मोहन ढकाल/संगालोखबर


विराटनगर । विराटनगर महानगरपालिकासहित मोरङका पाँच पालिकाहरूले सडक बत्ती बाले बापतको विद्युत महशुल तिर्न आनाकानी गरिरहेका छन् ।

विभिन्न कारण देखाउँदै महशुल नतिर्दा नेपाल विद्युत् प्राधिकरण विराटनगर वितरण केन्द्रले लाइन काट्न थालेको छ । विद्युत् प्राधिकरणले बारम्बार महशुल तिर्न ध्यानाकर्षण गराएपनि स्थानीय तहहरू विभिन्न कारण देखाउँदै पन्छिँदै आएका छन् ।

Advertisement

विराटनगर महानगरपालिकाले मात्रै चैत मसान्त सम्मको १० करोड ८१ लाख ५६ हजार ६२ रुपैयाँ रकम तिर्न बाँकी छ ।  यस्तै, मोरङको बुढीगंगा गाउँपालिकाले ८३ लाख ५४ हजार २ सय ९२ रुपैयाँ, ग्रामथान गाउँपालिकाले १ करोड ५४ लाख ४४ हजार ८ सय ३ रुपैयाँ बुझाउन बाँकी छ ।

यसैगरी, जहदा गाउँपालिकाले २ करोड ४९ लाख ६९ हजार ८ सय ६६ रुपैयाँ र कटहरी गाउँपालिकाले १ करोड ४८ लाख ४७ हजार ६ सय १४ रुपैयाँ रकम विद्युत प्राधिकरणलाई बुझाउन बाँकी छ ।

यी पाँच स्थानीय तहले चैत मसान्तसम्मको जम्मा १७ करोड १७ लाख ७२ हजार ६ सय ३९ रुपैयाँ रकम तिर्न बाँकी रहेको विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रले जनाएको छ । विराटनगर महानगरपालिकाले भने विद्युत प्राधिकरणले महानगरलाई तिर्नुपर्ने रकम नतिरेका कारण महशुल नतिरेको बताउँदै आएको छ ।

मेयर नागेश कोइराला भन्छन्, ‘महानगरपालिकामा रहेका संरचनाको कर प्राधिकरणले तिरेको छैन । नक्सा पास गरेर बनाउनुपर्ने संरचना समेत नक्सा पास गरेको देखिँदैन । त्यसैले हामीले दिन छ उताबाट पनि लिन छ ।’

विद्युत प्राधिकरणले महानगरलाई तिर्नुपर्ने रकम नतिरेम्म सडक बत्तीको महशुल नबुझाउने मेयर कोइरालाले बताए ।  ‘मिलेर अगाडि बढ्नुपर्छ भन्ने हो’, कोइरालाले भने, ‘लाइन काटेर दुःख दिएछ भने प्राधिकरणले बनाएका अवैधानिक संरचनाका बारेमा गम्भीर तरिकाले सोच्नुपर्ने अवस्था आउँछ ।’

जहदा गाउँपालिकाका अध्यक्ष जितेन्द्रप्रसाद साहले विद्युत् प्राधिकरणलाई तिर्नुपर्ने सबै शुल्क नियमित बुझाइरहेको बताए । संगालो खबरसँगको कुराकानीमा उनले भने, ‘विद्युत् प्राधिकरणबाट २५ प्रतिशत जरिवाना सहितको पत्र आइसकेको छ । तर यो कहिलेदेखि तिर्न बाँकी थियो भन्ने मलाई जानकारी छैन । हामी निर्वाचित भएर आइसकेपछिको अलिकति पनि बुझाउन बाँकी छैन ।’

बिगतदेखि नै महशुल नबुझाएका कारण धेरै रकम बक्यौता रहेको उनले बताए । यो विषयमा कार्यपालिका बैठक मार्फत् के गर्ने भन्ने विषयमा निर्णय गरिने उनको भनाई छ ।

विद्युत प्राधिकरणले पोल वापतको भाडा गाउँपालिकालाई नबुझाएका कारण गाउँपालिकाले पनि सडक बत्तिको महशुल नबुझाएको कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले बताए ।

उनले भने, ‘सडक बत्ती जोडेको छोटो समयमै प्राधिकरणले कुन आधारमा यति धेरै रकम तिर्न बाँकी रहेको देखायो ? कटहरीमा १, २ र ३ नम्बरमा मात्रै सडक बत्ती जडान गरिएको छ । त्यो पनि वडा नम्बर ३ मा भर्खरै बिस्तार भएको हो ।’

गाउँपालिकाले प्राधिकरणलाई तिर्नुपर्ने रकम नियमित बुझाइरहेको उनले संगालो खबरलाई बताए । अध्यक्ष चौधरी भन्छन्, ‘आधिकारीक मिटरमा उठेको रकम हामीले बुझाएकै छौँ । अहिले प्राधिकरणले देखाएको तिर्नुपर्ने रकम केका आधारमा देखाएको हो हामीलाई थाहा छैन ।’

‘प्राधिकरणले पत्र पठाएर रकम बुझाउन भनेको छ, उनी थप्छन्, ‘हामीले पनि कार्यपालिकाको निर्णयबाट पत्र पठाएका छौँ ।’

विराटनगर वितरण केन्द्रले पत्रिकामा सूचना निकालेरै सडक बत्ती बापतको रकम बुझाउन आग्रह गर्यो । तर स्थानीय तहले बेवास्ता गरेपछि पत्र समेत पठाएर चाँडो रकम तिर्न ध्यानाकर्षण गराएको विराटनगर वितरण केन्द्रका प्रमुख सरोज कुमारले बताए । उनले भने, ‘हामीले चाँडै बक्यौता रकम बुझाउन आग्रह गरिरहेका छौँ ।’

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!