संगालोखबर संवाददाता

विराटनगर । उच्च शिक्षा अध्ययनका लागि उत्तर अमेरिकी मुलुक क्यानाडा नेपाली विद्यार्थीहरुको समेत आकर्षणको केन्द्र बनेको छ । त्यहाँ अध्ययनका साथै रोजगारी पनि गरेर जीवनयापन गर्न सकिन्छ भन्ने बुझेर धेरै विद्यार्थी जान चाहन्छन् ।

Advertisement

केही वर्षयता नेपाली विद्यार्थी क्यानाडा जाने क्रम बढेको छ । तर पछिल्लो समय त्यहाँको सरकारले संख्यामा सीमा लगाएको जस्ता अनेक कारणले पहिले जस्तो सहज छैन ।

यसै सन्दर्भमा क्यानाडास्थित नेपाली राजदूतावासले क्यानडा आउनुअघि धेरै कुरा बुझ्न विद्यार्थीहरूलाई आग्रह गरेको छ । राजदूतावासले अध्ययनका लागि क्यानाडा जाने नेपाली विद्यार्थीहरूको सचेतनाका लागि एक सूचना जारी गरेको छ ।

दूतावासले विद्यार्थीहरूलाई आफू पढ्ने कलेज, विश्वविद्यालय, आफू बस्ने स्थानको भूगोल, हावापानी, रहनसहन साथै क्यानाडा आइसकेपछि रहनु पर्ने परिवेश जस्तै भाषा, सांस्कृतिक भिन्नता, बस्नेखाने खर्चको प्रबन्ध र स्वास्थ्य बिमा आदिका बारेमा पूर्ण अध्ययन गर्न अनुरोध गरेको छ ।

कलेज, विश्वविद्यालयको गुणस्तर र विश्वसनीयता यकिन गरेर मात्र शैक्षिक शुल्क तिर्नुपर्ने पनि राजदूतावासको भनाइ छ । डेरा खोज्दा पनि घरमालिकको तथ्य सूचना लिएर मात्र भाडा रकम भुक्तानी गर्न दूतावासले आग्रह गरेको छ । सामाजिक सञ्जालका विज्ञापनमा मात्र भर परी भुक्तानी गर्दा ठगीमा पर्न सकिने भन्दै दूतावासले सचेत गराएको छ ।

अभिभावकहरूले आफ्ना छोराछोरीलाई अध्ययन अवधिभरका लागि शैक्षिक शुल्क र बस्नेखाने खर्चको व्यवस्था गरेर मात्र पठाउनुपर्ने जनाइएको छ । दूतावासले सूचनामा भनेको छ, ‘पठाइसकेपछि उनीहरूसँग निरन्तर सम्पर्कमा रहने, छोराछोरी के–कस्ता समस्याहरूसँग जुधिरहेका छन् भन्नेबारे जानकारी लिने र मनोवैज्ञानिक तथा आर्थिक रुपले सहयोग गर्नुपर्दछ । क्यानाडा पढ्न आउने विद्यार्थीहरूले आउनासाथ रोजगारी पाइहाल्छन् भन्ने भ्रममा रहँदा कलिला उमेरका छोराछोरीमा पर्ने अति आवश्यक खर्चका समस्या र मनोवैज्ञानिक तनावका बारेमा हेक्का राख्ने र त्यस्ता समस्या आउनै नदिने गर्नुपर्दछ ।’

 

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!