काठमाडौं, ९ कार्तिक । फिल्मी करियरमा झण्डै दुई दर्जन फिल्ममा अभिनय गरिसकेका अभिनेता सौगात मल्ल पछिल्लो समयका फिल्ममा मधेसी चरित्रमा देखिँदै आएका छन् । फिल्म ‘कागबेनी’बाट फिल्मी करियर शुरु गरे पनि उनी ‘लुट’बाट बढी चिनिए।

Advertisement

फिल्म ‘षड्ङग’, ‘लुकामारी’ र ‘संरक्षण’मा मधेसी चरित्रमा दर्शकमाझ आएका सौगात आगामी कार्तिक १७ गतेबाट रिलिज हुने फिल्म ‘फाटेको जुत्ता’मा पनि मधेसी पात्रमा नै देखिँदैछन् ।

‘सुरुमा मधेसी चरित्रमा देखिँदा दर्शकले कस्तो मान्लान् भन्ने लागेको थियो । तर, मेरो भूमिका स्वीकारिएपछि मलाई सजिलो भयो,’सौगातले भने,‘मधेसी चरित्रमा रुचाइएपछि फिल्म निर्माता र निर्देशकहरुले त्यस्तै चरित्रमा मलाई फिल्म खेल्न प्रस्ताव गर्दै कथा ल्याए । मधेसी चरित्रमा देखिनु एउटा संयोग जस्तै बनेको छ ।’ वीरगन्जमा छायांकन गरिएको फिल्म ‘फाटेको जुत्ता’मा सौगातले स्थानीय लवजकै प्रयोग गरेका छन्।

नवलपरासीको परासीमा जन्मिएका सौगातले आफ्नो घरबाट आधा घण्टा परको गाउँका साथीसंगतको माध्यमले अवधि भाषा सिके । उनकी हजुरआमा पनि स्थानीय लवज राम्रै बोल्थिइन् ।

‘पारिवारिक माहौलले पनि मलाई भाषा र लवजमा सजिलो बनाइदियो,’उनले प्रष्ट्याए,‘फाटेको जुत्तामा मैले बोलेको मधेसी लवज आम दर्शकका लागि नयाँ स्वाद बन्नेछ।’

सौगातले फिल्ममा आफ्नो भूमिका बाबुले गरेको जस्तै काम छोराले पनि गर्ने रहेको खुलाए । ‘म नाकाम चरित्रमा छु । अर्थात, बेरोजगार युवकको गाउँले युवकको भूमिकामा छु,’सौगात खुले,‘अघिल्ला मधेसी चरित्रभन्दा यसपटकको मधेसी चरित्र केही फरक किसिमको छ । फिल्मको ट्रेलरबाट पनि सायदै त दर्शकले केही कुरा थाहा पाइसक्नु भएको होला ।’

दुई दर्जन बढी फिल्ममा अभिनय गरे पनि सौगातका फिल्मले कमै मात्र व्यावसायिक सफलता पाएका छन् । सौगात आफ्नो कारणले भन्दा पनि राम्रो टिम वर्क नभएर फिल्म नचलेको दाबी गर्छन् । ‘मैले हरेक फिल्ममा मेहनत गरेकै छु ।

सबैबाट राम्रो प्रशंसा पनि पाउँछु तर पनि फिल्म चल्दैन,’गम्भीर हुँदै सौगातले भने, ‘ राम्रो टिम वर्क नभएर हो कि वा स्क्रिप्ट अनुसार कलाकार नछानिएर हो, फिल्म क्षेत्रमै केही गर्छु भनेर लागिरहेको छु । तर, पनि फिल्मले सफलता पाउन सकेको छैन।’

तर, सौगात ‘फाटेको जुत्ता’बाट  निकै आशावादी पनि छन् । फरक चरित्र र फिल्ममा प्रयोग गरिएका संवादले पनि फिल्म मनपराउनेमा उनी ढुक्क छन् । सौगातले मौलिकता र तराईको परिवेशसँगै नयाँ लोकेशनले पनि दर्शकलाई बाँध्ने बताए ।

फिल्ममा निकेश खड्काको निर्देशन छ । दुईवटा मात्र म्युजिक भिडियोमा अभिनय गरिसकेका सौगातले तीमध्येको एक भिडियोमा निकेशकै निर्देशन थियो । सुरज थापाको गीत ‘बहुला’को भिडियोमा सौगात र अभिनेत्री प्रियंका कार्कीले मोडलिङ गरेका थिए । फिल्म ‘फाटेको जुत्ता’मा पनि सौगात र प्रियंका नै प्रमुख भूमिकामा छन् ।

डेब्यु निर्देशित फिल्म ‘जिन्दगी रक्स’असफल बनेपछि निर्देशक निकेशको ‘फाटेको जुत्ता’ दोस्रो फिल्म हो । ‘पहिलो फिल्ममा भिडियो टिमसँग काम गरियो । क्यानभास पनि सानो थियो ।

तर, अहिले ठूलो क्यानभासमा काम गर्दा चाहिँ निकै रमाइलो भयो,’निकेशले भने,‘नाम चलेका कलाकारसँग काम गर्दा उहाँहरुबाट पनि सल्लाह र सुझाव आउँथ्यो । त्यसले गर्दा पनि काम गर्न सजिलो भयो ।’

निर्देशक निकेशले फिल्ममा डार्क कमेडी फ्लेबर भएकाले मनोरञ्जनका लागि फिल्म हेर्न आवश्यक रहेको दाबी गरे । ‘फिल्ममा सन्देश केही छैन तर विशुद्ध मनोरञ्जन चाहिँ छ,’उनले भने,‘वीरगन्ज वरपर छायांकन गरिएकाले पनि लोकेशन दर्शकका लागि भर्जिन हुनसक्छ ।’

यो फिल्मको निर्माण अर्जुन कुमारले गरेका हुन् । अर्जुन कुमारले यसअघि ‘चपली हाइट’, ‘फिटकिरी’ र ‘चपली हाइट २’ निर्माण गरिसकेका छन् ।

‘मेरो फिल्मको नाम अरु भन्दा अलिक फरक हुन्छ । आम दर्शकले नोटिस गर्ने खालको नाम रोज्ने गर्दछु,’अर्जुनले भने,‘फाटेको जुत्ता पनि त्यसकै निरन्तरता हो । फिल्मको नाम जस्तै कथा पनि दर्शकले नोटिफाइ गर्नुहुनेछ ।’

फिल्ममा प्रियंका कार्की, कामेश्वर चौरासिया, रविन्द्र झा र अनुज पाण्डेलगायतका कलाकारको पनि अभिनय छ भने दयाहाङ राई, वर्षा राउत केमियो भूमिकामा छन् ।-नागरिकन्युज

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!