संगालोखबर सम्वाददाता

सिरहा । सिरहामा हत्या गरी गाउँकै इनारमा फालिएको अवस्थामा एक जनाको शव फेला परेको छ । गोलबजार नगरपालिका–२ टुड्कियाका करिब ५० वर्षीय बिष्णुदेव साहको शव आज बिहान इनारभित्र फेला परेको हो ।

Advertisement

मंगलबार अपरान्ह श्रीमतीको औषधि लिन घरबाट निस्केका साहको शव गाउँकै इनारभित्र फेला परेको स्थानीय विजय यादवले बताए । औषधि लिएर तुरुन्तै फर्किहाल्छु भन्दै साइकलमा गएका उनी राति अबेरसम्म पनि नफर्किएपछि खोजतलास गरिएको थियो । खोज तलासकै क्रममा आज बिहान गाउँ नजिकैको इनारभित्र साइकलसहित उनको शव फेला परेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक राजु केसीले बताए ।

मृतक साहको टाउकोमा गहिरो चोट लागेका कारण हत्याको आशंका गरिएको प्रहरी निरीक्षक केसीले बताए । यद्यपि, पूर्ण जानकारी अनुसन्धानपछि मात्रै आउने उनको भनाइ छ । शवलाई इनारबाहिर निकाली पोष्टमार्ट्मका लगि धरानस्थितको वीपी कोइराला विज्ञान प्रतिष्ठान पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सुभाष बुढाथोकीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भरहेको उनले जनाए ।

मृतककी श्रीमती शिवोदेवी साहले रिसीईबीका कारण हत्या गरेको दाबी गरेकी छिन् । उनले गाउँकै केही व्यक्तिले बाटो बनाउने विवादमा मारिदिने धम्की दिएको बताइन् । साह एक महिना अघि मात्रै वैदेशिक रोजगरीबाट घर आएका थिए । गाउँको बाटो आरसीसी ढलान गर्ने विषयमा स्थानीयहरूसँग उनको विवाद भएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!