सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । सशस्त्र प्रहरीको एपीएफ टिमले धनकुटामा जारी शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । एपीएफले फोरस्टार युवा क्लब मोरङलाई १–० गोल अन्तरले पराजित गर्दै विजयी यात्रा सुरू गरेको हो । हिजो भएको उद्घाटन खेलको दोस्रो मिनटमै एपीएफका सुमन श्रेष्ठले गोल गरेका थिए । त्यही गोल निर्णायक बन्न पुग्यो ।

Advertisement

हिजो वर्षाका कारण मध्यान्तरसम्म मात्र खेल हुन पाएको थियो । त्यसपछि खेल हुन नसक्ने अवस्थालाई ध्यान दिंदै आयोजकले आज बिहान बाँकी समयको खेल खेलाएको हो । आज भएको खेलमा दुवै टिमका तर्फबाट गोल हुन सकेन । आजको खेलमा ‘फल’ गरेका मोरङका खेलाडी उमेश कार्कीले पहेँलो कार्ड पाएका थिए ।

उद्घाटन खेलमा एपीएफका सुमन श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भए । उनले ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

बैशाख २९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न आठवटा टिमको सहभागिता छ । प्रतियोगितामा त्रिभुवन आर्मी क्लब काठमाडौं, एपीएफ फुटबल क्लब काठमाडौं, फोरस्टार युवा क्लब मोरङ र राष्ट्रिय जागृति क्लब इटहरी, बुटवल लुम्बिनी फुटबल क्लब, बिर्तामोड युनाइटेड झापा, सहलेश युवा क्लब सिरहा र आयोजक टिम सहभागी रहेको आयोजक समिति संयोजक शम्भु प्रधानले जानकारी दिए ।

प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार नगद पुरस्कार पाउने आयोजक शहीद भीमनारायण स्मृति प्रतिष्ठानले जनाएको छ ।

शहीद भीमनारायण श्रेष्ठको स्मृतिमा २०५५ सालबाट सुरु भएको प्रतियोगिताको यो १६ औं संस्करण हो । हरेक वर्ष सञ्चालन हुँदै आएको प्रतियोगिता कोरोना महामारीका कारण यसअघि केही वर्ष सञ्चालन हुन सकेको थिएन ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!