
धनकुटा । नेपाली काँग्रेसका युवा नेता तथा समाजसेवी डा.सुनिल शर्माले आफ्नो पुर्ख्यौली गाउँ धनकुटाको चुङमाङस्थित भारती माध्यमिक विद्यालयलाई पाँच करोड सहयोग गरेका छन् ।
शर्माले विद्यालयलाई तीन करोड आर्थिक सहयोग प्रदान गर्नुका साथै दुई करोड बराबरको छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेका हुन् । विद्यालय परिसरमा आज आयोजित कार्यक्रममा डा.शर्माले विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरिबहादुर खत्री र प्रधानाध्यापक हरिप्रसाद पौडेललाई तीन करोडको चेक हस्तान्तरण गरे ।
सोही अवसरमा बोल्दै डा.शर्माले विद्यालयका विपन्न तथा जेहनदार विद्यार्थीलाई चिकित्सा शिक्षा अध्ययनका लागि थप दुई करोड बराबरको छात्रवृत्ति पनि घोषणा गरेका छन् । गिरिजाप्रसाद कोइराला फाउन्डेसनका नव निर्वाचित सभापति समेत रहेका डा.शर्मा काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजका सञ्चालक हुन् ।

डा.शर्माको सो घोषणासँगै अब भारती माविले छनौट गरेका विद्यालयका विद्यार्थीले काठमाडौं मेडिकल कलेजमा चिकित्सा शिक्षा पढ्न पाउनेछन् । छात्रवृत्तिमा छनौट भएका विद्यार्थीले डीएम, एमसीएच, एमडी, एमएस, एमवीवीएस, बिडीएस, बीएस्सी नर्सिङ, वीएनएस, वीपीटी लगायत पढ्न पाउने भएका हुन् ।
यसैबीच, अब उक्त विद्यालयको नाम पनि परिवर्तन हुने भएको छ । तीन करोड भन्दा बढी सहयोग गर्ने दाताको नाममा विद्यालयको नाम परिवर्तन गर्न सकिने कानूनी प्रावधान अनुसार सो विद्यालयको नाम ‘श्री भारती गणपति गुनलाल न्यौपाने माध्यमिक विद्यालय’ कायम हुने भएको हो ।

डा.शर्माका हजुरबुवा गुनलाल र जिजुबुवा गणपतिको नाम जोडेर नाम फेर्न लागिएको विद्यालयले जनाएको छ । विद्यालयलाई धेरै ठूलो सहयोग गरेर शैक्षिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै राष्ट्रिय सभा सदस्य सुनिलबहादुर थापा, पाख्रीबास नगरपालिकाका नगर प्रमुख ज्ञानबहादुर गुरुङ, नेपाली काँग्रेसका सभापति दिनेश राई, नेता आनन्दसन्तोषी राई, वडाध्यक्ष हरिप्रसाद खत्री, विद्यालयका प्रधानाध्यापक हरिप्रसाद पौडेल लगायतले डा.शर्माको खुलेर प्रशंसा गरे ।

सो अवसरमा डा.शर्मा, उनका बुवा लोकनाथ र आमा होमादेवी न्यौपानेलाई सम्मानसहित अभिनन्दन गरिएको छ । डा.शर्माको परिवार गाउँमा पुग्दा पञ्चेबाजासहित भव्य स्वागत गरिएको थियाे।


तस्बिर : सन्तोष सुवेदी/संगालोखबर

रबिन कटेल/संगालोखबर 

















