटाको सहिदभूमि-६ का २४ वर्षीय मिलन राईलाई १ किलोग्राम गाँजा र निषेधित औषधी ९ पिससहित इलाका प्रहरी कार्यालय छिन्ताङले पक्राउ गरेको छ ।

    पक्राउ परेकाहरूको सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

  • धनकुटाबाट भरुवा बन्दुक बरामद

    धनकुटाबाट भरुवा बन्दुक बरामद

    फाइल तस्बिर

    धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-९ गुराँसे डाँडाबाट प्रहरीले भरुवा बन्दुक बरामद गरेको छ । हिजो विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले नारायण बहादुर थापाको घरबाट बन्दुक बरामद गरेको हो ।

    प्रहरी चौकी जितपुरबाट खटिएको प्रहरी टोलीले गोठमा राखेको अवस्थामा भरुवा बन्दुकसहित पाँच सय ग्राम बारुद र एक सय ५० ग्राम छर्रा पनि बरामद गरेको धनकुटाका प्रहरी निरीक्षक विष्णु खड्काले जानकारी दिए ।

    थापा फरार रहेकाले खोजी कार्य भइरहेको उनले संगालोखबरलाई जानकारी दिए ।

  • धनकुटामा मोबाइल किन्दा गणेशले पाए टिभी उपहार

    धनकुटामा मोबाइल किन्दा गणेशले पाए टिभी उपहार


    धनकुटा । धनकुटाको मदन चोकस्थित मानव मोबाइल पसलमा मोबाइल किन्दा तेह्रथुमका गणेश पौडेलले टिभी उपहार पाएका छन् । दशैं अफरमा मोबाइल किनेका पौडेलले गोला प्रथाबाट टिभी उपहार पाएका हुन् ।

    तेह्रथुमको छथर जोरपाटी गाउँपालिका-१ सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापकसमेत रहेका पौडेलले १३ हजार मूल्य बराबरको स्मार्टफोन किनेका थिए । दशैंदेखि छठपर्वसम्म विभिन्न उपहारको अफर ल्याएको सो पसलले पौडेललाई कुपन प्रदान गरेको थियो ।

    सोही कुपनको आधारमा गोलाप्रथा मार्फत पौडेलले १८ हजार ५ सय मूल्य पर्ने ३२ इन्चको स्मार्ट टिभी उपहार पाएको मानव मोबाइल पसलका सञ्चालक रमेश पौडेलले जानकारी दिए । ‘नौ सय जनाले कुपन लिनुभएको थियो’, पसल सञ्चालक पौडेलले भने, ‘जसमध्ये गोलाप्रथा गर्दा उहाँ विजेता बन्नुभयो । अन्य पाँच जनाले पनि सान्त्वना पुरस्कार स्वरुप विभिन्न सामान पाउनु भएको छ ।’

    अहिले पनि पसलमा विभिन्न अफर चलिरहेको पसल सञ्चालक पौडेलले जानकारी दिए । उनले भने, ‘मोबाइल र टिभी एक्सचेन्ज भइरहेको छ । पुरानो सामान ल्याएर नयाँ लग्न सक्नुहुनेछ ।’

  • झमक घिमिरेलाई प्रलेस प्रतिभा पुरस्कार 

    झमक घिमिरेलाई प्रलेस प्रतिभा पुरस्कार 


    धनकुटा । धनकुटाकी साहित्यकार झमक घिमिरेलाई नेपाली प्रगतिशील लेखक सङ्घ (प्रलेस) ले नगदसहित सम्मान गरेको छ । आज एक कार्यक्रमका बीच प्रलेस केन्द्रिय समितिले साहित्यकार घिमिरेलाई नगदसहित सम्मान गरेको हो । नेपाली प्रगतिशील बाङ्मयको उन्नयनमा योगदान पुर्याएको भन्दै साहित्यकार घिमिरेलाई सम्मान गरिएको प्रलेसले जनाएको छ ।

    कार्यक्रमका प्रमुख अतिथि पूर्व सांसद तथा झमक घिमिरे प्रतिष्ठानका अध्यक्ष गोपाल गुरागाईं, धनकुटाका प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेल, धनकुटा नगरपालिका उपप्रमुख भिमादेवी खनाल, प्रलेस उपाध्यक्ष नमुना शर्मा लगायतले नगद २० हजार एक सय रुपैयाँसहित दोसल्ला र सम्मानपत्रले सम्मान गरेका थिए ।

    घिमिरेले नेपाली साहित्यमा तथा प्रगतिशील बाङ्मयको उन्नयनमा विशिष्ट योगदान पुर्याएको भन्दै ‘प्रलेस प्रतिभा पुरस्कार २०८१’ प्रदा नगरिएको प्रलेस उपाध्यक्ष नमुना शर्माले बताइन् ।

    वि.सं. २०३० साल असार २१ गते धनकुटाको कचिडेँमा जन्मिएकी घिमिरे प्रतिभावान् नेपाली साहित्यकार हुन् । उनको जन्मजात हातगोडा नचल्ने, उभिन, हिड्‌न नसक्ने र बोल्न नसक्ने उनी कान सुन्न र बुझ्न भने सक्छिन् । घिमिरेका दुईवटा खुट्टाको तिन वटा औँला चल्छन् । उनले तीनै औँलाको सहायतले लेख्छिन् ।

    २०५३ सालदेखि लेखन सुरु गरेकी उनले राष्ट्रिय तथा स्थानीय पत्रपत्रिकाहरूमा स्तम्भहरू लेखेकी छन् । उनका सङ्कल्प, आफ्नै चिता अग्नि शिखातिर, मान्छे भित्रका योद्धाहरू, झमक घिमिरेका कविताहरू लगायतका कृति प्रकाशित छन् ।

    यसैगरी अवसान पछिको आगमन लघु कथा पनि प्रकाशित छ । उनले कविता राम बाल साहित्य प्रतिभा पुरस्कार (२०५५), अस्वीकृत विचार साहित्य पुरस्कार (२०५६), लैनसिंह वाङ्देल पुरस्कार (२०७२), प्रबल गोरखा दक्षिण बाहु चौथोलगायत दर्जनौँ पुरस्कार एवं सम्मान प्राप्त गरेकी छन् ।

    उनले लेखेको आत्मकथा ‘जीवन काँडा की फूल’ सर्वाधिक चर्चित कृति हो । यही कृतिका लागि उनलाई २०६७ सालको मदन पुरस्कार प्रदान गरिएको थियो ।

  • धनकुटाबाट ६ वर्षमा रोजगारीका लागि ५४ हजार विदेशिए

    धनकुटाबाट ६ वर्षमा रोजगारीका लागि ५४ हजार विदेशिए


    धनकुटा । धनकुटाबाट एक वर्षको अवधिमा छ हजार बढी वैदेशिक रोजगारीमा गएका छन् । आप्रवासी स्रोत केन्द्रले अन्तराष्ट्रिय आप्रवासन दिवसको अवसरमा सरोकारवालाहरूसँग गरेको अन्तरक्रिया कार्यक्रममा विदेशिनेको तथ्याङ्क सार्वजनिक गरेको हो ।

    आर्थिक वर्ष २०८०/०८१ मा छ हजार तीन सय ५८ जना बैदेशिक रोजगारीमा गएका छन् । जसमा पुरुष पाँच हजार पाँच सय नौ र  महिला आठ सय ४९ जना रहेका छन् । केन्द्रको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/०८० मा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या सात हजार सात सय ८४ थियो । जसमा पुरुष छ हजार नौ सय एक र महिला आठ सय ८३ रहेका थिए ।

    अघिल्लो वर्षको तुलनामा २०८०/०८१ मा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या केही कम रहेको आप्रवासी स्रोत केन्द्रकी सूचना अधिकृत मञ्जु राईले बताइन् । धनकुटा नगरपालिकाले जिल्ला प्रशासन कार्यालयमा आप्रवासन स्रोत केन्द्र स्थापना गरेको छ ।

    जसले वैदेशिक रोजगारीमा जानेहरूका लागि सहजीकरण गर्दै आएको छ । त्यस्तै सेवा केन्द्रले वैदेशिक रोजगारीमा जाने तयारी गरिरहेकालाई रोजगार सम्बन्धी जानकारी दिनुका साथै समस्या परेकाहरूलाई सहजिकरण गर्ने गरेको छ ।

    २०७५ साल पुषमा स्थापना भएको आप्रवासी स्रोत केन्द्रले छ वर्षमा ५४ हजार सात सय ६४ जना युवायुवती वैदेशिक रोजगारीमा गएको जनाएको छ । जसमा ४८ हजार चार सय ३७ पुरुष र छ हजार तीन सय २७ महिला रहेका छन् ।

    धनकुटाका प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेलले जिल्लामा वैदेशिक रोजगारीमा जानेहरू ठगीमा परेको गुनासो धेरै आउने गरेको बताए । उनले यसका लागि स्वयम् व्यक्ति थप सचेत हुन आवश्यक रहेको बताए ।

    जिल्लाका सातवटै पालिकामा सचेतना कार्यक्रम सञ्चालन गर्ने र प्रशासनमा आउने सेवाग्राहीहरूलाई पनि वैदेशिक रोजगारी सम्बन्धी जानकारी दिँदै सचेत गराउने गरेको उनको भनाइ छ ।

    धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले वैदेशिक रोजगारीबाट फर्किएर यही केही गर्छु भन्नेलाई कृषिमा अनुदानका कार्यक्रम ल्याइएको बताए ।

  • धनकुटामा हायस दुर्घटना

    धनकुटामा हायस दुर्घटना

    फाइल तस्बिर

    धनकुटा । धनकुटा नगरपालिका-३ निगालेमा हायस दुर्घटना हुँदा दुई जना सामान्य घाइते भएका छन् । आज दिउँसो १ बजेतिर तेह्रथुमबाट राजविराज तर्फ जाने क्रममा प्र २-०१-००१ ख ०३१० नम्बरको हायस आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो ।

    २१ जना यात्रु सवार हायस दुर्घटना हुँदा दुई जना सामान्य घाइते भएका जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक विष्णु खड्काले जानकारी दिए ।

    राजविराज नगरपालिका-७ का २१ वर्षीय सन्तोष कुमार यादव र १८ वर्षीय अजय कुमार खंग घाइते भएका हुन् । ‘उनीहरूको हात र खुट्टामा सामान्य चोट लागेको छ’, खड्काले संगालोखबरसँग भने, ‘उपचारका लागि जिल्ला अस्पताल पठाइएको छ ।’

    अन्य यात्रुलाई गन्तव्यतर्फ पठाइसकिएको प्रहरी निरीक्षक खड्काले बताए । चालक सप्तरीका ३५ वर्षीय विष्णु रजक तत्काल फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । हायसको अगाडिको भाग बाटोमुनि पुगेको थियो ।

  • धनकुटा नगर सभाको १५ औं अधिवेशन सम्पन्न

    धनकुटा नगर सभाको १५ औं अधिवेशन सम्पन्न

    धनकुटा । धनकुटा नगर सभाको १५ औं अधिवेशन सम्पन्न भएको छ । धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङको अध्यक्षतामा भएको सभाले विभिन्न ऐनहरू पारित गर्नुका साथै नगर कार्यपालिकाका निर्णयहरू अनुमोदन गरेको छ ।

    सभाले धनकुटा नगरपालिकाको आर्थिक वर्ष २०८१/०८२ को संशोधित विनियोजन ऐन, दृष्टिबन्धक समस्या समाधान सम्बन्धी कार्यविधि, प्रज्ञा प्रतिष्ठान ऐन, खानेपानी सरसफाइ तथा स्वच्छता ऐन, राजस्व ऐन, सवारी तथा यातायात व्यवस्थापन ऐन, आधारभूत स्वास्थ्य (सञ्चालन तथा व्यवस्थापन) ऐन पारित गरेको छ ।

    त्यस्तै, २०८१ साउन १ देखि पुस ७ गतेसम्म नगर कार्यपालिकाले गरेका निर्णयहरू नगर सभाले अनुमोदन गरेको छ ।कार्यपालिकाबाट स्वीकृत भई सभामा पारित गर्नका लागि उपप्रमुख भीमादेवी खनालले संशोधित विनियोजन ऐन प्रस्तुत गरेकी थिइन् ।

    पारित कार्यविधि तथा ऐनहरू विधायन समिति सदस्यहरू रसबहादुर राई, कृष्णमाया श्रेष्ठ, जमसेर राई, टंक रोइला, मन्जु कार्की र मनकला लिम्बुले प्रस्तुत गरेका थिए ।

    तस्वीर: सन्तोष सुवेदी/संगालोखबर

  • सहिदभूमिमा नष्ट गरियो २१ हजार बोट गाँजा

    सहिदभूमिमा नष्ट गरियो २१ हजार बोट गाँजा


    धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकामा एकैदिन २१ हजार बढी गाँजाको बोट फडानी गरेर नष्ट गरिएको छ । हिजो इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले २१ हजार पाँच सय गाँजाको बोट नष्ट गरेको हो ।

    जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार आफैँ उम्रिएको र अवैध रूपमा बारीमा लगाइएको गाँजा फडानी गरिएको हो ।

    प्रहरी सहायक निरीक्षक जसबहादुर राईको नेतृत्वमा खटिएको प्रहरी टोलीले सहिदभूमि १ र ३ नम्बर वडाको करिब ३१ रोपनी क्षेत्रफलमा गाँजा फडानी गरेको हो ।

    पछिल्लो समय धनकुटाका विभिन्न स्थानमा प्रहरीले गाँजा फडानी गरेर नष्ट गर्ने अभियानलाई तीब्र बनाएको छ ।

  • रास्वपा नेतृ तोसिमा कार्कीद्वारा धनकुटा अस्पतालको निरीक्षण

    रास्वपा नेतृ तोसिमा कार्कीद्वारा धनकुटा अस्पतालको निरीक्षण

    धनकुटा । पूर्व स्वास्थ्य राज्यमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ डा.तोसिमा कार्कीले आज बिहान धनकुटा जिल्ला अस्पतालको निरीक्षण गरेकी छन् । तेह्रथुम जाने क्रममा डा.कार्कीले धनकुटा जिल्ला अस्पतालको निरीक्षण गरेकी हुन् ।

    निरीक्षणका क्रममा डा.कार्कीले जिल्ला अस्पतालको अवस्थाका बारेमा अस्पताल प्रमुख डा.अमिताभ ठाकुरसँग जानकारी लिएकी छन् । अस्पताल प्रमुख डा.ठाकुरले दरबन्दी, रक्त सञ्चार केन्द्र र स्वास्थ्य बीमाको हालको स्थितिबारे जानकारी गराए । सो क्रममा डा.कार्कीले स्वास्थ्य बीमा कार्यक्रमबाट कुनै पनि नागरिक वञ्चित हुन नपाउने गरी सेवा प्रवाह गर्न सुझाव दिएकी छन् ।

    निरीक्षण भ्रमणका क्रममा कार्कीले अस्पतालमा उपचाररत बिरामीहरूसँग पनि भेटघाट गरी उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिइन् । उनले बिरामीहरूको गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न आवश्यक पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको रास्वपाका जिल्ला सभापति बालानन्द दाहालले जानकारी दिए ।

  • धनकुटामा ट्रक दुर्घटना हुँदा चालक घाइते 

    धनकुटामा ट्रक दुर्घटना हुँदा चालक घाइते 


    धनकुटा । धनकुटा-४ स्कुलडाँडामा ट्रक दुर्घटना भएको छ । हिजो राति करिब साढे नौ बजेको समयमा हिलेबाट धरानतर्फ जाँदै गरेको ना ६ ख १६५९ नम्बरको ट्रक दुर्घटना भएको हो ।

    दुर्घटनामा ट्रक चालक छथरजोरपाटी गाउँपालिका-६ का ३३ वर्षीय प्रज्चल तामाङ घाइते भएका छन् । उनको कम्बरमा चोट लागेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

    उनको अहिले जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको छ । गोलिया बोकेको ट्रक आफैँ अनियन्त्रित भएर सडकमा पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाका प्रमुख सुरेन्द्र खड्काले जानकारी दिए ।

    ‘सडकमा नै ट्रक पल्टिएको थियो’, खड्काले संगालोखबरसँग भने, ‘राति नै ट्रकलाई हटाएर दुवैतर्फी सडक सञ्चालनमा आइसकेको छ ।’

  • धनकुटामा सुन्तला, एभोकाडो तथा फलफूल महोत्सव 

    धनकुटामा सुन्तला, एभोकाडो तथा फलफूल महोत्सव 


    धनकुटा । धनकुटाको कागतेमा सुन्तला, एभोकाडो तथा फलफूल महोत्सव सुरु भएको छ । समृद्धि युवा क्लबको आयोजनामा स्थानीय उत्पादनलाई प्रबर्द्धन गर्ने उद्देश्यले महोत्सव गरिएको हो ।

    धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले महोत्सवको उद्‌घाटन गर्दै यसले स्थानीय उत्पादनको प्रवर्द्धन गर्नुका साथै कृषकहरूको आयआर्जनमा टेवा पुग्ने बताए । उनले स्थानीय पर्यटन प्रवर्द्धनका साथै फलफूलको बजार विस्तारमा महोत्सवले योगदान पुर्याउने उल्लेख गरे ।

    महोत्सवले कृषिमा आधारित स्थानीय अर्थतन्त्रलाई सबल बनाउने र युवाहरूलाई उत्पादनशील क्षेत्रमा आकर्षित गर्ने वडा नम्बर ३ का वडाध्यक्ष विकास घिमिरेले बताए ।

    उद्योग वाणिज्य सङ्घ धनकुटाका अध्यक्ष विजय सन्तोषी राईले महोत्सवले उद्योग र व्यवसायका लागि नयाँ सम्भावना उजागर गर्ने उल्लेख गरे । उनले यस्ता महोत्सवलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

    नेपाल पत्रकार महासङ्घ धनकुटाका अध्यक्ष बिदुर खवासले महोत्सवले स्थानीय उत्पादनको बजारीकरणमा सहयोग पुर्याउने बताए । पुस २० गतेसम्म सञ्चालन हुने महोत्सवले स्थानीय कृषकहरूका उत्पादनलाई बजारमा पुर्‍याउनुका साथै नयाँ सम्भावनाको खोजी गर्न सहयोग पुर्याउने आयोजकको विश्वास छ ।

    महोत्सवमा सुन्तला, एभोकाडो र अन्य फलफूलको प्रदर्शनी र बिक्रीका स्टलहरू समावेश गरिएको छ । समृद्धि युवा क्लबको पहलमा स्थानीय सरकार र समुदायको सहकार्यमा महोत्सव आयोजना गरिएको  क्लबका अध्यक्ष मोहन खानले बताए ।

  • १२ औं भेडेटार फुड फेस्टिभल पुस १६ गतेदेखि 

    १२ औं भेडेटार फुड फेस्टिभल पुस १६ गतेदेखि 

    धनकुटा । धनकुटाको भेडेटारमा १२ औं फुड फेस्टिभल हुने भएको छ । होटल एशोसिएसन भेडेटारको आयोजनामा फेस्टिभल हुन लागेको हो । आज आयोजकले पत्रकार सम्मेलन गर्दै फेस्टिभल आगामी पुस १६ गतेदेखि १८ गतेसम्म हुन लागेको जानकारी दिएको छ ।

    पूर्वको एक प्रमुख पर्यटकीय स्थल भेडेटारमा अङ्ग्रेजी नयाँ वर्षको अवसरमा हरेक वर्ष फेस्टिभल हुँदै आएको छ । भेडेटारसहित आसपास क्षेत्रको पर्यटन प्रवर्द्धन गर्नका लागि फेस्टिभल आयोजना गरिएको होटल एशोसियसन भेडेटारका अध्यक्ष तुमराज लिम्बूले बताए ।

    उनले फेस्टिभल सफल पार्न सहयोग गर्न सबैमा आग्रह गरेका छन् । साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले फेस्टिभलले पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले भने, ‘भेडेटार प्रमुख पर्यटकीय गन्तव्यको रूपमा स्थापित भइसकेको छ । यसलाई थप प्रवर्द्धन गर्न गाउँपालिकाले सक्दो सहयोग गर्छ ।’

    फेस्टिभलमा स्थानीय खानाका परिकार, स्थानीय अर्गानिक तरकारी तथा फलफूल, कृषि तथा घरेलु सामाग्री बेचबिखनका साथै प्रदर्शनीमा राखिने छ । फेस्टिभलमा करिब ५० हजार आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य लिनुका साथै करिब २ करोड बराबरको आर्थिक कारोबार हुने आयोजकको अनुमान छ ।

    फेस्टिभलमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरूलाई साँगुरीगढी, पाथीभरा माताको मन्दिर, शंखेश्वरी महादेशको मन्दिर, नाम्जे, नमस्ते झरना, सैलुङडाँडा, थुम्की, बौद्धविहार, गुम्बा, अजङ्गको रूख र ध्वजे डाँडो लगायतका पर्यटकीय स्थलहरू घुमाउने आयोजकले जनाएको छ ।

    अमेरिकाको सञ्चार माध्यम सीएनएनले सन् २०१२ मा विश्वको १२ अनौठा गन्तव्य स्थलमध्ये आठौँ नम्बरमा रहेको प्राकृतिक रूपमा निक्कै आकर्षक तथा मनमोहक नाम्जे र आत्मा बस्ने घरको समेत फेस्टिभलमा अवलोकन गर्न पाइने छ ।

    आर्थिक तथा सामाजिक उत्थानका लागि पर्यटन, होटल व्यवसाय, होमस्टे, अन्य ब्यापार व्यवसाय, कृषि, संस्कृति, धार्मिक र शिक्षा क्षेत्रको प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले फुट फेस्टिभलको आयोजना गरिएको आयोजकले जनाएको छ । तीन दिनसम्म चल्ने फेस्टिभलमा विभिन्न पर्यटकीय स्थलहरूको प्याकेज अनुसार अवलोकन गराइने छ ।

    होटल एशोसिएसन भेडेटारको आयोजना हुन लागेको फेस्टिभलको सह-आयोजक प्राकृतिक वातावरण स्रोत तथा पर्यटन भेडेटार र भेडेटार आमा समूह रहेका छन् ।

    साँगुरीगढी गाउँपालिका, धरान उपमहानगरपालिका, धनकुटा नगरपालिका, महालक्ष्मी नगरपालिका, छथर जोरपाटी गाउँपालिका, पाख्रीबास नगरपालिका, चौबिसे गाउँपालिका र सहिदभूमि गाउँपालिका सहयोगीका रूपमा छन् ।

  • धनकुटामा बक्सिङ खेलाडीका लागि १ लाख बराबरको सामग्री प्रदान

    धनकुटामा बक्सिङ खेलाडीका लागि १ लाख बराबरको सामग्री प्रदान

    धनकुटा । धनकुटाका बक्सिङ खेलाडीहरूका लागि करिब एक लाख मूल्य बराबरको खेल सामग्री प्रदान गरिएको छ । धनकुटा नगरको ५० हजार बजेट र स्थानीय युवाहरूबाट ५० हजार सङ्कलन गरी खेल सामग्री खरिद गरेर जिल्ला बक्सिङ सङ्घलाई उपलब्ध गराइएको हो ।

    धनकुटामा आज कार्यक्रम आयोजना गरी पन्चिङ ब्याग, बक्सिङ ग्लोभ्स, हेड गियर लगायत सामग्री प्रदान गरिएको छ । सामग्री खरिदका लागि नगर कार्यपालिका सदस्य दिलकुमार राईले नगरको बजेटमार्फत ५० हजार उपलब्ध गराउन भूमिका खेलेका थिए । नगरले कार्यपालिका सदस्यहरूका लागि आफै योजना छनौट गरेर बजेट उपलब्ध गराउँन पाउने गरी दुई/दुई लाख बजेटको व्यवस्था गरेको छ । सोही बजेटमार्फत कार्यपालिका सदस्य राईले ५० हजार सहयोग गरेका हुन ।

    त्यस्तै, नगरपालिकाका इन्जिनियर मिङ्मादोर्जे सेर्पा, आर्थिक विकास अधिकृत विकास अधिकारी, एमाले नेता एवं निर्माण व्यवसायी बलदीप राई, नागरिक समाजका अध्यक्ष सुन्दरवावु श्रेष्ठ, निर्माण व्यवसायी सन्तोष राई र कोरिया बस्ने सहिदभूमि-२ का सविन राईले आर्थिक सहयोग गरेका थिए । सामग्री खरिद गर्न उनीहरूले जनही ५/५ हजार बराबरको सहयोग उपलब्ध गराएको जिल्ला बक्सिङ सङ्घका अध्यक्ष विदुर खवासले जानकारी दिए ।

    सामान खरिदका लागि सहयोग जुटाउन जिल्ला बक्सिङ सङ्घका सल्लाहकार संयोजक कमलदिप तिगेला, बक्सिङ सङ्घका अध्यक्ष खवास, उपाध्यक्ष हेमचन्द्र राई लगायतले भूमिका खेलेको भन्दै सहयोगी दाता र पहलकर्ताहरुलाई बक्सिङ प्रशिक्षक किशोर लिम्बू सम्बाहाम्फेले मन्तव्यमार्फत धन्यवाद ज्ञापन गरेका छन् ।

    धनकुटामा हाल करिब दुई दर्जन युवायुवतीहरू बक्सिङको प्रशिक्षण लिइरहेका छन् ।

error: Content is protected !!