
धनकुटा । सिँचाइ सुविधा नपुगेको पाखो र भिरालो जमिनमा धान खेती विस्तार भएसँगै धनकुटा नगरपालिका-९ बेलहराका किसान हर्षित भएका छन् ।परम्परागत रूपमा मकै, कोदो, गोलभेडा र तरकारी खेती गर्दै आएका बेलहराका किसान अहिले पाखोबारीमा लहलहाएको धान देखेर उत्साहित छन् ।
स्थानीय मेहरमान बस्नेतले करिब नौ रोपनी पाखोबारीमा धान लगाएका छन् । ‘पाखो बारीमै धान खेती गर्न सकिने र उब्जनी पनि राम्रो हुने रहेछ’, बस्नेतले भने ।
अर्का किसान भीमप्रसाद रोइलाले पनि चार रोपनी पाखोबारीमा धान रोपेका छन् । गत वर्ष परीक्षणका लागि एक किलो बिउ रोप्दा १० मुरी धान फलेपछि यसपटक थप क्षेत्रफलमा धान रोपेको उनले सुनाए । ‘यो धान स्वादिलो र बास्नादार हुन्छ’, उनले भने, ‘यसको पराल पनि गाईवस्तुले निकै मन पराएर खान्छन् ।’

बेलहराको माथिल्लो क्षेत्र सुक्खाग्रस्त भएकाले विगतमा धान खेती असम्भव जस्तै मानिन्थ्यो । तर, वडा कार्यालयले ५० प्रतिशत अनुदानमा ५५२ परिवारलाई सुक्खा क्षेत्रमा हुने विशेष जातको धानको बिउ वितरण गरेपछि किसान धान खेतीतर्फ आकर्षित भएका हुन् ।
धनकुटा नगरपालिका-९ का वडाध्यक्ष टङ्क रोइलाका अनुसार सुक्खा क्षेत्रमा पनि सहजै फल्ने धानको बिउ किसानलाई उपलब्ध गराइएको हो । यो धान खेतीका लागि खेतमा जस्तै निरन्तर सिँचाइ गरिरहनु पर्दैन ।

कृषि ज्ञान केन्द्र धनकुटाका अनुसार जिल्लामा हाल करिब ४ हजार ९ सय हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । सुक्खा र पाखो जमिनमा पनि राम्रो उत्पादन हुने भएकाले किसानहरूलाई धान खेतीमा प्रोत्साहन गरिरहेको केन्द्रले जनाएको छ ।
पाखोबारीमा धान खेती हुन थालेपछी धनकुटाका किसानले सिँचाइका लागि सास्ती भोग्नुपर्ने बाध्यताको अन्त्य भएको छ । पाखोबारीमा लगाइएको यो धान हाइब्रेड उपज र शङ्खर जात हो ।

सन्तोष सुवेदी/संगालोखबर 














