
धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिकाले व्यक्तिगत तथा व्यवसायका लागि आवश्यक पर्ने स्थायी लेखा नम्बर (पान) दर्ता तथा वितरण सेवा सुरु गरेको छ । गाउँपालिकाले आजबाट औपचारिकरूपमा स्थायी लेखा नम्बर दर्ता तथा वितरण सुरु गरेको हो ।
गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दाली राईले साँगुरीगढी-६ बेल्बोटेस्थित सुब्बा ग्यारेजका सञ्चालक विवेक इवाहाङलाई स्थायी लेखा नम्बर हस्तान्तरण गर्दै यसको शुभारम्भ गरेका हुन् ।
उनका अनुसार कर सम्बन्धी सेवा लिन अब जिल्ला सदरमुकाम धनकुटा धाउनुपर्ने बाध्यताको अन्त्य हुनेछ । यसअघि पान नम्बर दर्ताका लागि सेवाग्राहीहरूलाई सदरमुकाम जानुपर्ने बाध्यता थियो ।
ग्रामीण तथा भौगोलिक रूपमा विकट क्षेत्रका नागरिकलाई सामान्य करसम्बन्धी सेवा लिनसमेत समय र अतिरिक्त खर्च गर्नुपर्ने बाध्यता अब अन्त्य हुनेछ । पान लिनका लागि सदरमुकाम जाँदा वडाको सिफारिस लगायत आवश्यक कागजात तयार पार्दा कम्तीमा तीन दिन समय छुट्याउनुपर्ने हुन्थ्यो ।
तर पालिकाबाटै सेवा उपलब्ध भएपछि एकै दिनमा प्रक्रिया पूरा गर्न सकिने जनाइएको छ । पालिकाबाटै शून्य लागतमा पान दर्ता हुनथालेपछी सदरमुकाम जाँदा लाग्ने समय, यातायात खर्च र अन्य झन्झट बचत हुने स्थानीय बताउँछन् ।
स्थानीयस्तरमै सेवा उपलब्ध भएपछि नयाँ व्यवसाय सुरु गर्न चाहने युवा, उद्यमी, साना व्यवसायी तथा व्यक्तिलाई सहज हुने अपेक्षा गरिएको छ । भेडेटार प्रमुख पर्यटकीय क्षेत्रसमेत भएकाले यहाँ पर्यटन, होटल तथा रेस्टुरेन्ट, यातायात, खुद्रा व्यापार र कृषि क्षेत्रमा साना तथा मझौला व्यवसाय सञ्चालनमा छन् । स्थानीय स्तरमै सेवा सञ्चालन सुरु भएपछि उनीहरू हर्षित छन् ।

सन्तोष सुवेदी/संगालोखबर 

















