तेह्रथुम, ३१ भदौ । तेह्रथुमको म्याङलुङ नगरपालिकास्थित जिरिखिम्तीबजार नजिकै कृषि हाटबजारका लागि लाखौँ रुपैयाँ खर्चेर निर्माण गरिएका भवन प्रयोगविहीन छन्।

पाँच वर्षअघि यहाँको कृषिउपजलाई बजारीकरण गर्न बनाइएका भवन र ट्रष्ट अहिलेसम्म प्रयोगमा आएका छैनन्। निर्माण गरेर प्रयोग मै नआई भवन जीर्ण बन्न लाग्दासम्म पनि यिनको प्रयोग र व्यवस्थापनमा सम्बन्धित निकायले ध्यान दिएका छैनन्।

Advertisement

नेपाल सरकार र एसियाली विकास बैंकको अनुदान सहयोगमा सञ्चालित व्यावसायिक कृषि विकास आयोजनाअन्तर्गत कमर्सियल एग्रिकल्चर एलायन्स, तत्कालीन जिल्ला विकास समिति र उपभोक्ताको गरी रु ७२ लाख ३८ हजारको लागतमा निर्माण गरिएका भवन प्रयोगमा नआई भत्किने अवस्थामा पुगेका छन्।

स्थानीय किसानले उत्पादन गरेका वस्तुको बजारीकरण गर्ने प्रमुख उद्देश्यले भवन निर्माण गरिए पनि उपभोक्तालाई पायक नपर्दा भवन प्रयोगमा आउन नसकेको स्थानीयवासी बताउँछन्। बजारभन्दा करिब आधा किलोमिटर टाढा बनाइएका ती भवनमा उपभोक्ताले किनबेचका लागि आउन जानै असजिलो भएको बताए।

जिरिखिम्तीबजार यहाँ नजिकमा पर्ने मोराहाङ र हाल म्याङलुङ नगरपालिकामा पर्ने साविकका जिरिखिम्ती, पिप्ले, साब्ला र आम्बुङ गाविसका किसानको प्रमुख कृषि बजार हो।

तर कृषिउपजको बजार, खपतको अध्ययन र भौगोलिक स्थानको अध्ययन नै नगरी भवन निर्माणमा ठूलो धनराशि खर्च गरिँदा लाखौँ रुपैयाँ बालुवामा पानी खन्याएझैँ भएको छ ।

पाँचवटा सटर भएको पक्की भवन, दुई वटा ट्रष्ट, तरकारी धोएर सफा गर्ने पानी ट्यांकी र फोहर संकलन गर्ने भवन प्रयोग र सरसफाइ अभावमा प्रयोगमै नआई पुरानाजस्ता देखिन्छन्।

स्थानीय कृषि उत्पादनलाई संकलन गरी बिक्री वितरण गर्ने र स्थानीयस्तरमा खपत हुन नसकेका उत्पादनलाई जिल्ला बाहिर निर्यात गरी किसानको आयमा वृद्धि गराउने उद्देश्यले भवन निर्माण गरिएको निर्माण समितिले जनायो।

तर प्रयोगमा ल्याउन उपभोक्ताले अटेर गरिदिँदा प्रयोगमा ल्याउन नसकिएको निर्माण समितिका उपाध्यक्ष नारायण आचार्यले बताए। रासस

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!