संगालोखबर


विराटनगर । मोरङमा आगामी एक वर्षभित्र विद्युतीय गाडी उत्पादन गरिने भएको छ । यसका लागि चीनको स्यामन गोल्डेन ड्रागन अटोबडी कम्पनीसँग सम्झौता भइसकेको छ ।

उक्त सम्झौता गरेको कोशी एन के मोटर्स प्रालिले एक वर्षभित्रै उत्पादन शुरु गर्ने जनाएको हो । कम्पनीका अध्यक्ष टिकाराम पुरीले एक वर्षभित्रै उत्पादन सुरु गर्नेगरि ‘फाष्ट ट्रयाक’ बाट काम गरिने बताए ।

Advertisement

सुरुमा विद्यालय तथा कलेज प्रयोजनका सवारी साधन उत्पादन हुने र क्रमशः सबै किसिमका सवारी साधन उत्पादन गरिने जानकारी दिँदै उनले कम्पनी स्थापनाको लागि काम तिब्रतर गतिमा अघि बढाइने उल्लेख गरे ।

यस्तै, सम्झौता भएपछि केही सञ्चारमाध्यममा आएजस्तो कम्पनीका लागि चिनियाँ कम्पनीले लगानी गर्ने कुरा गलत रहेको बताए । ‘लगानी कोशी एन के मोटर्सले नै गर्ने हो, चिनियाँ कम्पनीले हामीलाई प्राविधिक सहयोग गर्ने हो । त्यस कम्पनीका पार्टस् तथा आवश्यक कच्चा पदार्थ हामीले खरिद गर्ने तथा दुई वर्षसम्म दक्ष प्राविधिक हामीलाई सहयोग गर्ने सम्झौता भएको हो’ उनले भने ।

नेपालमा उत्पादन हुने सवारी साधन नेपाली ब्राण्डकै हुने जानकारी दिँदै पुरीले यसलाई नेपालको उत्पादन भनेर सबैले गौरव गर्नसक्ने बताए । नेपालमै सबै किसिमका चार पाङ्ग्रे सवारी साधन उत्पादन गर्ने उद्देश्यका साथ १७ वैशाखमा कोशी एन के मोटर्स प्रालि र चीनको स्यामन गोल्डेन ड्रागन अटोबडी कम्पनी लिमिटेडबीच सम्झौता भएको थियो ।

कम्पनीले मोरङको बुढीगंगामा १५ विघा क्षेत्रफलमा पूर्वाधारलगायत निर्माणको तयारी गरेको छ । सुरूवाती चरणमा ३ अर्ब रूपैयाँको लागत रहने कम्पनीले नेपाली परिवेश र आवश्यकताअनुसार प्रत्येक महिना ७५० गाडी उत्पादन गर्ने जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!