
धनकुटा । आमाको काजक्रियामा बसेकै अवस्थामा छोराको पनि निधन भएको छ । धनकुटाको महालक्ष्मी नगरपालिका-६ छुम्लिङ घर भई हाल भक्तपुर बस्दै आएका ६४ वर्षीय लक्ष्मीप्रसाद लामिछानेको निधन भएको हो ।
शौचालय गएर फर्किने क्रममा एक्कासि बिरामी भएका उनको उपचारका क्रममा निधन भएको हो । १०६ वर्षीया आमा हरिमाया लामिछानेको काजक्रियामा बसेको सातौँ दिनमा उनी बिरामी भएका थिए ।
उनको काठमाडौं मेडिकल कलेज (केएमसी) मा उपचारकै क्रममा बुधबार बिहान करिब ८ः३० बजे निधन भएको पारिवारी स्रोतले जनाएको छ । आमा गुमाएको सातौँ दिनमा छोराको पनि निधन भएपछि परिवार गहिरो शोकमा डुबेको छ ।
आमाको निधन पश्चात् धार्मिक संस्कार अनुसार काजक्रियामा बसेका दुई भाइ छोरा मध्ये जेठा छोरा लक्ष्मीप्रसादको निधन भएको हो । आफन्तका अनुसार उनी सुगर र ब्लडप्रेसरको औषधी नियमित सेवन गर्दै आएका थिए ।
चिकित्सकका अनुसार शरीरमा सोडियमको मात्रा कम भएर उनको निधन भएको हो । उनी ज्योतिष केन्द्र सञ्चालन गर्दै आएका थिए ।

संगालोखबर 














