
विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले १६० स्थानमा सामाजिक कार्य गरी स्वयंसेवक दिवस मनाएको छ । लघुवित्तको मातृ संस्था जीवन विकास समाजको स्थापना दिवसको अवसरमा सोमबार ‘जीवन विकासको आह्वान, देश विकासमा श्रमदान’ भन्ने मूल नाराका साथ जीवन विकास स्वयंसेवक दिवस मनाइएको हो ।
कोशी, मधेश र बागमती प्रदेशका ३१ जिल्लामा घरदैलोमा पुगेर वित्तीय सेवा प्रवाह गरिरहेको जीवन विकासका १६० शाखा कार्यालयहरू छन् । सबै शाखा कार्यालयहरूले आफ्नो कार्यक्षेत्रमा विभिन्न कार्यक्रम गरेर दिवस मनाएका लघुवित्तका प्रवक्ता सुदीपकुमार मण्डलले जानकारी दिए ।
स्वयंसेवक दिवसमा लघुवित्तले श्रमदान मार्फत १६ अतिविपन्न परिवारको घर पुनःनिर्माण गरेको छ । शाखा कार्यालयहरूको अग्रसरतामा घर बनाउन नसक्ने अवस्थाका अतिविपन्न नागरिकको घर पुनःनिर्माण गरिदिएको हो ।

जीवन विकासका ३६ वटा शाखाले विद्यालय सरसफाइ र खेलकुद कार्यक्रम गरेका छन् । २६ वटा शाखाले मन्दिर सरसफाइ, डस्टबिन वितरण तथा वृक्षारोपण गरेका छन् । यस्तै २३ वटा शाखाले विद्यालय सरसफाइ तथा वृक्षारोपण कार्यक्रम आयोजना गरेका छन् ।
१२ वटा शाखा कार्यालयले वृक्षारोपण कार्यक्रम आयोजना गरेका हुन् । १० स्थानमा मन्दिर सरसफाइ तथा डस्टबिन वितरण गरिएको छ । ५ वटा शाखाले बजार सरसफाइ तथा डस्टबिन वितरण कार्यक्रम गरेका छन् ।

४ वटा शाखाले शाखाको कार्यक्षेत्र भित्र रहेका ४ वटा अति विपन्न परिवारलाई सहयोग गरेका छन् । २ स्थानमा चौतारी निर्माण गरिएको छ । ५ वटा शाखाले बजार सरसफाइ तथा वृक्षारोपण गरेका छन् ।
शाखा कार्यालयहरूले सार्वजनिक भवन सरसफाइ तथा वृक्षारोपण, खेलमैदान सरसफाइ तथा वृक्षारोपण, वृद्धाश्रममा खाद्यान्न सहयोग, ईको भिलेजमा वृक्षारोपण र एक स्थानमा प्रहरी कार्यालय सरसफाइ गरेका छन् ।

जीवन विकासले आयोजना गरेको सामाजिक कार्यक्रमहरूमा जनप्रतिनिधि, थ्री जिरो क्लब, नवबिहानी समूह, लघुवित्तका कर्मचारी, स्थानीय नागरिक समाजका अगुवा र लघुवित्तका सदस्यहरू सहभागी थिए ।
२०७२ सालमा आयोजित सदस्य सम्मेलनबाट जीवन विकासले श्रमदान गरेर स्वयंसेवक दिवस मनाउने घोषणा गरेको थियो । २०७३ सालदेखि समुदायमा श्रमदानको भावना विकास गर्नका लागि निरन्तर स्वयंसेवक दिवस मनाउँदै आएको जीवन विकास लघुवित्तका प्रमुख कार्यकारी अधिकृत सञ्जयकुमार मण्डलले जानकारी दिए ।

संगालोखबर 

















