संगालोखबर

विराटनगर । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानअन्तर्गत बरगाछी–रानी सडक सौन्दर्यकरण प्रक्रिया सुरु भएको छ । विभिन्न बैंकले प्रतिबद्धता जनाएअनुसारको रकम जम्मा गर्न थालेसँगै परियोजना कार्यान्वयन प्रक्रिया सुरु भएको हो । महानगरले बैंक तथा वित्तीय संस्थाको सहयोगमा सडकको सौन्दर्यकरण प्रक्रिया सुरु गरेको हो ।

Advertisement

सडक सौन्दर्यकरणका लागि आवश्यक पर्ने रकम विराटनगरमा सञ्चालित बैंक तथा वित्तीय संस्थाहरूले उपलब्ध गराउने प्रतिबद्धताअनुसार पहिलो चरणमा चारवटा बैंकले ७ लाख ५० हजार रकम जम्मा गरेका छन् ।

सोमबार महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीलाई बैंकहरूले रकमको चेक हस्तान्तरण गरे । बैंकर्स एसोसिएसन कोशी प्रदेशका अध्यक्ष सन्तोष बुढाथोकी सहितको टोलीले चेक हस्तान्तरण गरेको हो ।

एनएमवी बैंकका प्रदेश प्रमुखसमेत रहेका बुढाथोकी, एनआईसी बैंकका हिरा पौडेल, एनआईएमबीका राजीव गजुरेल, नेपाल बैंकका सूर्यप्रकाश भट्ट, ग्लोबल आइएमई बैंकका सुलभहरि जोशीलगायतले आ–आफ्नो बैंकका तर्फबाट उपलब्ध रकमको चेक हस्तान्तरण गरेका थिए ।

सार्वजनिक–निजी साझेदारी अवधारणाबमोजिम महानगरले दुई महिनाअघि छलफल आयोजना गरेर बैंकर्स एसोसिएसनका प्रदेश अध्यक्ष बुढाथोकीको संयोजकत्वमा आर्थिक संकलन समिति गठन गरेको थियो ।

प्राविधिकसहितको सो समितिले लामो अध्ययन गरी फूल र विरुवाको जात, लागत अनुमानलगायत समेटेर महानगरलाई प्रतिवेदन बुझाएको थियो ।

उक्त प्रतिवेदनका आधारमा सौन्दर्यकरणको प्रक्रिया सुरु भएको महानगरका मेयर कोइरालाले जानकारी दिए । महानगर एक्लैले विराटनगर बनाउन असम्भव भएकाले यहाँ रहेका बैंक तथा वित्तीय संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत बरगाछी–रानी सडक सौन्दर्यकरण गर्न आह्वान गरेअनुसार सहयोग प्राप्त भएको मेयर कोइरालाले बताए ।

५ किलोमिटर लम्बाई रहेको विराटनगर बरगाछी–रानी सडकमा ४६ वटा मेडिएम (डिभाइडर) रहेको सडक सौन्दर्यकरण अभियानको संयोजन गरिरहनुभएका पुनमकुमार दाहालले जानकारी दिए ।

सडक सौन्दर्यकरण गर्न ५५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । अनुमान गरिएको रकम माटो मिलाउने, विभिन्न जातका फूल तथा विरुवा रोप्ने, घेराबार गर्ने, पानी पटाउन ट्यांकर खरिद गर्ने, दुईजना मालीको व्यवस्थापन गर्ने, एक वर्षसम्म अन्य समग्र व्यवस्थापनका लागि खर्च गरिने जनाइएको छ ।

महानगरले गठन गरेको समितिले ‘क’ वर्गका बैंकका लागि २ लाख, ‘ख’ वर्गका लागि १ लाख ५० हजार, ‘ग’ वर्गका लागि १ लाख र ‘घ’ वर्गका बैंक र लघुवित्त संस्थाहरूका लागि ५० हजार रुपैयाँ निर्धारण गरेको थियो ।

कोशी प्रदेशको राजधानी रहेको विराटनगरमा ४२ वटा बैंक तथा वित्तीय संस्थाहरू सञ्चालनमा छन् । विराटनगरको सौन्दर्यकरणमा सबै बैंक सहभागी हुने एसोसिएसनका अध्यक्ष बुढाथोकीले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!