
धनकुटा । गत भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि धनकुटामा १ करोड १६ लाख ४८ हजार ६२७ रुपैयाँ सहयोग संकलन गरिएको छ ।
धनकुटाका विभिन्न सरकारी कार्यालय, स्थानीय तह, जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, निर्माण व्यवसायी, विद्यालय र स्थानीयहरूबाट उक्त सहयोग रकम संकलन गरिएको हो ।
बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनाका लागि महालक्ष्मी नगरपालिकाले ४१ लाख ४८ हजार २२९ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
विपद् व्यवस्थापन कोषबाट ५ लाख, जनप्रतिनिधिका तर्फबाट २ लाख २२ हजार ३३०, कर्मचारीको तलबबाट ६ लाख ९१ हजार ५२५ र नगरभित्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको तलबबाट २७ लाख ३४ हजार ३६४ रुपैयाँ गरेर उक्त रकम संकलन भएको नगर प्रमुख ध्रुवराज रायाले बताए ।
यस्तै पाख्रीबास नगरपालिकाले ३० लाख २३ हजार ६१४ रुपैयाँ सहयोग गर्ने भएको छ । विपद् व्यवस्थापन कोषबाट ५ लाख, जनप्रतिनिधिको सेवा सुविधाबाट १ लाख ५३ हजार, कर्मचारीको तलबबाट ६ लाख ४८ हजार ९४२ र पाख्रीबास घर भएर नगर क्षेत्रबाहिरका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको तलबबाट १७ लाख २१ हजार ६७२ रुपैयाँ संकलन भएको जनाइएको छ ।

कार्यपालिका बैठकले संकलन भएको रकम विपद्बाट प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको नगरप्रमुख ज्ञानबहादुर गुरुङले जानकारी दिए ।
साँगुरीगढी गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा विपद् व्यवस्थापन कोषबाट गरी कुल ३० लाख रुपैयाँ सहयोग गर्न लागेको गाउँपालिका अध्यक्ष जितेन्द्र राईले बताए । धनकुटाका ७ स्थानीय तहमध्ये हालसम्म पाख्रीबास नगरपालिका, महालक्ष्मी नगरपालिका र साँगुरीगढी गाउँपालिकाले कार्यपालिका बैठकमार्फत बाढीपीडितका लागि सहयोग गर्ने निर्णय गरेका छन् ।
अन्य चारवटा स्थानीय तहले पनि चाँडै बैठक बसेर सहयोगको. निर्णय गर्ने बताएका छन् । धनकुटाका ११ वटा संस्थागत विद्यालयले विद्यार्थीबाट संकलन भएको ८ लाख ७६ हजार २१ रुपैयाँ सहयोग गरेको प्याब्सन धनकुटाका अध्यक्ष प्रेमप्रसाद लिम्बूले जानकारी दिए ।
निर्माण व्यवसायी संघ धनकुटाले १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको संघका अध्यक्ष रमेश बस्नेतले बताए । त्यस्तै नेपाली काँग्रेस धनकुटाले हालसम्म ४ लाख १८ हजार ४ सय ३२ रुपैयाँ सहयोग रकम संकलन गरेको छ ।
धनकुटा बजारका विभिन्न स्थानमा देखाइएको लाखे नाचबाट संकलित रकममध्ये ७१ हजार २ सय २० रुपैयाँ बाढीपीडितका लागि सहयोग गरिएको छ ।

सन्तोष सुवेदी/संगालोखबर 














