संगालोखबर सम्वाददाता

विराटनगर । केही दिनयता पूर्वी क्षेत्रसहित तराईमा गर्मी निकै बढेको छ । अत्यधिक गर्मीले गर्दा सार्वजनिक स्थानमा सर्वसाधारणको चहलपहल कम देखिन थालेको छ । तातो हावा चलेर जनजीवन प्रभावित भइरहेको छ ।

Advertisement

यस्तो अवस्थामा विभिन्न खालका स्वास्थ्य समस्या देखिन सक्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तातो हावा ‘लू’ बाट बच्न आग्रह गरेको छ । तातो हावाले गर्दा मुटुको चाल तीव्र हुने, श्वासप्रश्वासमा समस्या हुने, रक्तचाप घट्ने, टाउको दुख्ने, चक्कर लाग्ने, ज्वरो आउने जस्ता समस्या देखिने मन्त्रालयले जनाएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्ट्यान्ट फिजिसियन डा. विमल चालिसेले गर्मी बढेसँगै तराईमा तातो हावा चलेर ‘लू’ लाग्ने गरेको बताए । धेरै तातो हावाले मस्तिष्कमा असर गर्ने भएकाले तातो हावा चलेका बेला दिउँसो घर बाहिर ननिस्कन उनले आग्रह गरे ।

‘लू’ बाट जोगिन चिकित्सकहरुले विभिन्न उपाय अपनाउन सुझाव दिएका छन् । यस्तो अवस्थामा धेरै पानी पिउने, बाहिर निस्किनै परे छाता ओड्ने वा पातलो कपडाले टाउको छोप्ने, हल्का खालको कपडा वा सुतीको कपडा लगाउनुपर्ने उनीहरुको भनाइ छ ।

यसैगरी, खेतबारीमा कामकाज बिहान वा बेलुका गर्ने, चिसो पानीले नुहाउने, कागती पानी, नरिवल पानी तथा फलफूलको रस पिउने, फलफूल, काँक्रालगायत घरमा बनाएको ताजा खाना खान विज्ञहरुले सल्लाह दिएका छन् ।

अत्यधिक गर्मीका बेला दिउँसो सकभर घर बाहिर ननिस्कने, भान्सामा धेरै समय नबस्ने, मदिरा सेवन नगर्ने, क्याफिनले धेरै पिसाब गराउने हुँदा चिया, कफी, सोडाजस्ता पेयपदार्थ नपिउने सल्लाह पनि दिइएको छ । दुई वर्षभन्दा मुनिका बालबालिकालाई ‘लू’ बाट विशेष सावधानीका साथ जोगाउनुपर्ने सुझाव पनि विज्ञहरुको छ ।

स्तनपान गराइरहेका बालबालिकाका लागि नियमित स्तनपान गराइरहने, ठोस खानेकुराका अलावा झोलकुरा प्रशस्त खुवाउने, घरमै बनाएको स्वस्थकर खानेकुरा खुवाउने, पसिना सोस्ने खालका सुतीका नरम कपडा खुकुलो हुने गरी लगाइदिने, घाममा नराख्ने वा घाम लागेको बेला बाहिर ननिस्कने, शीतलमा बस्ने मौसमी तथा ताजा फलफूल राम्ररी धोइ पखाली गरी खुवाउन विज्ञहरुको सल्लाह छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!