चितवन । चितवन राष्ट्रिय निकुञ्जले जिल्लाको माडीमा विद्युतीकरणका लागि निकुञ्जमा बिछ्याइएको भूमिगत विद्युत प्रणाली असफल हुनको कारण माग गरेको छ ।

Advertisement

भूमिगत विद्युत प्रणाली नै असफल भएको भन्दै विकल्पका बारेमा प्राधिकरणले छलफल अघि बढाइरहेका बेला निकुञ्जले यसबारेमा चासो राखेको हो ।

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग निकुञ्जमा नै भएको छलफलमा निकुञ्जका अधिकारीहरुले निकुञ्जमा बिछ्याइएको प्रणाली असफल हुनुको कारण माग गरेका थिए । घिसिङसँगको छलफलका क्रममा उनीहरुले यस्तो माग गरेका हुन् ।

‘विकल्पबारे छलफल हुनुअघि भूमिगत विद्युत प्रणाली असफल बन्नुको प्रस्ट कारण निकुञ्जलाई दिनुपर्ने माग प्राधिकरणसँग गर्यौं’, निकुञ्जका सूचना अधिकृत नरेन्द्र अर्यालले अनलाइनखबरसँग भने, ‘काठमाडौं, सोलुखुम्बुलगायतमा सफल भएको भूमिगत तारप्रणालीमा माडीका लागि मात्रै किन असफल भयो ?’

निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले निकुञ्जले अहिले भूमिगत तार प्रणालीबाहेकको विकल्प दिन नसक्ने बताए । ‘निकुञ्जको प्राथमिकता वन्यजन्तुको संरक्षण र जनताको सुविधालाई सँगसँगै मिलाएर लैजान सकिन्छ भन्ने हो’, कँडेलले भने, ‘यो विषयमा प्राधिकरण नै जानकार होला ।’

सो छलफलमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले निकुञ्जसँग प्राधिकरणका विकल्पहरू सुनाएका थिए ।

समस्या समाधान गर्न मन्त्रालयको पहल

पटकपटक भूमिगत प्रणालीमा समस्या आई माडीमा विद्युत सेवा बन्द भएपछि जलस्रोत मन्त्रालयले पहल अघि बढाएको छ । माडीका मेयर ठाकुर ढकालसहितको टोलीले निकुञ्जभित्र भूमिगतरुपमा बिछ्याएको तार फेर्न मन्त्रालयसँग अनुरोध गरेपछि मन्त्रालय सकारात्मक बनेको छ ।

मन्त्रालयले पुरानो लाइन हटाएर नयाँ डवल लाइन निर्माण गर्ने योजना बनाएको छ । पुरानो लाइनमा सिल्भरको तार प्रयोग भएकोमा अब कपर (तामा)को तार प्रयोग हुने मेयर ढकालले बताए ।

निकुञ्जभित्र आठ किलोमिटर भूमिगत तार बिछ्याएको छ । त्यसको सात ठाउँमा ज्वाइन्टहरू छन् । ती ठाउँहरुमा नै पटकपटक समस्या आउने गरेको पाइएको छ ।

‘मन्त्रालयले विभागलाई र विभागले नेपाल विद्युत् प्राधिकरणलाई पत्र काटेको प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख रामदुलार यादवले जानकारी दिए ।

‘हामी छिट्ट्रै लागत अनुमानसहितको विकल्प सुझाउँछौ’ प्रमुख यादवले भने । झण्डै १२ करोड रूपैयाँ खर्च भएको आयोजनाको काम कम गुणस्तरको भएको माडीवासीले बताउँदै आएका छन् ।

गएको भदौ १४ गतेदेखि २५ गतेसम्म १० दिन, साउन ४ गतेदेखि ३१ गतेसम्म २४ दिन, असार ५ गतेदेखि असार १८ गतेसम्म १४ दिन माडीमा बिजुली थिएन ।

बिजुली बिग्रेपछि बनाउने उपकरण भारतको दिल्लीबाटै मगाउनु पर्छ । कहाँ तार बिग्रेको हो पत्ता लगाउन उपकरण बिना असम्भव छ । दिल्लीबाटै मगाउनु पर्ने ‘फल्ट लोकेटर’ मेशिन नेपाल विद्युत् प्राधिकरण केन्द्रीय कार्यालयले नै किन्ने तयारी पनि गरेको छ । प्राधिकरणले भदौ १६ गते मेसीन खरिदका लागि टेण्डर निकालेको छ ।

असोज २९ गतेभित्र टेण्डरका लागि आवदेन दिन अनुरोध गरेको छ । प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख रामदुलार यादवले सो उपकरण भरतपुर वितरण केन्द्र मातहतमा रहने गरी खरिदका लागि टेण्डर आह्वान भएको जानकारी दिए । ३–४ महिनाभित्र नै मेसिन नेपाल आउनेछ।-अनलाइनखबर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!