रासस

काठमाडौँ, २५ माघ ।  विश्वसम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्रमा रहेको जैसीदेवल पुनःनिर्माण अपारदर्शी रुपमा शुरु गरिएको छ ।
विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त जैसीदेवल पुनःनिर्माण पुरातत्व विभागले शुरु गरेको हो । सार्वजनिक जानकारीका लागि पुनःनिर्माण गर्दा निर्माण स्थलमा राख्नुपर्ने लागत, अवधि, निर्माण व्यवसायी आदिको नाम समावेश हुने जानकारीमूलक सूचना पाटी नराखिएको काठमाडौँ महानगरपालिका–२१ का पूर्ववडाअध्यक्ष जुजुकाजी तण्डुकारले बताउनुभयो ।

Advertisement

“नेपाल संवत् ७०४ मा बनेको देवलको पुरानै इँट्टा प्रयोग गरेर काम शुरु भएको छ, निर्माण स्थलमा सार्वजनिक जानकारीका लागि राख्नुपर्ने सूचना पाटी राखिएको छैन, निर्माणअघि स्थानीयवासीसँग छलफलसमेत गरिएन, निर्माणपछि निर्माण व्यवसायी त अन्तै जान्छन्, निर्माणमा स्थानीयको स्वामित्व हुनुपर्छ”–उहाँले भन्नुभयो ।

विभागले भने पुराना निर्माण सामग्री टिकाउ हुने भएकाले प्रयोग गरिएको जनाएको छ । विभागका प्रवक्ता रामबहादुर कुँवर अनुसन्धानले प्राचीन निर्माण सामग्री टिकाउ हुने प्रमाणित गरेको बताउनुहुन्छ ।


देवल निर्माण हेर्नुहुने विभागका इन्जिनियर पूर्णबहादुर श्रेष्ठ निर्माण व्यवसायीसँग भएको सम्झौताअनुसार जीर्ण नभएका सामग्री प्रयोग गर्न सकिने व्यवस्था गरिएको सुनाउनुहुन्छ । “निर्माण अवधि, निर्माण लागत, निर्माण व्यवसायीको नामलगायत जानकारी दिने सूचना पाटी राख्न पटक पटक भनिए पनि व्यवसायीले राखेका छैनन्”, उहाँले भन्नुभयो ।

निर्माण व्यवसायी प्राकृतिक/सानो सुवाल/एसपी जेभीका तर्फबाट देवल निर्माणमा खटिनुभएका इन्जिनियर प्रवीण श्रेष्ठ भने सूचना पाटी राखेकोमा रक्सी खाएका मानिसले लिएर हिँडेको दाबी गर्नुहुन्छ । निर्माणमा संलग्न दुई इन्जिनियरको भनाइले अपारदर्शी रुपमा निर्माण शुरु भएको प्रस्ट हुन्छ ।

“देवल पुनःनिर्माणमा पुराना र नयाँ दुवैथरी निर्माण सामग्री प्रयोग गर्ने सम्झौता भएको छ, नयाँ ८० र पुराना २० प्रतिशत सामग्री प्रयोग गर्ने सम्झौतामा उल्लेख छ, तलदेखि माथिसम्म नयाँ र पुराना दुवैथरी निर्माण सामग्री मिसाएर काम हुन्छ”, उहाँले भन्नुभयो ।


आउँदो असार मसान्तसम्म देवल पुनःनिर्माण सक्नुपर्ने भएपनि भर्खर जगको काम शुरु भएको छ । २०७३ साल साउन २८ गते देवल पुनःनिर्माणको सम्झौता भएको थियो । सम्झौता भइसकेपछि बेलायतको डुरहाम विश्वविद्यालय र विभाग लगायतको समूहले देवल क्षेत्रमा उत्खनन गरेपछि काममा ढिलाइ भएको निर्माण व्यवसायी पक्षको भनाइ छ ।

विभागले भने ढिला हुनुको चित्तबुझ्दो कारण पेश गरे छ महिनासम्म समय थप्न सकिने जनाएको छ । देवल पुनःनिर्माणको लागत रु पाँच करोड ४६ लाख ६० हजार ७२८ छ ।

देवलको ऐतिहासिकता 


देवल नेपाल संवत् ७०४ मा कान्तिपुर राज्यका बडाहाकिम लक्ष्मीनारायण जोशीले निर्माण गर्नुभएको हो । जोशी देवल हुँदै कालान्तरमा अपभ्रंश भई जैसीदेवल नाम रहन गएको भनाइ छ ।

ककनी, रानीपौवा, जीतपुरफेदी, दगुर्नेपानीदेखिका जैसी बाहुनको निधन हुँदा शव टेकुमा जलाउन ल्याउँदा यहाँ बसेर कपाल काट्ने, सेतो कपडा फेर्ने, सक्खर, दही चिउरा खाने गरेकाले पनि यो देवललाई जैसीदेवल नामाकरण गरिएको भनाइ पनि छ ।

विसं १९८९ मा देवशम्शेरले देवलको जीर्णोद्धार गरेपछि यसलाई देवजागेश्वर महादेव पनि भन्न थालिएको स्थानीयवासी ८६ वर्षीय वृद्ध शंकरमान रञ्जितकारले जानकारी दिनुभयो । त्यसअघि देवलमा स्थापना गरिएका महादेवलाई जागेश्वर महादेव भनिन्थ्यो ।

विसं २०१५ मा अञ्चलाधीश विष्णुमणि आचार्यको नेतृत्वमा स्थानीयवासीले फेरि देवलको जीर्णोद्धार गरे । त्यतिबेला जीर्णोद्धारको काममा संलग्न हुनेलाई अञ्चलाधीश कार्यालयले ज्यालास्वरुप गहुँ दिएको उहाँको स्मरणमा ताजा छ ।

जीर्णोद्धारपछि त्यसै वर्ष तत्कालीन महारानी रत्न राज्यलक्ष्मीले तीन हजार लिटर पानी अट्ने सिमेन्टको पानी ट्यांकी बनाइदिनुभएको थियो । २०४५ सालको भूकम्पले चर्किएको देवल २०६३ सम्म बन्न नसकेपछि स्थानीयवासीको सक्रियतामा विभाग र काठमाडौँ महानगरपालिकाको सक्रियतामा रु २८ लाखको लागतमा जीर्णोद्धार गरियो ।

त्यसबेला बचेको पैसाले नजिकैको कृष्णमन्दिर पनि जीर्णोद्धार गरिएको पूर्ववडा अध्यक्ष तण्डुकारले सुनाउनुभयो । रातो मच्छेन्द्रनाथ राख्ने उद्देश्यले निर्माण गरिएको देवलमा पछि नराखिएको जैसीदेवल युथ क्लबका सदस्य राजेन्द्र मानन्धरले बताउनुभयो ।

भक्तपुरको पाँचतले मन्दिर पनि रातो मच्छेन्द्रनाथ राख्नकै लागि बनाइएकोमा पछि पाटनमा राखिएको स्थानीयवासीको भनाइ छ । रातो मच्छेन्द्रनाथ पाटनमा राखिएपछि यो ठाउँ जोशी एवम् जैसी देवलकै रुपमा प्रसिद्ध भयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!