
धनकुटा । कोशी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रमणि पराजुलीले निर्माण व्यवसायीका समस्या समाधान गर्न प्रदेश सरकारमा आवश्यक छलफल भइरहेको बताएका छन् ।
नेपाल निर्माण व्यवसायी सङ्घ धनकुटाको १८ औँ साधारण सभा तथा ११ औँ अधिवेशनको उद्घाटन समारोहमा बोल्दै मन्त्री पराजुलीले यस्तो बताएका हुन् ।
उनले निर्माण व्यवसायका क्षेत्रमा रहेका विभिन्न समस्या समाधानका लागि प्रदेश सरकारमा छलफल चलाउने र संघीय सरकारलाई ध्यानाकर्षण गराउने बताए ।

मन्त्री पराजुलीले प्रदेशमा निर्माणको चरणमा रहेका तथा निर्माण सम्पन्न भएका आयोजनाको ५३ करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको जानकारी आएको बताउँदै भुक्तानीका लागि पहल गर्ने प्रतिवद्धता जनाए ।
उनले चाँडै मन्त्री परिषद् बैठकमा छलफल गरेर यस विषयमा आवश्यक कदम चालिने बताए । निर्माण व्यवसायी महासंघका केन्द्रिय नीतिगत उपमहासचिव मंगलबहादुर शाहीले संघीय सरकारबाट सञ्चालित आयोजनाको भुक्तानीमा समस्या नरहेको बताए । उनका अनुसार प्रदेश र स्थानीय तहले नीति नबनाउँदा भुक्तानीमा अझै समस्या छ ।

बढ्दो मूल्यवृद्धिले आयोजना ठेक्काको क्रममा बनाइएका योजना भन्दा दोब्बर बढी लागत लाग्ने भएकाले मूल्य समायोजन गरिनुपर्ने उनले बताए । निर्माण व्यवसायी सङ्घ धनकुटाको १८ औँ साधारण सभा तथा ११ औँ अधिवेशनले आगामी ३ वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने छ ।

सन्तोष सुवेदी/संगालोखबर 














