काठमाडौं, ९ कार्तिक । नेपाली कांग्रेस नेतृत्वमा लोकतान्त्रिक गठबन्धन गठनको तयारीमा रहेका दलहरु सिट बाँडफाँटको अन्तिम कसरतमा जुटेका छन् । त्यसका लागि कांग्रेस संसदीय बोर्डको बैठक बालुवाटारस्थित प्रधानमन्त्री निवासमा ११ बजे बोलाइएको छ ।

Advertisement

त्यसअघि राजपा, फोरमलगायत दलका नेताहरुसँग छलफल गर्ने कांग्रेसको योजना छ ।

कांग्रेस नेता बालकृष्ण खाँडका अनुसार, लोकतान्त्रिक गठवन्धननिकट रहेका दलहरुसँग छलफल गर्ने र आजै सिट बाँडफाँट गर्ने गृहकार्य गरिएको छ ।

कांग्रेस नेतृत्वमा रहेको लोकतान्त्रिक गठबन्धनमा राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक), राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम सहभागी छन् ।

सिट बाँडफाँटबारे दुई राप्रपासँग कांग्रेसले छलफल गरेपनि राजपा र संघीय फोरमसँग ठोस छलफल हुन सकेको छैन । फोरम र राजपाले छलफलका लागि बिहीबारको समय मागेकाले यो विषय टुंगिन नसकेको नेताहरुले बताएका छन् ।

सिट बाँडफाँटमा ढिलाइ भएपछि कांग्रेस अलमलमा परेको छ । उसले बिहीबारको बैठकबाट सिट बाँडफाँट टुंगो लगाएर आफ्ना उम्मेदवारहरु छनोट गर्ने सोच बनाएको छ ।

कांग्रेसका एक नेताले दोस्रो चरणमा निर्वाचन हुने क्षेत्रको सिट बाँडफाँटका लागि बिहीबार गठबन्धन संबद्ध दलहरुको बैठक बोलाइएको जानकारी दिए । ती नेताका अनुसार, आजको बैठकले सिट बाँडफाँटको टुंगो लगाएपछि कांग्रेसले पार्टीको उम्मेदवार तय गर्नेछ ।

यद्यपि, लोकतान्त्रिक गठबन्धनमा सिट बाँडफाँट सहजै टुंगिने सम्भावना भने कम छ । संघीय फोरम र राजपाले प्रदेश नं. २ मा धेरै सिट मागेकाले यो पेचिलो बन्ने अनुमान गरिएको छ ।

दोस्रो चरणको उम्मेदवार मनोनयन दर्ताको समय नजिकिएकाले गठबन्धनमा सहभागी दलहरु उम्मेदवार टुंगो लगाउन दबावमा परेका छन् । दोस्रो चरण निर्वाचनको उम्मेदवार मनोनयन दर्ता कात्तिक १६ का लागि तोकिएको छ । दोस्रो चरणको चुनाव ४५ जिल्लामा मंसिर २१ गते हुँदैछ ।

यसअघि ३२ जिल्लामा पहिलो चरणमा हुने निर्वाचनको मनोनयन दर्ता भइसकेको छ ।-अनलाइनखबर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!