काठमाडौँ । व्यवस्थापिका–संसद्को आजको विशेष समयमा भाग लिने अधिकांश सांसदले मुलुकका विभिन्न भागमा हालै गएको बाढी पहिरोबाट भएको जनधनको क्षति तथा राहत र उद्धारमा भएको कमी कमजोरीबारे सदनमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

Advertisement

उहाँहरुले राहतका कार्यक्रमलाई एकद्वार प्रणालीका आधारमा वितरण गर्न र राहत वितरणलाई प्रभावकारी तुल्याउन एउटा समिति गठन गर्न आवश्यक रहेको सुझाव दिनुभयो ।

आगामी दिनमा बाढी पहिरो नियन्त्रणका लागि वृक्षरोपणलाई तीव्र गति प्रदान गर्न तथा तराई मधेसमा हुने गरेका डुबानलाई सदाका लागि अन्त्य गर्न भारतसँग कूटनीतिक आधारमा पहल गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

बैठकमा नेपाली काँग्रेसका सांसद अम्रेशकुमार सिंहले सरकारले विपद् व्यवस्थापन न्यूनीकरण र नियन्त्रणसम्बन्धी समयमै आवश्यक तयारी नगर्दा समस्या भयावह हुन पुगेको बताउनुभयो ।

नेकपा ९एमाले०का सांसद अष्टलक्ष्मी शाक्यले यो विपद्को अवस्थामा सबैले धैर्यधारण गरी सम्पूर्ण दल एक भएर पीडितलाई मलम लगाउनु आवश्यक रहेको बताउनुभयो ।

सिङ्गो देश डुबानमा परी ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै उहाँले लाखौँ मानिस घरबारविहीन भएकाको तत्काल सरकारले राहतको प्याकेज ल्याउनुपर्नेमा जोड दिनुभयो ।

सांसद शाक्यले विपद्को अवस्थामा सरकार गम्भीर हुन आवश्यक रहेको बताउँदै सबै जिल्लामा युद्धयुस्तरमा राहत पु¥याउन माग गर्नुभयो ।

नेकपा ९माओवादी केन्द्र०का सांसद श्रीप्रसाद जगेबुले तराईमा डुबानले अकल्पनीय जनधनको क्षति भएकाले प्राकृतिक प्रकोपको सामान गर्न सत्ता र प्रतिपक्ष एक ढिक्का हुनुपर्ने आजको आवश्यकता हो भन्नुभयो ।

नेपाल मजदुर किसान पार्टीका सांसद डिलीप्रसाद काफ्लले डुबान प्रभावित क्षेत्रका नागरिकको राहतमा जुट्न सरकार र सबै राजनीतिक दलको ध्यानाकर्षण गराउनुभयो ।

राष्ट्रिय जनता पार्टीका सांसद नरसिंह चौधरीले बाढी, पहिरो र डुबानमा मृत्यु भएका परिवारलाई राहतस्वरुप रु पाँच लाख उपलब्ध गराउन तथा घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाउन माग गर्नुभयो ।

राष्ट्रिय जनमोर्चाका सांसद मीना पुनले नेपाल भारत सीमा रेखाबाट १२ किलोमिटरमा सहमतिबिना बाँध बाँध्न नपाइने भए पनि भारतले जबर्जस्ती रुपमा निर्माण गरेको बाँधले तराईमा डुबान हुने गरेको बताउँदै यो समस्या समाधानका लागि सरकारले कूटनीतिक पहल गर्नुपर्ने माग गर्नुभयो ।

सांसद रुक्मिणी चौधरीले कूटनीतिक माध्यमबाट सीमा क्षेत्रमा बनाइएको बाँध भत्काउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

अर्का सांसद विश्वेन्द्र पासवानले सरकारका प्रतिनिधिले हेलिकप्टरबाट निरीक्षण गर्दा बाढी पीडित जनताले कस्तो अनुभूत गरे होलान् भनी प्रश्न गर्नुभयो ।

सांसद उषा गुरुङले प्राकृतिक विपत्तिको यो संवेदनशील घडीमा पीडितलाई राहत र उद्धारमा सबै राजनीतिक दलको साझा प्रयास हुनुपर्दछ भन्नुभयो ।

सांसद डा राजन भट्टराईले काठमाडौँ उपत्यकामा खाल्डाखुल्डी पुर्न प्रधानमन्त्री शेरबहादुर देउवाले दिएको निर्देशन १५ दिन नपुग्दै अवस्था झन् दयनीय बनेकोप्रति संसद्को ध्यानाकर्षण गराउनुभयो । धोबीखोला कोरीडोर र बागमती सभ्यता विकासका नाममा ठूलठूला कार्यालय खोलिए पनि खोला छेउ वरपरका जनता निकै मारमा परेको बताउँदै उहाँले नेपाल आयल निगमले जग्गा खरिदमा घोटला भएको भनी संसद्को ध्यानाकर्षण गराउनुभयो ।

सांसद शक्तिबहादुर बस्नेतले सबै राजनीतिक दल एक ठाउँमा आएर विपत्ति पछिको स्थितिलाई सामना गर्न आवश्यक रहेको बताउनुभयो ।

सांसद रामअयोधीप्रसाद यादवले बाढी पहिरो र डुबानका कारण हजारौँ घर प्रभावित भएको, लाखाँै हेक्टर जमिनमा लगाएको बालीनाली नष्ट भएको जनाउँदै किसानलाई राहत पुग्ने ढङ्गले कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो ।

सांसद रञ्जुकुमारी झाले पहाडमा बाढी पहिरो र तराईमा डुबान पीडित जनतालाई राहतका लागि कम्तीमा रु पाँच लाख उपलब्ध गराउनुपर्छ भन्नुभयो ।

सांसद निशाकुमारी शाहले यो विपत्तिलाई एक भएर सामना गर्न आवश्यक रहेको छ भन्नुभयो ।

अर्का सांसद लालबाबुप्रसाद यादवले प्राकृतिक विपत्तिपछिको अवस्थालाई राजनीतिक दृष्टिले होइन मानवीय पक्षले हेरेर आवश्यकताअनुसार उद्धार, राहत, औषधि र खाद्यान्न उपलब्ध गराउन आवश्यक रहेको छ भन्नुभयो ।

यसैबीच, व्यवस्थापिका–संसद्को आजको बैठकको शून्य समयमा बोल्ने अधिकांश सांसदहरुले बाढी, पहिरो र डुबान, वैदेशिक रोजगारमा देखिएको समस्या र चुनौती तथा आयल निगमको जग्गा खरिदमा भएको घोटाला लगायतका विषयमा सदनमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!