
धनकुटा । राष्ट्रिय स्वाभिमान र पहिचानको सर्वोच्च प्रतीक मानिने राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै गएको छ । आन्दोलन, चुनावी प्रचार, तोडफोड, आगजनी र पार्कदेखि फलैँचासम्म राष्ट्रिय झण्डाको दुरुपयोग हुन थालेको हो ।
आगजनी र विध्वंसका क्रममा राष्ट्रिय झण्डा ओढ्ने, लतार्ने र अपमानजनक ढंगले प्रयोग गर्ने गरेको पाइन्छ । यसले झण्डाको गरिमामात्र नभई समग्र राष्ट्रकै सम्मानमा आँच पुर्याउँछ ।
यस्ता गतिविधि बारम्बार भइरहँदा सम्बन्धित निकाय भने मैन जस्तै देखिन्छ । राष्ट्रिय झण्डा राष्ट्रको गहना र गौरव भएको सबैले सम्मानका साथ प्रयोग गर्नुपर्ने धनकुटाका स्थानीय बुद्धिजीवी द्रोणप्रसाद गुरागाईंले बताए ।
पछिल्लो समय पहिचानका नाममा विभिन्न ठाउँमा राखेर फेसबुक र टिकटकमा लगाउने विकृति बढ्दै गएको उनको भनाइ छ । झण्डाको गरिमालाई ध्यानमा राखेर सम्मानपूर्वक ढङ्गबाट प्रयोग गर्नुपर्ने उनले बताए ।
जताततै राष्ट्रिय झण्डा गाड्ने र रुखमा बाँधेर छाड्ने गरेको पनि पाइन्छ । राष्ट्रिय झण्डाको दुरुपयोग राष्ट्र र संविधानको अपमान हो । झण्डा राष्ट्रको सार्वभौमिकता, एकता र स्वाभिमानको प्रतीक भएकाले यसको मर्यादा तोडिनु भनेको राज्यको नैतिक धरातल कमजोर हुनु हो ।
नेपालको संविधान र प्रचलित कानुनले राष्ट्रिय झण्डाको सम्मान र मर्यादालाई स्पष्ट रूपमा परिभाषित गरे पनि त्यसको कार्यान्वयन पक्ष कमजोर देखिन्छ । धनकुटाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माका अनुसार राष्ट्रिय झण्डा सम्बन्धी निर्देशिका र मापदण्डमा सार्वजनिक रूपमा सम्मानका साथ राख्न पाउने व्यवस्था छ ।
तर झण्डा राखेर दुरुपयोग भने गर्न नपाइने उनले बताइन् । राष्ट्रिय झण्डाको दुरुपयोगका विषयमा प्रशासनमा जानकारी आइरहेकाले जिल्लाका सातवटै पालिकाहरूलाई पत्राचार गरी सजग गराउने र दुरुपयोग नगर्न आग्रह गर्ने उनले जानकारी दिइन् ।
‘राष्ट्रिय झण्डा सम्मानका साथ राख्न पाइने व्यवस्था छ’, उनले भनिन् ‘तर राखेर पनि च्यातिएपछि त्यसै छोड्ने, फाल्ने गरेको पाइएको छ । त्यस्ता गतिविधि रोक्न निगरानी बढाएका छौँ ।’

संगालोखबर 














