सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । झापाको बिर्तामोड युनाइटेड फुटबल क्लब धनकुटामा जारी शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा बिर्तामोड युनाइटेडले त्रिभुवन आर्मी क्लबलाई शून्यका विरुद्ध एक गोलले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।

Advertisement

खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । गोल गर्ने केही अवसरहरु पाए पनि दुवै टिमबाट गोल हुन सकेन । खेलको दोस्रो हाफको ३१ औँ मिनटमा बिर्तामोड युनाइटेडका जर्सी नम्बर ७ का निरज कार्कीले आफ्ना टिमका लागि गोल गरेका थिए । उनको त्यही गोल आजको खेलको निर्णायक बन्यो । खेलको म्यान अफ द म्याच बिर्तामोड युनाइटेडका जर्सी नम्बर २ का खेलाडी एङ्गल गुरुङ घोषित भए ।

यसअघि भएको उद्घाटन खेलमा एपीएफ विजयी बनेको थियो । उसले फोरस्टार युवा क्लब मोरङलाई १–० गोलले हराएको थियो । प्रतियोगितअन्तर्गत भोलि मंगलबार हुने खेलमा राष्ट्रिय जागृति क्लब सुनसरी र बुटवल लुम्बिनी फुटबल क्लबले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।

बैशाख २९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न आठवटा टिमको सहभागिता छ । प्रतियोगितामा त्रिभुवन आर्मी क्लब काठमाडौं, एपीएफ फुटबल क्लब काठमाडौं, फोरस्टार युवा क्लब मोरङ र राष्ट्रिय जागृति क्लब इटहरी, बुटवल लुम्बिनी फुटबल क्लब, बिर्तामोड युनाइटेड झापा, सहलेश युवा क्लब सिरहा र आयोजक टिम सहभागी रहेको आयोजक समिति संयोजक शम्भु प्रधानले जानकारी दिए ।

प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार नगद पुरस्कार पाउने आयोजक शहीद भीमनारायण स्मृति प्रतिष्ठानले जनाएको छ ।

शहीद भीमनारायण श्रेष्ठको स्मृतिमा २०५५ सालबाट सुरु भएको प्रतियोगिताको यो १६ औं संस्करण हो । हरेक वर्ष सञ्चालन हुँदै आएको प्रतियोगिता कोरोना महामारीका कारण यसअघि केही वर्ष सञ्चालन हुन सकेको थिएन ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!