संगालोखबर सम्बाददाता

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा झापाको अर्जुनधारा नगरपालिका–११ की मालती राईको शरीरबाट दुर्लभ ट्यूमर निकालिएको छ । ३४ बर्षीया राईको दाहिने कानको पछाडिको भागबाट गर्धन हुँदै छातिसम्म फैलिएर पलाएको ‘ब्राकिएल प्लेक्सस् ट्यूमर’ अप्रेशन गरेर सफलतापूर्वक निकालिएको हो ।

Advertisement

टाउको तथा घाँटी क्यान्सरका शल्यचिकित्सक डा.ऋषिकेश ठाकुर नेतृत्वको चिकित्सकहरुको टोलीले सफलतापूर्वक ट्यूमर निकालेको हो । हाडजोर्नी विभागका डा.रञ्जिव झा, नाक कान घाँटी बिभागका डा.संजिव कुमार ठाकुर, छाती सम्बन्धि शल्यचिकित्सक डा.लोकेश यादव लगायत पनि शल्यक्रियामा सहभागि थिए । यो ट्यूमर विरलै मात्र मानिसहरुमा हुँने भएकाले दुर्लभ मानिने चिकित्सकहरु बताउँछन् ।

यस्तो प्रकृतिको दुर्लभ र ठूलो ट्यूमर नेपालमै पहिलो पटक सफलतापूर्वक निकालिएको शल्यचिकित्सक डा.ठाकुरको दावी छ । ‘यो एकदमै दुर्लभ ट्यूमर हो, एक लाख मानिस मध्ये करिब एक जनामा मात्र यस्तो ट्यूमर पाइन्छ । त्यसमाथि पनि यस्तो प्रकारको ट्यूमर मध्ये यत्ति ठूलो आकारको त अझ विरलै मात्र भेटिन्छ,’ डा.ठाकुर भन्छन्, ‘नेपालमा हालसम्म यस्तो प्रकृतिको दुर्लभ र यत्ति ठूलो ट्यूमर सफलतापूर्वक निकालेको रेकर्ड भेटिएको छैन, हामीले पहिलो पटक सफलतापूर्वक निकालेका हौं ।’

घाँटीको माथिल्लो भागदेखि करङसम्म काटेर झण्डै १७ सेन्टिमिटर लामो ट्यूमर सफलतापूर्वक निकालिएको हो । यस्तो प्रकारको ट्यूमर वेला–वेला फेला परेपनि यत्ति ठूलो आकारको भने पहिलो पटक निकालिएको डा.ठाकुरको भनाई छ । उनका अनुसार घाँटी हुँदै हातसम्म फैलिने नसाहरुसँगै पलाएकाले सो ट्यूमर निकाल्दा नसामा चोट लाग्ने संभावना धेरै हुन्थ्यो । जसका कारण हात नचल्ने जोखिम थियो । तर, सफलतापूर्वक ट्यूमर निकालिएपछि अहिले मालतीको हात सामान्य अवस्थामा छ ।

करिब एक बर्षअघिदेखि उनको घाँटीको पछाडि पट्टीको भागमा मासुको डल्लो पलाएको थियो । छाम्दा निकै कसिलो भेटिने डल्लो बढ्दै गएर छातीसम्म फैलिएको हो । ट्यूमर बढ्दै गएपछि मालतीलाई हात उचाल्न गाह्रो हुँने, घोच्ने र चस्किने समस्याले सतायो । पूर्वका बिभिन्न अस्पतालमा जाँदा अप्रेशन गर्न नमानेपछि अन्ततः नोबेलमा ल्याएर अप्रेशन गराइएको मालतीका श्रीमान राजकुमारले बताए । ‘सबैतिर लैजादा यो जटिल केश हो भनेका थिए । तर, अन्ततः अप्रेशन राम्रो भयो,’ खुशी हुँदै राजकुमारले भने । अप्रेशन सफल भएर समस्या टरेपछि विरामी र विरामीका आफन्त हर्षित छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!