संगालोखबर

धनकुटा । धनकुटाबाट प्रतिबन्धित लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । सोमबार धनकुटा नगरपालिका-९ स्थित मुलघाटमा चेकजाँचका क्रममा दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा भोजपुरको टेम्केमैयुङ गाउँपालिका-१ का २२ वर्षीय भोला राई र भोजपुर नगरपालिका-६ देउरालीका २४ वर्षीय प्रवीन राई छन् ।

इटहरीबाट तेह्रथुम जाँदै गरेको प्रदेश १-०२-००१ ज ४५१९ नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई चेकजाँचका क्रममा लागूऔषधसहित पक्राउ गरिएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।

उनीहरूको साथबाट २५ पोकामा प्याक गरेर राखिएको अवस्थामा १ ग्राम २३० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार धुलो पदार्थ ५० वटा हरियो क्याप्सुल र ४५ वटा सुन्तला रङको ट्याब्लेटमा राखेको अवस्थामा बरामद भएको हो ।

यस्तै सहिदभूमि गाउँपालिका-७ चाम्चाबाट २१ वर्षीय प्रगत राई लागूऔषधसहित पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले घरको कोठाभित्र लुकाएर राखेको अवस्थामा ट्रामोल २९० क्याप्सुल र स्पासपेन प्रो २९० ट्याब्लेटसहित राईलाई पक्राउ गरेको हो ।

पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय धनकुटामा राखेर थप अनुसन्धान सुरु गरिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!