गोमा ढुंगाना/संगालोखबर

धनकुटा । धनकुटामा आइतबार (भोलि) बाट सुरु हुने शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिता निःशुल्क हेर्न पाइने भएको छ । धनकुटा नगरपालिकाले प्रवेश शुल्क बेहोरेर दर्शकहरूलाई निःशुल्क फुटबल हेर्न पाउने व्यवस्था मिलाएको हो ।

Advertisement

यसअघि क्वार्टरफाइनलको प्रति खेल ५० रुपैयाँ तथा सेमिफाइनल र फाइनलको खेल हेर्न १०० रुपैयाँका दरले प्रवेश शुल्क लिने गरिएको थियो । नगर प्रमुख चिन्तन तामाङले दर्शकबाट प्रवेश शुल्क नलिन आग्रह गर्दै त्यस बापत नगरले पैसा व्यहोर्ने बताएकाले यसपटक प्रवेश शुल्क नलिइने आयोजक समितिका संयोजक शम्भु प्रधानले जानकारी दिए ।

धनकुटा नगरपालिकाले प्रतियोगिता सञ्चालनसहित प्रवेश निःशुल्क गर्न १३ लाख रुपैयाँ उपलब्ध गराउँने भएको छ । खेल हेर्न मन भएकाहरू पैसा नभएका कारण हेर्नबाट बञ्चित नहुन भनेर प्रवेश निःशुल्क गर्ने व्यवस्था मिलाइएको नगर प्रमुख चिन्तन तामाङले बताए । ‘खेल हेर्न चाहनेहरू पैसाको कारण मैदानमा पुग्न नसक्ने अवस्था नबनोस्, सबैले हेर्न पाउनुपर्छ भन्ने हाम्रो चाहना हो, यसका लागि नगरपालिकाको तर्फबाट पैसा दिएर सबैले खेल निःशुल्क हेर्न पाउने वातावरण मिलाएका हौं,’ नगर प्रमुख तामाङले भने, ‘यसले थोरै भएपनि आम दर्शकलाई राहत मिल्छ भन्ने ठानेका छौं ।’

बैशाख २९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आठ टिमबीच उपाधिका लागि प्रतिष्पर्धा हुँदैछ । प्रतियोगितामा त्रिभुवन आर्मी क्लब काठमाडौं, एपीएफ फुटबल क्लब काठमाडौं, फोरस्टार युवा क्लब मोरङ र राष्ट्रिय जागृति क्लब इटहरी, बुटवल लुम्बिनी फुटबल क्लब, बिर्तामोड युनाइटेड झापा, सहलेश युवा क्लब सिरहा र आयोजक टिम सहभागि हुनेछन् ।

आइतबार दिउँसो ३ बजेबाट सुरु हुने उद्घाटन खेलमा एपीएफ र मोरङ आम्नेसाम्ने हुँदैछन् । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार नगद पुरस्कार पाउने आयोजक शहीद भीमनारायण स्मृति प्रतिष्ठानले जनाएको छ ।

शहीद भीमनारायण श्रेष्ठको स्मृतिमा २०५५ सालबाट सुरु भएको प्रतियोगिताको यो १६ औं संस्करण हो । हरेक वर्ष सञ्चालन हुँदै आएको प्रतियोगिता कोरोनाका कारण यसअघि केही वर्ष सञ्चालन हुन सकेको थिएन ।

भिडियो…

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!