सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । उद्योग वाणिज्य संघ धनकुटाका नवनिर्वाचित अध्यक्ष रामबहादुर रायमाझीले उद्योगी व्यवसायीहरूका समस्या समाधानमा आफूहरू केन्द्रित हुने बताएका छन् । शनिबार नवनिर्वाचित पदाधिकारी र कार्यसमिति सदस्यको पद तथा गोपनियताको सपथ तथा पदभार ग्रहण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले आफू नेतृत्वको टिम व्यवसायिक प्रतिनिधित्व गर्ने भएको बताउँदै संघ उद्योगी, व्यवसायीका समस्या समाधानका लागि केन्द्रित हुनेमा जोड दिए । ‘कुनै पनि व्यवसायमा भएका समस्या कसरी समाधान गर्न सकिन्छ, त्यसतर्फ हाम्रो ध्यान केन्द्रित हुन्छ’ उनले भने ।

गत भदौ ६ उद्योग वाणिज्य संघ धनकुटाको निर्वाचन भएको थियो । निर्वाचन आयुक्त विकास प्रधानले नवनिर्वाचित पदाधिकारीहरूलाई शनिबार पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।

उनीहरूलाई धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा बोल्दै नगर प्रमुख तामाङले खुल्ला बजार अर्थतन्त्रमा उद्योगी व्यवसायीहरूको महत्त्वपूर्ण भूमिका हुने बताए ।

उद्योग वाणिज्य संघले आगामी दिनमा थप उदाहरणीय काम गर्नुपर्नेमा उनले जोड दिए । उनले व्यवसायीको कर नै राज्यको ठूलो आम्दानी भएकाले व्यवसायीको पक्षमा काम गर्ने प्रतिवद्धता समेत जनाए ।

निर्वाचनबाट अध्यक्षमा रायमाझीसहित वरिष्ठ उपाध्यक्षमा विक्रम प्रधान, उपाध्यक्षमा रिदम श्रेष्ठ र सरस्वती मगर, महिला उपाध्यक्षमा रेजिना पालिखे र महासचिवमा उज्ज्वल कर्माचार्य निर्वाचित भएका थिए ।

यस्तै सचिवमा उर्गेन शाक्य, कोषाध्यक्षमा रूपेश श्रेष्ठ तथा सदस्यमा निरोज श्रेष्ठ, देवेन्द्र प्रधान, मुनादेवी पोखरेल, शिशिर श्रेष्ठ र शिवपुजन शाह निर्वाचित भएका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!