काठमाडौं, २७ असोज । ‘मासु त कान्छी बुहारीले पकाएकै मिठो’ परिवारका सदस्यले जिस्क्याउँछन् ।

Advertisement

त्यसपछि उनी किचेनमा छिर्न हौसिन्छन् ।

हिन्दी चलचित्र ‘बर्फी’मा नायक रणवीर कपुर र प्रियंका चोपडासँगै अर्का कलाकार पनि चर्चामा आएका थिए । उनी नेपाली नागरिक थिए । र, उनी उनै कान्छी बुहारी अर्थात् कलाकार भोलाराज सापकोटा थिए ।

सापकोटाको कला यात्रा त धेरैलाई थाहा भएकै विषय हो, उनको पाककलाको सेक्रेट थाहा नपाउने पनि कमै होलान् । घरमा पाहुना आउँदा किचेनमा उनै ‘कान्छी बुहारी’ले स्वागत गर्छिन् । उनका लागि भान्सा सधैं खुला ।

मीठो पकाउँछन् । यो कुरा बुवालाई पनि थाहा छ । गाउँ (हेटौंडा) जाँदा पनि उनैले पकाउनुपर्छ । त्यसैले त घर-परिवारका सदस्यले उनलाई उपमा दिएका हुन्, ‘कान्छी बुहारी ।’

यी युवा कलाकारलाई पकाउन खुबै जाँगर चल्छ । भान्सामा पत्नी/आमालाई सघाउने कुरा त धेरै पुरुषको मुखबाट आउने शब्दावली हो । तर, नारीवादी बनेर पनि उनले डाडु-पन्यू समातेका होइनन् ।

परिवारको ठहर छ, ‘मीठो खानुपर्ने भएकाले पकाउन उनी आफैं तम्सिएका हुन् ।’

परिवारको ठहर जायज छ । भोलाराजको जिब्रो नै मीठो खान्कीमा पल्किएको छ । पत्नीले मीठो मसिनो खुवाउँदिनन् भन्ने होइन । तर, उनलाई आफ्नै हातले बनाएको खानाको तलतल लागिरहन्छ ।

भोलाराजसँग हामीले खानपानकै कुरा गर्‍यौं । मासुको तिख्खर सुपसँग ढिँडोको रेसेपी पस्किँदा होस् वा चिकेन अचारको चर्चा चल्दा नै किन नहोस्, उनको स्वादे जिब्रो चलमलाइरह्यो । मुखमा पानी रसायो ।

‘खाना तयार गर्दा स्वादलाई ध्यान दिनुहुन्छ कि स्वास्थ्यलाई ?’ प्रश्न सुनेर उनी फिस्स हाँसे ।

‘स्वास्थ्यलाई ख्याल गर्ने भए यस्तो हुन्थ्यो ?’ पुट्ट परेको भुँडीतर्फ औंल्याउँदै उनले प्रतिप्रश्न गरे ।

ननभेज विथ बोन

भोलाराज शुद्ध ननभेज हुन् । उनलाई दही-दूध रुच्दैन । फलफूल त झन् रुच्दै, रुच्दैन ।

तर, मासु ? जति पनि पचाइदिन्छन् । हाजमोला खानै पर्दैन । भान्सामा प्रायः मासु पाक्छ । र, भान्से भोलाराज नै हुन्छन् ।

मासुबिना भोलाराजको घाँटीबाट गाँस छिर्दैन । छाकैपिच्छे मासु चाहिन्छ, कुखुराको होस् वा सुँगुरको । माछा भए, झन् काइदा । मासुमा खसीचाहिँ उनलाई त्यति रुच्दैन ।

‘मैले पकाएको आफैंलाई खुब मीठो लाग्छ,’ उनले लामो जुँगा मुसारे ।भोलाराजलाई दही-दूध रुच्दैन । फलफूल त झन् रुच्दै, रुच्दैन । तर, मासु जति पनि पचाइदिन्छन् । मासुबिना भोलाराजको घाँटीबाट गाँस छिर्दैन ।

उनलाई मासु पनि हाडसहितको चाहिन्छ । बोनलेस होइन, विथ बोन ।

‘मलाई हड्डी नभएको मासुको स्वाद लाग्दैन । सायद कुकुर वर्गको भएर हो कि ?’ उनी फिस्स हाँसे ।

मासु पकाउने उनको आफ्नै विधि छ । कुन मासु कसरी पकाउने, कतिबेर पकाउने, कुन मसला हाल्ने ? उनलाई सिकाउनै पर्दैन । सिलाम वा तिलको छोपसँग गोलभेंडाको तिख्खर अचार होस् वा घीउमा झानेको दाल नै किन नहोस्, उनी स्पेसल बनाइदिन्छन् ।

भातसँग उनलाई दाल हुनुपर्छ । २/३ थरिको दाल भान्सामा टुट्दैन । उनलाई मनपर्नेचाहिँ चनाको दाल हो ।

भोलाराजको भान्सा

चिकेन फ्राई

भोलाराज चिकेन खुब मीठो पकाउँछन् । यो कुरा उनको सर्कलमा प्रख्यात छ । कुराकानी हुँदै गर्दा उनले चिकन प|mाइको रेसिपी बताइहाले-

उनको शैलीअनुसार मासु पकाउन धेरै मरमसला चाहिँदैन । भान्सामै भएको लसुनको पेस्ट, प्याज, बेसार, नुन, तेल, जिरा र धनियाँको धुलो, तेल भए पुग्छ । यसमा भोलाराज आफूलाई मनपर्ने क्याप्सिकम पनि मिसाउँछन् । अब हड्डीसहितको कुखुराको मासु भए पुग्छ ।

तेल तताएर मासु हाल्ने । आगो एकदमै कम हुनुपर्छ । धिमा आगोमा विस्तारै मासु पाक्छ । विस्तारै पानी सुक्छ । काठमाडौंको ब्रोइलरमा अलि बढी पानी हुने भएकाले सुक्न समय लाग्छ ।

राम्ररी पानी निथ्रि एपछि बल्ल प्याज हाल्ने । प्याज रातो भएपछि त्यसमा बेसार, लसुनको पेस्ट राख्ने, त्यसपछि धनियाँ र जिराको धुलो । अब नुन हाल्ने । अनि, राम्ररी चलाएर छोपिदिने ।

मासु पाकेपछि त्यसमा क्याप्सिकम हाल्ने । त्यसलाई पनि पाक्न केहीबेर लाग्छ । मासु पाकेपछि त्यसमाथिबाट हरियो ताजा धनियाँ राख्न सकिन्छ ।

चिकेन अचार

दशैंको छेकमा भोलाराज कतै पाहुना गएका थिए । त्यहाँ उनलाई चिकेन अचार खान दिइयो । कहिल्यै नखाएको अचारले उनको जिब्रो लोभ्यायो । हत्तपत्त उनले चिकेन अचार बनाउने विधिबारे सोधीखोजी गरे । राति घर र्फकंदा उनको साथमा चिकेन पनि थियो । उनले घरमै अचार बनाइदिए, जस्ताको तस्तै ।

उनका अनुसार चिकेन अचार बनाउँदा हड्डीचाहिँ हुनुहुँदैन । मासुलाई कुकरमा १/२ सिटी लगाउने । उसिनेको चिकेनलाई केहीबेर सेलाउन दिने ।

अर्को प्यानमा तेल तताउने । तेलचाहिँ तोरीकै हुनुपर्छ । त्यसमा मेथी र खुर्सानी हाल्ने । मेथी, खुर्सानीसँगै मासुमा थोरै काँचो तेल, जिरा, धनियाँको धुलो, नुन हालेर मोल्ने । त्यसमाथि तिलको छोप हाल्ने । छ भने त चुक हाल्नुपर्छ । नभए कागतीले पनि काम चल्छ । थोरै लप्सी हालेर मजाले मुछ्ने । स्वादिलो चिकेन अचार तयार भयो ।

दाल फ्राई

भोलाराजलाई चनाको दाल असाध्यै मनपर्छ । उनको विधिबमोजिम बनाउन पनि गाह्रो छैन । दाललाई धिमा आगोमा उसिन्ने । दाल पाकेपछि प|mाइ प्यानमा घीउ तताउने । त्यसमा जिरा र रातो खुर्सानी पड्काउने । अब मसिनो काटेको प्याज र लसुन हालेर केही समय चलाएपछि बेसार, नुन हाल्ने । गोलभेंडा हालेर गल्न दिने । त्यसले दाल झान्ने । जिम्बु हालेमा स्वाद थप तिख्खर हुन्छ ।

सुँगुरको मासु

सुँगुरको मासु पनि फ्राइ नै पकाउने हो । तर, पकाउनुअघि मजाले उसिन्नुपर्छ, बेसार हालेर । सुँगुरको मासुमा टेपवर्म, अर्थात् जुका हुने सम्भावना भएकाले राम्ररी उमाल्नुपर्छ । यसरी उमाल्दा कागतीको रस चुहाउनुपर्छ । बोसो काटिन्छ ।

अब त्यसलाई सेलाउन दिने । एउटा कराहीमा तेल तताउने, त्यसमा मासु हालेर प|mाइ गर्ने । रातो भएपछि टुक्रा गरेको प्याज राख्ने । बेसार, नुनपछि लसुनको पेस्ट हालेर चलाउने । त्यसमाथि जिरा र धनियाँको धुलो हाल्ने । गोलभेंडा, क्याप्सिकम हालेर गल्न दिने । विस्तारै धिमा आगोमा राम्ररी पकाएपछि सुँगुरको मासु तयार हुन्छ ।

माछा ग्रेभी

भोलाराजलाई असाध्यै मनपर्नेचाहिँ माछा हो । उनको अनुभवमा माछा पकाउन खासै गाह्रो हुँदैन ।

स्लाइस माछालाई तेलमा तार्ने । तेल शुद्ध तोरीको हुनुपर्छ । माछा तारेपछि अर्को कराहीमा तोरीको तेल तताउने । त्यसमा थोरै मेथी हाल्ने । मसिनो टुक्रा गरेको लसुन र प्याज एकैसाथ हालेर चलाउने । अनि, नुन, बेसार हाल्ने ।

एकछिनपछि गोलभेंडा र क्याप्सिकम राख्ने । यसमा थोरै सस्र्युंका दाना पिँधेर हाल्ने । अब पानी हालेर भकभक उम्लिन दिने । उम्लिन थालेपछि फेरि थोरै सस्र्युं राख्ने । त्यसमा तारेर राखेको माछा हालेर केहीछिन छोपिदिने । यसमा हरियो धनियाँले गार्निस गरेर सर्भ गर्न सकिन्छ ।

ढिँडो, गुन्द्रुक र भटमास

भोलाराजलाई मनपर्ने परिकार के हो त ?

‘ढिँडो’ जिब्रो फट्कार्दै उनले भने ।

मकै वा फापर, जे भए पनि ढिँडोचाहिँ हुनुपर्छ । त्यसका लागि थोरै मासु चाहियो । गुन्द्रुक र भटमासको झोल पनि हुनैपर्‍यो । सिलामको छोप हालेर बनाएको गोलभेंडाको अचार । बस्, यति भएपछि के चाहियो ?

‘असाध्यै मनपर्ने परिकार हो मेरो,’ कुरा गर्दागर्दै उनले घुटुक्क थुक निले ।-अनलाइनखबर

 

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!