सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–१ का कमलानन्द मेहता कुनै समय सरकारी नोकरी गर्थे । २०४६ सालमा नेपाल प्रहरीमा प्रवेश गरेका मेहतालाई दशकपछि भने जागिर छाडौँछाडौँ लाग्यो ।
प्रहरी हबल्दार भइसकेका उनले २०५९ सालमा जागिर छाड्ने निधो गरे । जागिर छाडेर के गर्ने भन्ने योजना पहिले नै बनाइसकेका थिए । त्यसकारण जागिर छाडेपछि के गर्ने भन्ने अन्योल भएन । उनले जागिर छाडेर पुर्खौली पेशा कृषिलाई निरन्तरता दिन थाले । २०५९ सालदेखि २०८१ सालसम्म आइपुग्दा कृषि कर्मलाई निरन्तरता दिइरहँदा उनी त्यति धेरै सन्तुष्ट भने देखिदैनन् ।
कारण हो– राज्यले कृषकका लागि प्रभावकारी भूमिका निर्वाह गरेन । ‘समयमा खादमल नपाउने समस्या त छँदैछ’, मेहता भन्छन्, ‘चाहिएका बेला सिँचाई गर्न पनि मुस्किल हुन्छ । उन्नत बीउ पाउन सकिँदैन । उत्पादनले समेत उचित बजार पाउन कठिन छ ।’
उनले खेतबारीमा बाह्रैमास विभिन्न किसिमका तरकारी लगाइरहेका हुन्छन् । ‘कहिले राम्रै मूल्य पाइन्छ, नाफा नै हुन्छ । कहिले लगानी उठाउन समेत सकस पर्छ’, उनी भन्छन्, ‘स्थानीय सरकारले समेत स्थानीय उत्पादनको बजारीकरणमा कुनै भूमिका खेलेको पाइँदैन ।’ स्थानीय सरकारले यस विषयमा सोचिदिए धेरै समस्याबाट मुक्त हुन सकिने उनको भनाई छ ।
सोही स्थानका देवनारायण मेहता पनि कृषि कर्ममै छन् । अहिले उनले खेतबारीमा डेढ लाख लगानीमा बोडी, करेला, लौकालगायतका तरकारी साथै मकै पनि लगाएका छन् । काँक्राको बीउ राम्रो नपाउँदा लगानी त्यसै खेर गएको उनी सुनाउँछन् ।
उनी भन्छन्, ‘बीउ राम्रो नहुँदा बोट नै बढेन । करिब ५० हजार घाटा लाग्यो । यही ठाउँमा फेरि उति नै खर्चमा काँक्रा लगाएको छु । यो पनि फल्छ फल्दैन भन्ने टुङ्गो छैन ।’ स्थानीय सरकारले कृषकका लागि अहिलेसम्म खासै काम नगरेको उनले गुनासो गरे । समयमा खालमद, उन्नत जातको बीउ, सिँचाईको उचित व्यवस्था, बजारीकरण लगायतको व्यवस्थापन गर्न स्थानीय सरकार लागिपरे कृषकका समस्या धेरै हदसम्म समाधान हुने उनको ठम्याइ छ ।
अनुदानमा आएका कृषि सामग्री पनि आफुहरूले पाउन सकस पर्ने उनले सुनाए । उनले भने, ‘स्थानीय सरकारले हामी जस्ता वास्तविक कृषको पीडा पनि बुझ्न आवश्यक छ ।’
भोक्राहाकै अकलदेव मेहता पनि लामो समयदेखि कृषि कर्ममा रमाइरहेका छन् । कृषकले समय–समयमा विभिन्न समस्या भोग्न बाध्य हुनुपर्ने उनले बताए । उनी भन्छन्, ‘सबैको समस्या उस्तै छ । उत्पादनले राम्रो मूल्य नपाउँदा विभिन्न समयमा धेरै घाटा पनि बेहोर्नु पर्छ । यो समस्या समाधानका लागि सम्बन्धित निकायले विशेष भूमिका खेल्नुपर्छ । जंगली जनावरले पनि धेरै दुःख दिने गरेको उनी सुनाउँछन् ।
सोही स्थानका रामचन्द्र मेहताको मुख्य पेशा पनि कृषि नै हो । कृषिकर्मबाटै उनको घरपरिवार चलेको छ । उनी भन्छन्, ‘मुख्य कुरा त हामीले उत्पादन गरेको तरकारीले बजार पाउँछ पाउँदैन भन्ने हो । बजार पाएको खण्डमा राम्रै हुन्छ । बजार नपाउँदा नोक्सान पनि ब्यहोर्नु पर्छ ।’
यहाँको उत्पादनले बजार पाउन भारतीय बजारबाट आउने तरकारी रोकिनु पर्ने उनको भनाई छ । यसको लागि स्थानीय सरकारले विशेष भूमिका खेल्नुपर्ने उनी बताउँछन् । भन्छन्, ‘बेमौसमी तरकारी खेतीका लागि थप समस्या छ । मुख्य त नहरका पानी नआउने हुनाले दुःखका साथ सिँचाइ गर्न बाध्य हुनुपरेको छ ।’
सिँचाइका लागि पनि सम्बन्धित पक्षले केही व्यवस्था गरिदिए राम्रो हुने उनको भनाई छ । यहाँ उत्पादन भएको तरकारी विशेषगरी इनरुवा बजारमा बिक्री गरिन्छ । त्यो बाहेक यहाँको तरकारी विराटनगर, काठमाडौँ, धरान, इटहरी, राजविराजलगायतका स्थानमा पुग्ने गरेको छ ।