संगालोखबर संवाददाता

धनकुटा । धनकुटामा आजदेखि शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिता सुरू हुँदैछ । आज हुने प्रतियोगिताको उद्घाटन खेलमा सशस्त्र प्रहरीको एपीएफ टिम र फोरस्टार युवा क्लब मोरङले प्रतिस्पर्धा गर्दैछन् ।

Advertisement

प्रतियोगिताको औपचारिक उद्घाटन कार्यक्रम दिउँसो २ बजे सुरू हुँदैछ । आजका लागि खेल भने ४ बजेपछि मात्र सुरू हुने प्रतियोगिताका संयोजक शम्भु प्रधानले बताए । उनका अनुसार यसपटक प्रतियोगिताको उद्घाटन प्रमुख अतिथिका रुपमा शहीदपत्नी लक्ष्मी श्रेष्ठले गर्ने तय भएको छ ।

आज उद्घाटनको औपचारिक कार्यक्रमका कारण खेल केही ढिलो सुरू हुने भए पनि भोलिदेखि पौने ४ बजे सुरू गरिने संयोजक प्रधानले जानकारी दिए ।

बैशाख २९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न आठवटा टिमको सहभागिता छ । प्रतियोगितामा त्रिभुवन आर्मी क्लब काठमाडौं, एपीएफ फुटबल क्लब काठमाडौं, फोरस्टार युवा क्लब मोरङ र राष्ट्रिय जागृति क्लब इटहरी, बुटवल लुम्बिनी फुटबल क्लब, बिर्तामोड युनाइटेड झापा, सहलेश युवा क्लब सिरहा र आयोजक टिम सहभागी छन् ।

प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार नगद पुरस्कार पाउने आयोजक शहीद भीमनारायण स्मृति प्रतिष्ठानले जनाएको छ ।

शहीद भीमनारायण श्रेष्ठको स्मृतिमा २०५५ सालबाट सुरु भएको प्रतियोगिताको यो १६ औं संस्करण हो । हरेक वर्ष सञ्चालन हुँदै आएको प्रतियोगिता कोरोना महामारीका कारण यसअघि केही वर्ष सञ्चालन हुन सकेको थिएन ।

यसैबीच, धनकुटा नगरपालिकाले प्रतियोगिताका खेलहरु हेर्न प्रवेश शुल्क बेहोरेर दर्शकहरूलाई निःशुल्क फुटबल हेर्न पाउने व्यवस्था मिलाएको छ । यसअघि क्वार्टरफाइनलको प्रति खेल ५० रुपैयाँ तथा सेमिफाइनल र फाइनलको खेल हेर्न १०० रुपैयाँका दरले प्रवेश शुल्क लिने गरिएको थियो ।

नगर प्रमुख चिन्तन तामाङले दर्शकबाट प्रवेश शुल्क नलिन आग्रह गर्दै त्यस बापत नगरले पैसा व्यहोर्ने बताएकाले यसपटक प्रवेश शुल्क नलिइने आयोजक समिति संयोजक प्रधानले जानकारी दिए । धनकुटा नगरपालिकाले प्रतियोगिता सञ्चालनसहित प्रवेश निःशुल्क गर्न १३ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!